कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

रुपन्देही र कपिलवस्तुमा किट र क्वारेन्टाइन अभाव

माधव ढुंगाना

काठमाडौँ — लामो समय दशगजामा अलपत्र परेकालाई भित्र्याउन सुरु गरेपछि रूपन्देही र कपिलवस्तुका क्वारेन्टाइनमा रहेकाको स्वाब परीक्षणका लागि पीसीआर किट अभाव भएको छ । यसअघि भारतबाट ल्याइएका सर्वसाधारणलाई सीमावर्ती स्थानीय तहका विद्यालयमा राखिएको थियो । थप भित्र्याएर राख्न दुवै जिल्लामा क्वारेन्टाइनको अभाव भएको छ । प्रदेश सरकारले एक स्थानीय तहलाई एक हजार जना अट्ने क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ । 

लामो समय दशगजामा अलपत्र परेकालाई भित्र्याउन सुरु गरेपछि रूपन्देही र कपिलवस्तुका क्वारेन्टाइनमा रहेकाको स्वाब परीक्षणका लागि पीसीआर किट अभाव भएको छ । यसअघि भारतबाट ल्याइएका सर्वसाधारणलाई सीमावर्ती स्थानीय तहका विद्यालयमा राखिएको थियो । थप भित्र्याएर राख्न दुवै जिल्लामा क्वारेन्टाइनको अभाव भएको छ । प्रदेश सरकारले एक स्थानीय तहलाई एक हजार जना अट्ने क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ ।

कोरोना परीक्षणका लागि दुवै जिल्लामा आवश्यक किट उपलब्ध हुन नसक्दा समस्या भएको हो । यसले भारतबाट ल्याएर क्वारेन्टाइनमा राखिएकालाई चाँडो व्यवस्थापन गर्न कठिनाइ भएको छ । किट अभाव र क्वारेन्टाइनमा ठाउँ नभएपछि भारतको नौतनवास्थित क्वारेन्टाइनमा दुई साता बिताइसकेकालाई स्वदेश ल्याउन सकिएको छैन । उपलब्ध किट र क्वारेन्टाइन क्षमताको अनुपात मिलाएर उनीहरूलाई ल्याउने गरिएको छ । प्रवेश अनुमति नपाएपछि भारतका विभिन्न स्थानबाट आएका सयौं नेपाली तीन/चार सातादेखि नौतनवाका विभिन्न क्वारेन्टाइनमा छन् । कतिपय लुकेर छिर्ने दाउमा सीमा आसपास रहेका छन् ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नौतनवाको क्वारेन्टाइनमा दुई साता पूरा गरेकालाई स्वदेश ल्याएर स्वास्थ्य परीक्षण गर्न किट र यहाँ ल्याएपछि क्वारेन्टाइनमा राख्न ठाउँ अभावले तत्काललाई समस्या भएको बताए । उनका अनुसार बुधबार नौतनवाबाट ४ सय ९५ जनालाई ल्याएर सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । अझै नौतनवामा पाँच सय जनाजति अलपत्र छन् । ‘केही पालिकालाई थप क्वारेन्टाइनमा ठाउँ बनाइदिन भनेको छु,’ पन्थले भने, ‘पालिकाले क्वारेन्टाइन थप गरेपछि स्वदेश ल्याएर व्यवस्थापन गर्न सहज हुन्छ ।’ सुनौली अन्तर्राष्ट्रिय नाका भएकाले यहाँबाट ७७ जिल्लाकै बासिन्दा आउने भएकाले सबैलाई व्यवस्थापन गर्नुपर्ने भएको उनले बताए ।

प्रशासनले बुटवल उपमहानगर, कञ्चन, देवदह, सैनामैना र रोहिणी पालिकालाई थप क्वारेन्टाइनको व्यवस्था गर्न लगाएको छ । यसरी आएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि कम्तीमा २ हजार ५ सय थान पीसीआर किट आवश्यक छ । तर, बिहीबार ३ सय थानमात्रै उपलब्ध गराएको छ । रूपन्देहीका विभिन्न क्वारेन्टाइनमा २ हजार ४ सय ९२ जना छन् । किट अभाव भएपछि यसरी आएकाको आरडीटी परीक्षण गरेर सम्बन्धित जिल्लामा पठाउने कि पीसीआर गर्न नै कुर्ने भन्नेबारे अन्योल छ । ‘यदि कम्तीमा २ हजार ५ सय थान पीसीआर किट उपलब्ध भएनन् भने विदेशबाट आएका सवैको परीक्षण गर्न सक्दैनौं,’ पन्थले भने, ‘जति सक्दो चाँडो किट उपलब्ध भएमा उनीहरूको छिटो परीक्षण गरेर सम्बन्धित जिल्लामा पठाएर व्यवस्थापन गर्न सहज हुने थियो ।’

कपिलवस्तुमा पनि किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण हुन सकेको छैन । जिल्लाका लागि तत्काल १० हजार किट माग गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । पीसीआर परीक्षणका लागि १ हजार २ सय भीटीएम र आरडीटी किट १ हजार १ सय ६० प्राप्त भएको उनले बताए । आरडीटी किट सकिएको छ । बिहीबारसम्म ६ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । जिल्लाका १० स्थानीय तहका क्वारेन्टाइनमा ४ हजार ७ सय ८८ जना रहेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?