१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बलात्कार प्रयासकाे मुद्दामा पीडितले साक्षी पाएनन्

पाल्पा — वैशाख १७ गते बलात्कार प्रयासमा परेकी गुल्मीकी बालिकाको मुद्दा अझै अघि बढ्न सकेको छैन । पीडित परिवारले साक्षी बस्ने मान्छेसमेत नपाउँदा मुद्दा प्रहरी कार्यालयमै अड्किएको हो ।

बलात्कार प्रयासकाे मुद्दामा पीडितले साक्षी पाएनन्

शुक्रबार जिल्ला प्रहरी कार्यालय पुगेका उनीहरू आफ्नो पक्षमा बोल्ने साक्षी नभएपछि त्यत्तिकै घर फर्किए । स्थानीय राजनीतिक दल र अगुवाले गाउँमै मिलापत्र गराउन खोज्दा नमानेर मुद्दा दर्ता गराएको भन्दै पीडक पक्ष एकजुट भएपछि पीडितले साक्षी बस्ने मान्छे नपाएका हुन् ।

रेसुङ्गा नगरपालिका–६, बालकाटेकी १३ वर्षीया बालिकामाथि गाउँकै युवकले बलात्कार प्रयास गरेका थिए । प्रहरीले मुद्दा बलियो बनाउन कम्तीमा तीन जना साक्षी झिकाउन पीडित पक्षलाई भनेको थियो ।

महिला अधिकारकर्मी कमला बरालका अनुसार मुद्दा अगाडि बढाउन प्रहरीले नजिकका साक्षी माग गरेको छ । पीडित र पीडक पक्ष दुवै दलित परिवारका हुन् । पीडितले साक्षी नपाउँदा मुद्दा फितलो हुने जोखिम बढेको बरालले बताइन् । ‘प्रहरीले साक्षी लिएर आउनु भनेर बोलाएको थियो,’ उनले भनिन्, ‘पीडित पक्षले ल्याउन सक्नुभएन । हामी बस्छौं भन्दा मुद्दा फितलो हुन्छ भन्दै बस्न दिइएन ।’

प्रहरीले मुद्दा फितलो हुने भएकाले साक्षी खोजिएको जनाएको छ । वैशाख १८ गते अभद्र व्यवहार भएको भन्दै जाहेरी पनि केही दिनपछि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्रसिंह खड्काले बताए । ‘मुद्दा दर्ता गरेपछि कागज गर्ने मान्छे चाहियो,’ एसपी खड्काले भने, ‘अनुसन्धानलाई सहयोग पुर्‍याउन पनि साक्षी चाहिन्छ ।’

बलात्कार प्रयास आरोपमा स्थानीय १९ वर्षीय कृष्णबहादुर नेपाली थुनामा छन् । पीडित परिवारका अनुसार १३ वर्षीया बालिका घाँस काट्न र बाख्रा हेर्न बारीमा पुगेकी थिइन् । उनलाई नेपालीले सेल्फी खिच्न भन्दै आफू बसेको ठाउँमा बोलाए । त्यही बेला जबर्जस्ती करणीको प्रयास गरेको बालिकाले दिदीलाई सुनाइन् । घटनाबारे बुझ्न युवकको घर पुग्दा उल्टै धम्की दिएको परिवारले जनाएको छ । केही समय दुवै पक्षबीच हात हालाहालको अवस्था आएपछि प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको थियो । पीडित परिवारलाई जिल्ला र गाउँका अगुवाले गाउँमै मुद्दा मिलाउन दबाब दिएका थिए । वडाध्यक्ष गनबहादुर गुरुङले भने आफूले घटनाबारे हल्ला मात्र सुनेको बताए । ‘बलात्कार प्रयास गरेको भन्ने सुनियो,’ उनले भने, ‘यसबारे विस्तृत जानकारी वडामा आएको छैन । सीधै प्रहरी कार्यालय (थाना) मा गएको भन्ने सुनेको छु ।’

घरभित्र पसेको भन्दै जरिवाना

वैशाख २२ मा गुल्मीको कालीगण्डकी गाउँपालिका–५, फोक्सिङमा दलित युवकलाई गैरदलितको घरमा पसेको भन्दै १५ सय रुपैयाँ जरिवाना गराइएको छ । स्थानीय नेत्र काउछाले श्याम परियारलाई जरिवाना तिराएका हुन् । श्यामकी आमा कौशिला परियार गाउँ कार्यपालिका सदस्य हुन् ।

घर चोख्याउनका लागि पूजापाठ गराउने भन्दै आफूलाई जरिवाना तिराइएको श्यामले बताए । एक्कासि हावाहुरीसहित भीषण पानी परेपछि उनी काउछाको घरमा ओत लागेका थिए । सुरुमा सात हजार भनिए पनि आर्थिक अवस्था कमजोर भएको भनेपछि १५ सय तिराइएको कौशिलाले बताइन् । वडाअध्यक्ष थमनसिंह आलेले घटना दुःखदायी भएको बताए । आफूलाई घटनाबारे जानकारी नै नगराइएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?