३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भारतबाट आउनेको परीक्षण गर्न किटको अभाव

माधव ढुंगाना

भैरहवा — सुनौली नाका हुँदै भारतबाट ल्याइएका नेपालीको कोरोना संक्रमणको परीक्षण गर्नका लागि आवश्यक मात्रामा किट उपलब्ध नहुँदा समस्या भएको छ । 

भारतबाट आउनेको परीक्षण गर्न किटको अभाव

पछिल्लोपटक बुधबार साँझ यस नाकाबाट भारतको नौतनवास्थित क्वारेन्टाइनमा रहेका ४ सय ९५ जना नेपालीलाई स्वदेश ल्याइएको थियो । विभिन्न जिल्लाका ती नेपालीलाई सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले तयार पारेका क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पीसीआर परीक्षण गरेर नेगेटिभ देखिएमामात्रै सम्बन्धित जिल्लामा पठाएर व्यवस्थापन गरिने छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पीसीआर परीक्षणका लागि आवश्यकता अनुरुप किट नहुँदा उनीहरुको छिटो व्यवस्थापन गर्न नसकिएको बताए । किटको अभावकै कारण भारतको नौतनवास्थित क्वारेन्टाइनमा दुई हप्ताभन्दा धेरै समय बिताएका अन्य नेपालीलाई पनि स्वदेश ल्याएर व्यवस्थापन गर्न नसकिएको पनि उनले बताए ।

‘अहिलेको अवस्थामा सबैभन्दा जरुरी किट नै भएको छ,’ पन्थले भने, ‘किट जतिसक्दो छिटो उपलब्ध हुन्छ उति नै विदेशबाट घर आएका नेपालीलाई स्वदेश ल्याइ व्यवस्थापन गर्न सहज र छिटो हुन्छ ।’ उनका अनुसार दुई हप्ताको अवधि पूरा गरेका नेपाली नौतनवामा करिब ५ सयको संख्यामा छन् । दुई साताको क्वारेन्टाइन अवधि पूरा नभएका नेपाली ४ सयको हाराहारीमा छन् ।

नौतनवाबाट ल्याइएका र अब ल्याउनुपर्ने नेपालीको परीक्षणका लागि कम्तीमा पनि २ हजार ५ सय थान पीसीआर किटको आवश्यकता रुपन्देहीका लागि छ । तर, बिहीबार ३ सयमात्रै किट आइपुगेको छ । केन्द्रीय संकट व्यवस्थापनले आवश्यक पर्ने थप किट केही दिनमा उपलब्ध गराउने आश्वासन दिएपनि कहिलेसम्म उपलब्ध हुन्छ भन्ने बारेमा एकिन छैन ।

भारतमा रहेका नेपालीलाई स्वदेश ल्याउने बारेमा केन्द्र सरकारले कुनै निर्णय नगरेपछि यसको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय प्रशासनको काँधमा आएको छ । सुनौली नाका अन्तर्राष्ट्रिय नाका भएकाले यहाँबाट आउने नेपाली रुपन्देहीका मात्र नभएर ७७ जिल्लाकै छन् । उनीहरुलाई स्वदेश ल्याएपछि बस्ने खानेसहितको क्वारेन्टाइनको व्यवस्थापन गर्न रुपन्देही प्रशासनले स्थानीय पालिकाहरुलाई अनुरोध गरेको छ ।

‘कम्तीमा २ हजार ५ सय थान पीसीआरको किट उपलब्ध भएन भने विदेशबाट आएका सबैको परीक्षण गर्न सक्दैनौं ।,’ पन्थले भने ।

प्रकाशित : जेष्ठ २, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?