बाँकेमा शुक्रबार थपिएका आठै जना संक्रमित नरैनापुरका - प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा शुक्रबार थपिएका आठै जना संक्रमित नरैनापुरका 

सबै भारतबाट आएका
रुपा गहतराज

बाँके — शुक्रबार बाँकेमा आठ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै बाँकेमा सँक्रमितको संख्या ३३ पुगेको छ । यो पटक थपिएका सबै नरैनापुर गाउँपालिकाका हुन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा नरैनापुर १,३ र ५ निवासी १८,२०,२२,२५ २५,२७ ३२र ३६ वर्षीय पुरुषमा कोरोना देखिएका हो । भारतबाट घर आएका बाँके नरैनापुरमा बिहीबार ४५को जाँचमा ८ जना पोजिटिभ देखिएका हुन ।

‘सक्रमितहरुलाई नेपालगन्ज ल्याउने तयारी भइरहेको छ ’स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने,‘अब संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गर्छौं ।’

हाल नरैनापुरमा ४ सय ४१ जना क्यारेन्टाइन्मा छन् । सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकै पटक आठ जनामा कोरोना पुष्टि भएकोले सुरक्षा व्यवस्थालाई कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए ।

प्रकाशित : जेष्ठ २, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

‘डिजिटल एडिक्सन’ होला है

उचित अभिभावकत्वको अभावमा लकडाउनका दौरान बालबालिकामा मानसिक बेचैनीको डर

काठमाडौँ — कुरो लकडाउन सुरुहुनु एक/दुइ दिन अघिको हो– राजधानीकै एक निजी स्कुलमा ८ कक्षामा पढ्ने छात्र स्कुल जानै नमान्दा रहेछन् । अभिभावकले फकाए, गाली गरे तर केही सीप लागेन । त्यसपछि उनीहरूले चिन्तित हुँदै बालमनोविज्ञ नन्दिता शर्मा फोन गरे । उनी बच्चालाई भेट्न घर गइन् । बच्चाले उनीसँग भनेछन्, ‘सरले स्कुलमा जे पढाउनुहुन्छ, म नेटमा यहीँ पढ्न सक्छु, गेम पनि यहीँ खेल्छु, मन लाग्यो भने साथीहरूसँग च्याट गर्छु अनि किन स्कुल जानुपर्‍यो ?’


शर्माका अनुसार उनको कोठामा मोबाइल, ट्याब, ल्यापटप थियो अनि इन्टरनेट पनि चौबिसै घण्टा । ‘उसै पनि बालबालिका वास्तविकभन्दा डिजिटल दुनियाँमा रमाउन थालेका छन् । अहिले त समय कटाउन पनि हरेक अभिभावकले बच्चालाई मोबाइल थमाइदिन्छन् । अब डिजिटल एडिक्सन अझ बढ्छ,’ शर्माले चिन्तित हुँदै सुनाइन् । बालबालिका क्षणिक खुसी भएजस्तो देखिए पनि अभिभावकको माया/ममताको पूर्ति मोबाइलले गर्दैन, बरु अभिभावकसँग दूरी बढाउँछ ।

फेसबुक चलाउन, गेम खेल्न मोबाइल, फोटो/भिडियो खिच्न, समाचार हेर्न, जे गर्न पनि मोबाइल नै । कति अभिभावक त सानै उमेरका बालबालिकालाई पनि मोबाइल दिएर भुलाउँछन् र आफू पनि मोबाइलमै मस्त हुन्छन् । बच्चाले इन्टरनेटमा कस्ता सामग्री हेर्छन्, साथीहरूसँग के–कस्ता कुरा हुन्छ, अभिभावकले पत्तै पाउँदैनन् ।

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय प्रत्यक्ष निगरानीबिना मोबाइल वा अन्य विद्युतीय सामग्री बच्चालाई दिनु घातक मान्छन् । ‘सकेसम्म बच्चालाई मोबाइल दिनै हुन्न । दिनै परे अभिभावक साथमा हुनुपर्छ । मोबाइलको लत बस्यो भने पढाइ, व्यवहार र सोचाइमा समेत असर पर्छ,’ उपाध्याय भन्छन्, ‘बालबालिकाले एक्लै बसेर मोबाइल चलाए भने त्यहाँ केही न केही गलत भइरहेकै हुन्छ ।’ स्मार्टफोनले बालबालिकाको मानसिक विकासमा बाधा पुग्ने र रोग प्रतिरक्षा क्षमतामा ह्रास हुने विभिन्न अध्ययनले देखाएका छन् ।

तर, विडम्बना ! सन्तानलाई ‘आधुनिक’ बनाउन होस् वा भुलाउन, अभिभावकहरू मोबाइल, ट्याबजस्ता विद्युतीय सामग्री थमाइदिन्छन् । यसका लागि लकडाउन गतिलो बहाना बनेको छ । एकातिर परिवारबाहेक अरू कोहीसँग प्रत्यक्ष सम्पर्क नहुने, अर्कातिर इन्टरनेटमै हराउने । यसले बच्चामा ‘सामाजिक’ गुणको विकास नहुन सक्छ । ‘तर, लकडाउनले बालबालिकामा कस्तो असर पर्छ भन्नेचाहिँ अध्ययन हुन बाँकी छ,’ बीबीसी अनलाइनमा प्रकाशित एक रिर्पोटमा भनिएको छ ।

‘फलदायी छैन अनलाईन कक्षा’

अझ अनलाइन कक्षाको नाममा बालबालिकाको ‘स्क्रिन टाइम’ बढाइएकाले विज्ञहरू थप चिन्तित बनेका छन् । लकडाउन लम्बिँदै गएपछि सहरी क्षेत्रका विद्यालयले अनलाइन कक्षालाई प्राथमिकता दिइरहेका छन् । सबैको पहुँचमा नहुने भन्दै यसको विरोध त भइरहेकै छ तर मनोवैज्ञानिक रूपमा पनि बालबालिकाका लागि फलदायी नहुने बताइन्छ । ‘अहिले किताबी ज्ञान नै रटाउन, गृहकार्य दिन आवश्यक छैन । घरमै अभिभावकले जीवन उपयोगी सीप सिकाउन सक्छन्,’ बालमनोविज्ञ शर्मा भन्छिन्, ‘बरु यो समयलाई बच्चाभित्रको सिर्जनशीलता पहिचान गरेर त्यसलाई प्रस्फुटित गर्ने माहोल बनाइदिनुपर्छ ।’

बच्चाको उमेर अनुसार खाना पकाउन, कोठा, बगैंचा सफा गर्न सिकाउन उनको सुझाव छ । उनी थप्छिन्, ‘मोबाइलमा गेम खेल्न दिनुभन्दा अभिभावकले आफैंसँग लुडो, चेस, क्यारेमबोर्ड, ब्याडमिन्टन खेलाउनुपर्छ । अभिभावक–सन्तानको सामीप्यता बढाउने अवसर पनि हो यो ।’ सम्भव भएसम्म साथी र शिक्षकसँग सम्पर्क गराइदिनुपर्ने उनले बताइन् ।

समय बिताउनकै खातिर हुनुपर्छ, लकडाउनमा छोराछोरीको टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति अकासिएको छ । कतिपयले यसलाई रमाइलोका रूपमा लिएका छन् भने भिडियोमा नक्कल गरेकै कारण आफ्नो सन्तान प्रतिभाशाली छ भनेर देखाउने र गमक्क पर्ने अभिभावक पनि छन् । कोही त भिडियोको भ्युजकै आधारमा छोराछोरी ‘सानैमा सेलिब्रिटी’ भए भनेर दंग पर्छन्, जबकि टिकटक बच्चाका लागि हानिकारक हुन्छ ।

‘टिकटकले बच्चाको गोपनीयता हनन गर्छ, वयस्कझैं हाउभाउ गर्न लगाउँदा भोलि व्यवहारमा परिवर्तन आउँछ,’ अभिभावकसँग मनोविज्ञ शर्माको आग्रह छ, ‘सकेसम्म त्यस्ता भिडियो खिच्दै नखिचौं, खिचे पनि सामाजिक सञ्जालमा पोस्ट नगरौं । अहिले बच्चा खुसी भएजस्तो गरे पनि बुझ्ने भएपछि अभिभावकलाई नै गाली गर्छन् ।’ भिडियो र भ्युजले बच्चा ‘एटेन्सन सिकर’ हुने र अनेक किसिमका दुर्घटना निम्तने डर हुन्छ । शर्मा भन्छिन्, ‘बच्चालाई बच्चा नै रहन दिऔं ।’

अभिभावकसँगको सम्बन्ध

अभिभावकलाई सोध्नुपर्ने प्रश्न हो– ‘तपाईंले बच्चासँग कति समय बिताउनुहुन्छ ?’ लकडाउनअघि हुन्थ्यो भने अभिभावकको जवाफ सारमा एउटै हुन्थ्यो, ‘छोराछोरीलाई हुर्काउन, पढाउनकै लागि दिनरात खट्नुपर्छ । त्यसैले चाहेर पनि भने जति समय दिन पाइन्न । तर, उनीहरूका आवश्यकताचाहिँ पुर्‍याइदिएकै छौं ।’

मनोविज्ञहरू एकै स्वरमा भन्छन्, ‘अभिभावकको साथबिना बच्चाहरू खुसी र आत्मविश्वासी हुन सक्दैनन् । आमाबुबाले समय दिने हो भने अनावश्यक माग गर्दैनन् ।’ अहिले स्वास्थ्य र सुरक्षा सेवामा रहेका बाबुआमाबाहेक अधिकांश लकडाउनका कारण घरमै छन्, बच्चाको पनि स्कुल बन्द छ, उनीहरू पनि घरमै । बाध्यात्मक नै सही, अभिभावक र सन्तानले एकसाथ समय बिताउने मौका मिलेको छ लकडाउन । त्यसैले अहिले ‘सन्तानसँग रमाउन फुर्सद छैन’ भन्ने बहाना तर्कसंगत हुन्न । त्यसो भए अभिभावकले छोराछोरीसँग ‘क्यालिटी टाइम’ बिताइरहेका छन् त ?

‘सुरुमा लकडाउन यति लामो होला भनेर न अभिभावकले सोचेका थिए, न सन्तानले । त्यसैले सबैले रमाइलो नै माने,’ लकडाउनका दौरान पनि अभिभावक र बच्चाका व्यवहारलाई नियालिरहेकी बालमनोविज्ञ शर्मा भन्छिन्, ‘तर लकडाउन लम्बिँदै गएपछि बहुसंख्यक अभिभावकले बच्चासँग झर्को मान्न थालेका छन् । रिसाउने, कराउने गर्दा बच्चामा बेचैनी बढेको हुन सक्छ ।’ कामकाजी अभिभावकले यति लामो समय बच्चासँग कहिल्यै नबिताएकाले झिँझो भाव उत्पन्न भएको उनको ठम्याइ छ ।

आजकल अढाई वर्ष नपुग्दै बच्चालाई मन्टेस्वरी हुँदै स्कुल पठाइन्छ । घरमा बस्ने बानी त बच्चासँग न अभिभावकसँग हुन्छ । त्यसैले लामो समय सँगै बस्दा अभिभावक र सन्तानबीच मात्र होइन, परिवारका अन्य सदस्यहरूबीच पनि मनमुटाव बढ्नु स्वाभाविक हो । फरक कति भने वयस्कले असमझदारी आफैं सम्हाल्न र व्यक्त गर्न सक्छन्, बच्चाले सक्दैनन् । अझ अन्तरमुखी स्वभावका बालबालिकाका लागि यस्तो माहोल झनै कष्टकर हुने विज्ञहरू बताउँछन् । ‘सीमित अभिभावकले सन्तानसँग रचनात्मक समय बिताइरहेका छन् तर धेरैले आफू र सन्तानलाई सम्हाल्न सकेका छैनन् । यसबाट बच्चामा नकारात्मक प्रभाव पर्छ,’ शर्माले आफ्नो बुझाइ सुनाइन् ।

अभिभावकबाटै सशंकित

लकडाउनपूर्व बालबालिका वार्षिक परीक्षा सकिएर बिदा मनाउने मुडमा थिए, तर घरभित्र थुनिनुपर्‍यो । कतिपयले आफन्तकहाँ जाने, घुम्ने योजना बनाएका हुन सक्छन्, त्यो पूरा नहुँदा खल्लो लाग्ने भइहाल्यो । खुसी खोजिरहेको बेला थप त्रासको भुमरीमा फस्नुपर्‍यो । विज्ञहरूका अनुसार चार वर्षमुनिका बालबालिकालाई कोरोनाको डर खासै अनुभूत हुँदैन, त्यसमाथिका बच्चाले अभिभावक, सामाजिक सञ्जाल र टेलिभिजनबाट कोरोनाले संसारभर आतंक फैलाइरहेको थाहा पाउँछन् । बालविकास विज्ञ प्रा.डा. निर्मला उप्रेती भन्छिन्, ‘अभिभावकले नै कोरोनासम्बन्धी अनावश्यक समाचार/जानकारी पछ्याएर आफैं तनाव लिइरहेका हुन्छन्, अभिभावक चिन्तित देखेपछि सन्तानहरू झन् आत्तिन्छन् ।’ कोरोनासम्बन्धी अनावश्यक र अतिरञ्जित सूचना तारन्तर पछ्याउनु जो कोहीका लागि घातक हुने उप्रेतीको भनाइ छ ।

अभिभावकको उचित परामर्श र स्नेहको अभावमा बालबालिका लकडाउनमा मनोवैज्ञानिक रूपमा विचलित हुँदैछन् । प्रा.डा. उप्रेतीका अनुसार टेलिभिजनमा समाचार हेर्दा उनको छिमेकीको आठ वर्षको छोरोले आत्तिँदै मास्क लगाएछन्, घरभित्र बस्दा पनि मास्क खोल्नै नमान्ने । सुरुबाटै बच्चा र ज्येष्ठ नागरिकलाई भाइरसले छिटो समात्छ भनियो, यसले पनि बच्चाहरूमा भय थपेको छ । नेपालमै सात वर्षको बालक संक्रमित भएपछि बच्चाहरू डराउने र आत्तिने क्रम बढेको विज्ञहरू बताउँछन् । शर्मा भन्छिन्, ‘डर पैदा गर्ने समाचार सामग्रीबाट बालबालिकालाई परै राख्नुपर्छ । क–कसलाई संक्रमण भयोभन्दा कसरी बच्न सकिन्छ भन्नेबारे सचेत गराउनु उपयुक्त हुन्छ ।’

बालबालिकाको दैनिकी निश्चित संरचनामा चलिरहेको हुन्छ । स्कुल, पढाइ, साथी, खेल, गृहकार्य आदि–आदि । लकडाउनले सबै ठप्प, उनीहरूले यस्तो परिस्थिति आउला भनेर सोचेका पनि हुँदैनन् । त्यसैले लकडाउन लम्बिँदै जाँदा उनीहरूमा बेचैनी पैदा हुने विज्ञहरूको बुझाइ छ । फेरि कहिल्यै स्कुल जान नपाइएला, साथीहरूसँग भेट नहोला भन्ने त्रास मनमा फैलिएको हुनसक्छ । उप्रेती भन्छिन्, ‘त्यसैले बच्चालाई सन्दर्भ मिलाएर सबै ठीक हुन्छ, पहिलेकै रुटिनमा फर्किन्छौं भनेर बुझाइरहनुपर्छ, ताकि उनीहरूमा आशा जागोस् ।’

बाबुआमा चाहन्छन्, छोराछोरी सधैं खुसी भइदिऊन्, रमाऊन् तर सधैं त्यस्तो नहुन सक्छ । उनीहरू दु:खी पनि हुन सक्छन्, मन खिन्न भएको हुन सक्छ । तर, उनीहरू स्वयंलाई कारण थाहा नहुन सक्छ । यो प्राकृतिक कुरा हो । मनोविज्ञ इलेनिड गिलेनले बीबीसीसँग भनेकी छन्, ‘बच्चाले म खुसी छैन भन्दा अभिभावकले तिमी खुसी हुनैपर्छ वा खुसी हौ भन्ने खालका कुरा गर्नुहुन्न । उनीहरूको भावनाको कदर गर्नुपर्छ ।’ बरु नजानिँदो र झर्कोफर्को नगरी बच्चाको समस्या पहिल्याएर समाधान गरिदिँदा बच्चामा दीर्घकालसम्म सकारात्मक प्रभाव पर्छ, अभिभावकसँग थप सहज महसुस गर्छन् । बच्चालाई हरेक कुराहरू कसरी राम्रो गर्न सकिन्छ भनेर बुझाउन इलेनिडको सुझाव छ ।

प्रकाशित : जेष्ठ २, २०७७ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×