१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लकडाउन फितलो हुँदा संक्रमणको जोखिम उच्च

'लकडाउन खुकुलो गरे पनि सबै चिज खुलेसरह हिँडडुल गर्दा खतरा झन् बढ्छ । लकडाउनको पूर्ण पालना नै कोरोनाबाट बच्ने उत्तम उपाय हो ।'
दीपेन्द्र बडुवाल

बुटवल — मुलुकका विभिन्न क्षेत्रमा कोभिड-१९ संक्रमण देखापरे पनि भारतसँग लामो सीमा जोडिएको प्रदेश ५ मा शून्य संक्रमण थियो । डेढ साता अवधिमा संक्रमितको संख्याका आधारमा प्रदेशले अन्यलाई उछिनेको छ ।

बुधबारसम्म प्रदेशका सीमावर्ती ४ जिल्लामा ७२ संक्रमित पुगेका छन् । कपिलवस्तुमा ३०, बाँकेमा २५, रूपन्देहीमा १६ र बर्दियामा एक जनामा संक्रमण पुष्टि भएको छ । छोटो अवधिमा ह्वात्तै संख्या बढेपछि प्रदेशमा देखिएको खुलापनको आलोचना सुरु भएको छ ।

संक्रमितमध्ये अधिकांश दक्षिणी सीमा क्षेत्रबाट लुकेर मुलुक प्रवेश गरेका छन् । लकडाउनको अवधिमा नेपालगन्ज–७ का ६० वर्षीय पुरुष नमाज पढ्न र उर्दु भाषा सिकाउन नेपालगन्ज–८ का घरघरमा पुगेकाले संक्रमण समुदायमा फैलिएको स्वास्थ्यकर्मीले त्यहाँ गरेको कन्ट्याक्ट ट्रेसिङमा पाएको छ ।

प्रदेशका नेपालगन्ज, बुटवल, भैरहवाजस्ता ठूला सहरमा लकडाउन पालना भएको छैन । सुरुदेखि यी बजारमा चहलपहल छ । रूपन्देही र कपिलवस्तुका ग्रामीण क्षेत्रमा संक्रमित धमाधम बढेपछि सर्वसाधारणले हिँडडुल र समदूरी कायम गरेका छैनन् । यस्तो अवस्थामा संक्रमण नियन्त्रण गर्न लकडाउन पालनामा कडाइ गरिनुपर्ने चिकित्सकले बताएका छन् । लकडाउनको अवधिमा हुने किनमेल र जमघटमा सामाजिक दूरी कायम गरिएको पाइँदैन । अहिले पनि पसलमा भीड लाग्ने गरेको छ । ग्रामीण क्षेत्रमा सर्वसाधारण जमघट गरिरहेका देखिन्छन् ।

रुपन्देहीमा कार्यरत चिकित्सकले संक्रमण फैलिन नदिन स्थानीयलाई घरभित्रै बस्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । जति सडकमा निस्केर घुलमिल गरिन्छ, त्यति संक्रमण फैलिने खतरा भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालले जुन स्थानबाट संक्रमित भेटिएका छन्, ती स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने बताए । ‘लकडाउनकै अवस्थामा मानिसको हिँडडुल बढेको देखिन्छ,’ उनले भने, ‘लकडाउनमा कडाइ आवश्यकता छ ।’ कुन व्यक्तिमा कोरोना भाइरस छ भन्नेबारे जानकारी नहुने भएकाले मानिस स्वयं सचेत हनुपर्ने उनले बताए । यहाँका टोलदेखि सडकमा भइरहेका गतिविधिबारे सुरक्षा निकायले निगरानी गर्न आवश्यक रहेको उनको भनाइ छ ।

भैरहवास्थित भीम अस्पतालका मेसु डा. नवीन दर्नालले संक्रमितको संख्या ह्वात्तै बढेकाले सावधानी बढाउनुपर्ने बताए । ‘हामी यस्तो अवस्थाका लागि तयारी अवस्थामै थियौं,’ उनले भने, ‘संक्रमण फैलिन नदिन लकडाउनमा कडाइ गरिनुपर्छ । परीक्षणको दायरा बढाउनुपर्छ ।' उनका अनुसार चालु साता पीसीआर किट उपलब्ध भएपछि क्वारेन्टाइनमा रहेका धेरैको स्वाब संकलन गरिएको छ । ती स्वाब परीक्षण गरेपछि संक्रमितको संख्या बढेको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा कार्यरत चिकित्सक सुदर्शन थापाले सरसफाइमा विशेष ध्यान दिँदा संक्रमणको जोखिम केही हदसम्म कम हुने बताए । ‘लकडाउन खुकुलो गरे पनि मानिसले सबै चिज खुलेसरह हिँडडुल गर्दा खतरा झन् बढ्छ,’ उनले भने, ‘लकडाउनको पूर्ण पालना कोरोनाबाट बच्ने उत्तम उपाय हो ।’

यससँगै समाजमा नयाँ मानिस आएको जानकारी पाउनासाथ त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनसम्म लैजान भूमिका खेल्नुपर्ने उनले सुझाए । ‘दिनहुँ बिरामी बढेको सूचना पाइरहे पनि मानिसले हेलचेक्र्याइँ गरिरहेका छन्,’ उनले भने, ‘यसले रोग फैलन बेर लाग्दैन ।’ बल्ल बढ्ने क्रममा रहेकाले यसले कस्तो रूप लिन्छ भन्ने यकिन नभएकाले आफ्नो सुरक्षा आफैं गर्नु उचित हुने उनले सुझाव दिए ।

प्रकाशित : वैशाख ३१, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?