३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रूपन्देहीका कोरोना संक्रमित भेटिएका क्षेत्र सिल

अमृता अनमोल

बुटवल — रूपन्देहीमा कोरोना संक्रमित भेटिएका क्षेत्रलाई सिल गरिएको छ । स्थानीयको सुरक्षा तथा स्वास्थ्य सतर्कतालाई ध्यानमा राखेर सिल गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

रूपन्देहीका कोरोना संक्रमित भेटिएका क्षेत्र सिल

२ दिनमा १५ जना संक्रमित देखिएपछि बुधबार बिहानैदेखि जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रशासनले हुलाकी सडकमा लुम्बिनी सांस्कृतिक नगरपालिकादेखि रोहिणी गाउँपालिकासम्म विनाअनुमति हिँड्न रोक लगाएको छ । संक्रमित क्षेत्रका व्यक्तिहरू आउने र संक्रमण फैलन सक्ने खतरा रोक्न हुलाकी मार्ग र आसपास भेगमा हिँड्न रोकिएको प्रजिअ पन्थले बताए ।

सीमा क्षेत्र र संक्रमित क्षेत्रमा आवागमन रोक्न मंगलबार रातिदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा क्षेत्रमा अलपत्रलाई ल्याउने भनिए पनि उनीहरूलाई सुरक्षित क्वारेन्टाइन र पीसीआर जाँचको व्यवस्था नभएसम्म तत्काल नल्याइने भएको छ ।

अहिलेसम्म लुम्बिनी सांस्कृतिक नगरपालिकाका ९, सम्मरीमाई गाउपालिकाका ६ र कोटहीमाई गाउँपालिकाका एक गरी १६ जनामा संक्रमण भेटिएको छ । यी क्षेत्र हुलाकी सडकभन्दा दक्षिणमा छन् । त्यस क्षेत्रमा अन्तरपालिका आवागमनसमेत बन्द भएको छ ।

पछिल्लोपटक संक्रमण भेटिएका ९ जना घरमा गएको पाइएपछि उनीहरूको यात्रा विवरण लिने र सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा ल्याउने काम भइरहेको छ । अहिलेसम्म सम्पर्कमा रहेका ३० जनालाई क्वारेन्टाइनमा ल्याइएको स्वास्थ्य कार्यालयप्रमुख राजेन्द्र गिरीले बताए ।

स्थानीय तहलाई लकडाउनयता भारतबाट आएका तथा भारतीय भूमिमा गएका सबैको लगत संकलन गर्न भनिएको छ । तथ्यांक अद्यावधिकपछि उनीहरूको सम्पर्कमा रहेका व्यक्तिलाई समेत क्वारेन्टाइनमा ल्याइनेछ । जिल्ला प्रशासनले दुई दिनअघि सबै स्थानीय तहलाई कम्तीमा एक हजार बेडको क्वारेन्टाइन बनाउन सुझाव दिएको छ । त्यसअनुसार विद्यालय तथा सार्वजनिक स्थलमा क्वारेन्टाइन बनाउन थालिएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले बताए ।

प्रकाशित : वैशाख ३१, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?