भारतमा कम्पनी बन्द भएपछि घर फर्किएका १० मजदुर कपिलवस्तुमा अलपत्र

लकडाउनले पूर्वाधार कम्पनी बन्द भएपछि घर फर्कंदै गरेका मजदुर भन्छन्– 'हामी अलपत्र भयौं, उद्धार गरियोस्'
काशीराम डाँगी

रोल्पा — कोभिड १९ को संक्रमण वृद्धिका कारण आफूहरु कार्यरत कम्पनी बन्द भएपछि घर फर्कंदै गरेका रोल्पाका ६ सहित १० मजदुर कपिलवस्तुमा अलपत्र परेका छन् । भारतीय सीमाबाट हिँडेरै घर आउन आइरहेका उनीहरुले पूर्व–पश्चिम राजमार्गमा अलपत्र परेको बताएका हुन् । 

भारतको उत्तरप्रदेशस्थित नोयडा नजिक भिउ कम्पनीमा कार्यरत उनीहरुले लकडाउनपछि कम्पनी बन्द भएकाले घर फर्किएको बताएका छन् । ‘सुरुङमा काम गर्थ्यौं, काम नभएपछि हामी दिल्ली हुँदै घर फर्कन हिँडेका थियौं’, रोल्पा त्रिवेणी–२ नुवागाउँका बुद्धिराम सुनारले भने, ‘हामीलाई गाउँपालिका वा प्रदेश सरकारले घरसम्म पुर्‍याइदेओस् ।’

करिब ५० दिनअघि कम्पनीमा काम नपाएपछि उनीहरु घरतर्फ हिँडेका थिए । ‘हिँडेर आउनुपर्दा लामो यात्रा गर्नुपर्‍यो’, मंगलबार टेलिफोनमा उनले भने, ‘बरु क्‍वारेन्टाइनमा बस्न तयार छौं, अलपत्र पर्नु नपरोस् ।’ भारतीय सीमा उता रेल र गाडीबाट आएका उनीहरु नेपाली सीमा पार गरेपछि भने ५ दिनसम्म पैदलै हिँडेका थिए । उनीहरु नेपाल आउन छोटो बाटो हुने ठानेर गोरखपुर हुँदै आएका थिए ।

मंगलबार कपिलवस्तुस्थित शिवपुर नगरपालिका–१ कुकुरभुकुवा भन्ने स्थानमा आइपुगेर अलपत्र परेका हुन् । नगर प्रमुखसँग सम्पर्कमा पुगेपछि जिल्लाबाहिरकालाई क्‍वारेन्टाइनमा राख्ने, खाने र बस्ने व्यवस्था गर्न नसक्ने बताएपछि उनीहरु थप चिन्तामा परेका हुन् । उनीहरुले क्‍वारेन्टाइनमा बस्नु परे पनि घर छेउको स्थानमा पुर्‍याइदिन आग्रह छन् ।

बेरोजगार भएका रोल्पाका ६ जनाका साथ दाङ घोराही उपमहानगरपाकिलाका २, कोहलपुर नगरपालिकाका २ र दाङको गढवा गाउँपालिकाका १ जनासमेत छन् । त्रिवेणीका सुनार र उनका साथीसहित घर आउन एकैसाथ आएकामा रोल्पास्थित रुन्टीगढी गाउँपालिका–९ का १ र लुंग्री गाउँपालिका–६ का ३ जना छन् । सुनारका अनुसार रोल्पास्थित जनप्रतिधिनिसँग टेलिफोन सम्पर्क हुन सकेको छैन । आफूहरुलाई उद्धार गरेर घर पुर्‍याइदिन उनीहरुले आग्रह गरेका छन् ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले यसबारे जानकारी नपाएको बताए । साविकको नुवागाउँ गाविसका पूर्वअध्यक्ष शान्तराज बोहराले अलपत्र परेकाले निरन्तर टेलिफोन गरेर उद्धार गर्न आग्रह गरेको बताए । उनले स्थानीय तहका जनप्रतिनिधिले मानवीय दृष्टिकोणले उद्धार गरेर जिल्ला ल्याउनु पर्ने सुझाव दिए ।

प्रकाशित : वैशाख ३०, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?