भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले आन्दोलन गर्न थाले
भैरहवा — तीन साता क्वारेन्टाइनमै बिताएपछि पनि स्वदेश आउन नपाएपछि भारतको नौतनवास्थित क्वारेन्टाइनमा रहेका सयौं नेपालीले आन्दोलन गर्न थालेका छन् । भोक हडतालसहितको आन्दोलन गर्नाले उनीहरुको व्यवस्थापन गरिरहेका भारतीय सुरक्षा अधिकारी र प्रशासनिक निकाय समस्यामा पर्न थालेको छ । भारतीय पक्षले क्वारेन्टाइन अवधि पूरा गरेका नेपालीलाई नेपाल लैजान बारम्बार आग्रहसमेत गर्न थालेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरुले बारम्बार आन्दोलन गर्न थालेपछि भारतीय पक्ष समस्यामा पर्न थालेको र आन्दोलन नगर्न आफूले सम्झाउने प्रयास गरिरहेको बताए । ‘मैले दुई पटकसम्म नेपालबाट अधिकृतहरु पठाएर आन्दोलन नगर्न सम्झाइबुझाइ गर्ने प्रयास गरेँ,’ पन्थले भने, ‘क्वारेन्टाइनमा बसेको धेरै दिन बित्दा पनि स्वदेश आउन नपाएका उनीहरुले आन्दोलन गर्ने गरिरहेका छन् ।’
लकडाउन र सिमाना सिल गरिँदा नेपाल–भारतबीच माथिल्लो स्तरमा नै जो जहाँ छ त्यहीँ नै सुरक्षित बस्ने भन्ने सहमति भएअनुरुप स्थानीय स्तरबाट अन्य निर्णय गर्न नसकिँदा क्वारेन्टाइन अवधि पूरा गरेकालाई पनि स्वदेश आउने अनुमति दिन नसकिएको नेपाली सुरक्षा अधिकारी बताउँछन् ।
नेपाली सुरक्षा अधिकारीका अनुसार, नौतनवाको क्वारेन्टाइनमा २१ दिन बिताइसकेका ७ सयभन्दा धेरैको विवरण प्राप्त भइसकेको छ । दिनहुँ सिमानाबाट लुकेर नेपाल छिर्न खोज्नेलाई फर्काएर भारतीय सुरक्षाकर्मीको साथमा क्वारेन्टाइनमा बस्न लगाइने गर्नाले यो संख्या बढिरहेको हो । भारतीय पक्षले थप ८ सयको हाराहारीमा नेपाली थपिएको जानकारी दिएका छन् ।
नौतनवामा रहेका नेपाली मेचीदेखि महाकालीसम्मका र विकट र हिमाली जिल्लाका समेत छन् ।
परीक्षणका लागि किट उपलब्ध भएको खण्डमा भारतीय क्वारेन्टाइन अवधि पूरा गरेका नेपालीलाई स्वदेश ल्याउने योजना अघि सारिएको पन्थले जनाए । उनका अनुसार, उनीहरुलाई नेपाल ल्याउनासाथ तत्कालै पीसीआर परीक्षण गरी नेगेटिभ आएमा सम्बन्धित जिल्लामा थप क्वारेन्टाइनमा बस्ने गरी पठाउने र पोजिटिभ आउनेलाई अस्पतालमा पठाउने गरी व्यवस्थापन गर्ने योजना छ । ।
‘यसका लागि स्वास्थ्य कार्यालयमार्फत् २ हजार किट माग गरिएको छ,’ पन्थले भने, ‘आवश्यकता अनुरुपको किट आउनासाथ निश्चित क्वारेन्टाइन अवधि पूरा गरी भारततर्फ रहेका नेपालीको तत्कालै व्यवस्थापन गर्न सकिन्छ ।’
प्रकाशित : वैशाख ३०, २०७७ १५:२०