२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रुपन्देही र कपिलवस्तुका २२ संक्रमित उपचारका लागि बुटवल कोरोना अस्पतालमा

अमृता अनमोल

बुटवल — प्रदेश ५ को रुपन्देही र कपिलवस्तुमा  सोमबार  कोरोना भाइरसको  संक्रमण पुष्टि भएका २२ जनालाई नै थप उपचार र रेखदेखका लागि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएको छ ।

रुपन्देही र कपिलवस्तुका २२ संक्रमित उपचारका लागि बुटवल कोरोना अस्पतालमा

सुरुमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उनीहरुको चेक गरिएको थियो । यसपछि संक्रमितलाई अस्पताल र प्रदेश सरकारले चलाएको कोरोना विशेष अस्पतालमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

२२ जनामध्ये १७ जनामा कोरोना भाइरसका सामान्य लक्षणसमेत देखिएका छैनन् । उनीहरु सबै लकडाउनपछि भारतको मुम्बई सहरबाट सीमासम्म मालवाहक साधनमा आएका र चोरबाटो हुँदै यता छिरेका हुन् । तर, उनीहरुको यात्रा विवरण भने फरक–फरक छ । यससँगै बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको संख्या २८ पुगेको छ । ९ देखि १६ जनाको चिकित्सकीय टोली उपचारका लागि खटेको छ । अस्पतालमा ५० बेड छन् ।

प्रदेश ५ मा अहिलेसम्म संक्रमितको संख्या ५३ पुगेको छ । सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा ६ र बर्दियामा १ जना नयाँ संक्रमित पिएका हुन् । कपिलवस्तुमा थप सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन भन्दै सोमबार साँझदेखि जेठ ५ गतेसम्मका लागि जिल्ला सिल गरिएको छ । तर चोरबाटो हुँदै जिल्ला प्रवेश गर्नेलाई रोक्न सकिएको छैन ।

खुला सीमा क्षेत्रमा सुरक्षाकर्मीले मात्र नेपाल छिर्नेलाई रोक्न नसकेपछि स्थानीय तहको अगुवाइमा स्वयंसेवक खटाउनेबारे छलफल चलेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यता रुपन्देही प्रशाशनले भने दशगजा क्षेत्रमा अलपत्र परेकालाई पीसीआर परीक्षण गरेर सुरक्षित किसिमले गन्तव्यसम्म ल्याउने तयारी गरेको छ । जिल्ला प्रशाशन कार्यालयले स्थानीय तहको समन्वयमा क्वारेन्टाइनको क्षमता बढाउँदै गन्तव्यमा पुऱ्याउने तयारी थालेको हो ।

प्रकाशित : वैशाख ३०, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?