कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमाका क्वारेन्टाइनमा बस्ने सबैको पीसीआर

घनश्याम गौतम

रूपन्देही — सीमाबाट प्रवेश गर्ने नरोकिएपछि प्रदेश सरकारले सीमा क्षेत्रका स्थानीय तहका क्वारेन्टाइनमा बसेका सबैको पीसीआर परीक्षण गर्ने भएको छ । भारत र तेस्रो मुलुकबाट आएर क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्ने सबैको तथ्यांक संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले प्रदेशभर कम्तीमा २५ सय जनाको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यहीअनुसार तयारी गरिएको बताए ।

सीमाका क्वारेन्टाइनमा बस्ने सबैको पीसीआर

भारतसँग सीमा जोडिएका ६ जिल्लाका ६० बढी क्वारेन्टाइनमा अहिले १५ सयभन्दा बढी भारत र तेस्रो मुलुकबाट नेपाल भित्रिएकाहरू छन् । पहाडी जिल्लाका क्वारेन्टाइनमा स्वदेश र विदेशबाट आउनेहरू पनि छन् । लकडाउनपछि आएर क्वारेन्टाइन अवधि पूरा गरी होम क्वारेन्टाइनमा बस्नेको संख्या पनि १ हजारभन्दा बढी रहेको चौधरीले बताए । ‘बिहीबारसम्म प्रदेशका ५ सय ९७ क्वारेन्टाइनमा ६ हजार ३ सय २७ जना छन्,’ उनले भने, ‘तीमध्ये २५ प्रतिशतभन्दा बढी भारतबाट लकडाउन सुरु भएपछि लुकीछिपी आएका हुन्, तिनीहरूको पीसीआर परीक्षण गर्नैपर्छ ।’ त्यसबाहेक भारत र तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा बस्नेको पनि परीक्षण गर्ने तयारी भइरहेको उनले जनाए ।

रूपन्देहीका सीमा क्षेत्रका क्वारेन्टाइनमा बसेका ३ सय जनाको पीसीआर परीक्षणको तयारी भइरहेको छ । कोटहीमाई गाउँपालिका–१ का २५ वर्षे युवामा संक्रमण देखिएपछि त्यस क्षेत्रका क्वारेन्टाइन र सीमा नजिकका सबै क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्न लागिएको उनको भनाइ छ । संक्रमितको सम्पर्कमा आएका १ सय १४ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

त्यस्तै, बिहीबार कपिलवस्तुमा २ जनामा संक्रमण देखिएपछि शुक्रबारदेखि नै उनीहरूको पनि कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । ‘उनीहरू पनि दुवै जना क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्,’ उनले भने, ‘त्यसैले त्यहीअनुसार ट्रेसिङको काम सुरु गरेका छौं ।’ रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुमा थ्रोट स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने तयारी गरिए पनि आरएनए एक्स्ट्राक्सन किट अभावले ४ दिनदेखि परीक्षण ठप्प छ । शुक्रबार मात्रै नेपाली सेनाको हेलिकप्टरले आवश्यक किट ल्याएको उनले बताए ।

प्रदेश–५ मा तीन स्थान भैरहवा, दाङ र बाँकेमा आरटी–पीसीआर मेसिनमार्फत कोभिड–१९ को परीक्षण भइरहेको छ । प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीका अनुसार बिहीबारसम्ममा १ हजार ७ सय ८४ जनाको थ्रोट स्वाब संकलन गरिएकामा १ हजार ४ सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३ सय ३९ जनाको परीक्षणकै क्रममा छ । अहिलेसम्म प्रदेशमा २६ जनामा संक्रमण देखिएको छ । ‘३ जनाको बुटवलस्थित अस्थायी कोरोना अस्पताल र बाँकीको नेपालगन्जमा उपचार भइरहेको छ,’ गिरीले भने, ‘सबैको अवस्था सामान्य छ ।’ प्रदेशका ४ वटा आइसोलेसन अस्पतालमा शंकास्पद ४८ जना पनि उपचाररत छन् । प्रदेशभर ६ हजार ९९ जनाको आरडीटी परीक्षण गरिएको थियो ।

प्रकाशित : वैशाख २७, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?