रोल्पामा चट्याङबाट दुईको मृत्यु

काशीराम डाँगी

रोल्पा — चट्याङमा परी रोल्पामा दुई जनाको ज्यान गएको छ । बिहीबार पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिका वडा नं २ सिर्प गाउँका दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्रबहादुर पुन चट्याङमा परी मारिएका हुन् । पानी र हावाहुरीसँगै परेको चट्याङले छिमेकी रहेका ती दुईको ज्यान गएको हो । घरभित्रै परेको चट्याङबाट भीमबहादुर भान्छा कोठामा र पुन शौचालय जाने क्रममा मारिएका थिए ।

घटनाको स्थलगत अनुगमन समेत गरेका लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले अचानक परेको पानी र हावाहुरीपछि परेको चट्याङले दुई व्यक्तिको ज्यान जानु दुःखद् भएको बताए । घटनाको थप अनुसन्धान गर्न सिर्पस्थित प्रहरी चौकीबाट प्रहरी परिचालित गरिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए ।

चट्याङमै परी भीमबहादुरकी नातिनी घाइते भएकी छन् । शरीरमा फोका देखिएपछि स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ । चट्याङले एउटा बाख्राको पाठो पनि मारिएको छ ।

चट्याङबाट गाउँका अगुवा दुई जनाको ज्यान गएपछि गाउँ शोकमा डुवेको अध्यक्ष खड्काले बताए । गाउँपालिका र प्रहरीको पहलमा दुई वटै शवलाई पोष्टमार्टम गर्न प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पठाइएको प्रनाउ गुरुङले बताए । तत्कालका लागि राहत स्वरुप पीडित परिवारलाई गाउँपालिकाले २५/२५ हजार रकम प्रदान गरेको छ । पीडित परिवारले उक्त रकम किरिया खर्चमा प्रयोग गर्ने जनाएका छन् ।

प्रकाशित : वैशाख २५, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?