कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बाँकेकाे लकडाउन थप कडा, स्थानीयले आफै लगाए बाटोमा तगारो

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाँकेको लकडाउन थप कडा पारिएको छ । यसअघि बिहान र बेलुकातिर अत्यावश्यक वस्तु किनमेल गर्न भन्दै लकडाउनको अटेरी गरी बाहिर निस्कने सर्वसाधारण अहिले आफै घरभित्र सुरक्षित भएर बस्न थालेका छन् । नगरका टोलटोलमा स्थानीय आफैले बाटोमा तगारो बनाएर आवतजावत बन्द गरेका छन् । 

बाँकेकाे लकडाउन थप कडा, स्थानीयले आफै लगाए बाटोमा तगारो

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगन्जका मस्जिदमा सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

प्रहरीले लकडाउनमा थप कडाइ गर्दै औषधि पसल बाहेकका सबै पसल बन्द गराएको छ । शुक्रबार बिहान १० बजेदेखि नै प्रहरीले खाद्यान्न पसलसमेत बन्द गराएको छ ।

१७ गते नेपालगन्जको एकलैनीस्थित मस्जिदमा लिइएको ११ जनाको नमुनामध्ये ६० वर्षीय व्यक्तिमा कोरोना देखिएको हो । ती व्यक्ति सोही मस्जिदमा अजान पढन जाने गर्दथे । कोरोना देखिएका उनलाई अहिले खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषका परिवारका सदस्य, आफन्त तथा उनको सम्पर्कमा रहेका ८३ व्यक्तिहरुको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आइतबारसम्म आउने श्रेष्ठले बताए ।

नेपालगन्जको डीएसपी रोडमा घर भएका संक्रमित व्यक्ति वडा नं. ८ को अन्सारी टोलमा रहेको मस्जिद र मदरसामा दैनिक आवतजावत गर्थे । सो ठाउँलाई सिल गरिएको छ । प्रहरीले टोललाई डोरीले घेराबन्दी गरेर राखेको छ ।

शनिबारदेखि अन्सारी टोललाई क्वारेन्टाइनको रुपमा परिणत गरिएको छ । सुरक्षाकर्मीले चारैतिरबाट पहरा दिएका छन् । टोलभित्र कसैलाई जान दिइएको छैन भने टोलभित्रका मानिसलाई बाहिर सम्पर्क गर्नमा रोक लगाइएको छ ।

स्वाब लिएका घरपरिवार, आफन्त तथा दैनिक सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट आउने बेलासम्मका लागि टोललाई क्वारेन्टाइन बनाउनुका साथै वडा नम्बर ७ र ११ मा रहेका संक्रमितका परिवारका सदस्य र आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : वैशाख २१, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?