वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार- प्रदेश ५ - कान्तिपुर समाचार

वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार

मनोज पौडेल

कपिलवस्तु — यशोधरा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

बिहीबार राति साढे १ बजेतिर उनी सुतेको खाटलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । तर उनी उक्त खाटमा नसुतेका कारण बचेका छन् । उनलाई गोली लागेको छैन् । उनी पहिले तल्लो तल्लामा सुतेका थिए ।

‘राति ११ बजेतिर गाउँमा दुई जना व्यक्ति घर आसपास देखेपछि किन यति राति हिँडेको भनेर सोधें,’ अध्यक्ष सहाबुद्दिन मुसलमानले भने, ‘त्यसपछि आफूलाई शंका लागेर माथिल्लो तलामा गएर सुतेकाले बाँच्न सफल भएको हुँ ।’

राति साढे १ बजेतिर दुई जना व्यक्ति आएर उनी पहिले सुतेको भुर्इंतलाको ओछ्यानमा २ राउण्ड फायर गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले बताए । त्यसपछि ओछ्यानबाट कुनै प्रतिक्रिया नआएपछि भित्तामा दुई राउण्ड प्रहार गरेर फरार भएको उनले बताए । घटना संलग्न रहेको आशंकामा गाउँकै मोहम्मद हुसेन मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । अर्का भुलन पासी फरार रहेका छन् ।

प्रकाशित : वैशाख १९, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

जंगली जनावर मार्न थापेको पासोमा परेर एक गम्भीर घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको घुर्कौलीमा जंगली जनावर मार्न थापेको पासोमा परेर बिहीबार राति एक जना गम्भीर घाइते भएका छन् । खुट्टामा भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।


हरिवन नगरपालिका–५ घुर्कौलीका १८ वर्षीय राजेन्द्र महतोको घरमा बिहीबार घरायसी विवाद भएको थियो । त्यसै क्रममा महतोले आफ्नै भाउजुको टाउको समेत फुटाएका थिए । प्रहरी आएको खबर पाउनासाथ महतो बारीबाट भाग्ने क्रममा भरुवा बन्दुकको पासोमा पर्दा बन्दुकको छर्रा लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । खुट्टामा बन्दुकको छर्रा लागेका महतोलाई हरिवनमा समान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

बारीमा लगाइएको भरुवा बन्दुकको पासोको बारेमा महतोलाई जानकारी थिएन । बन्दुकको पासो कसले लगाएको भन्ने बारेमा पनि खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा अझै पनि जंगली वन्यजन्तुको चोरी सिकारी गर्नका लागि अवैध रुपमा रहेको भरुवा बन्दुकको पासो लगाउने गरिएको छ । कतिपय किसानले बाली जोगाउन खेतमा करेन्ट लगाउने, बाँसको भाटामा डोरी अथवा जाली लगाएर खेतबारी घेर्ने लगायतको उपाय अपनाउँदै आएका छन् ।

प्रकाशित : वैशाख १९, २०७७ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×