कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बेवारिसे बम विस्फोट, चार बालबालिकाले गुमाए ज्यान

घटनास्थल सुरक्षाकर्मीको नियन्त्रणमा, शव छेउमा विस्फोट नभएको अर्को बम भेटियो
काशीराम डाँगी

रोल्पा — बाख्रा चराएर जंगलबाट घर फिर्दै गरेका चार बालबालिकाको बम विस्फोटमा परी मृत्यु भएको छ । पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बस्ती नजिकको वनमा बिहीबार साँझ भएको विस्फोटमा घटनास्थलमै मृत्यु हुनेमा ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला केसी, १३ वर्षका नोखीराम डाँगी र १४ वर्षका गौरव नेपाली रहेको प्रहरीले जनाएको छ ।

बेवारिसे बम विस्फोट, चार बालबालिकाले गुमाए ज्यान

साबिकको गैरीगाउँ–५ गैरीगाउँ छेउमा भएको ग्रिनेड विस्फोटमा मृत्यु हुनेमा विमला र विजय दाजुबहिनी हुन् । त्रिवेणी–४ छेपगाउँका गौरव मामाघर आएका थिए । सबै बाख्रा चराउन जंगल गएर फर्कने क्रममा विस्फोटमा परेको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङले बताए । घटनास्थलमा गाउँलेसँगै प्रहरी र जनप्रतिनिधि पुगेका छन् ।

दुईमध्ये एउटा बम विस्फोट भएपछि चार जनाको शव क्षतविक्षत अवस्थामा भेटिएको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताए । प्रहरीले घटनास्थललाई घेरा हालेको छ भने सेनाको टोली पनि त्यहाँ पुगेको छ । राति शव उठाउन नसकिने र थप बम हुन सक्ने आशंकाले सेनाको डिस्पोजल टोलीसमेत पुग्ने तयारीमा रहेको वलीले बताए । उक्त गाउँ मैतिगातिना गाउँको तल्लो भेगमा पर्छ । तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादी वा सुरक्षाकर्मीले छाडेको बम बालबालिकाले भेट्टाएर खेलाउँदा विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ । एउटा ग्रिनेड बम पड्केको पाइएको छ भने टु इन्च मोर्टारको गोली पनि घटनास्थलमै पाइएको छ । सशस्त्र द्वन्द्वको अवधिमा उक्त गाउँमाथिको दुम्लामा तत्कालीन माओवादी लडाकु र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको थियो । त्यसबेला थुप्रैको हताहती भएको थियो ।

त्रिवेणी–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले भने, ‘घटनास्थल हेर्दा बम पड्केका बेला चारै जना एकैसाथ भएको अनुमान लाउन सकिन्छ ।’ तिलाबाट घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली पनि पुगेको छ । घटनास्थल रोल्पा सदरमुकाम लिबाङबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ । गैरीगाउँ सहिद मार्ग सडक नजिक र तत्कालीन माओवादी लडाकुको शिविर रहेको गैरीगाउँको तिलादेखि नजिक पर्छ । लडाकुको पाँचौं डिभिजनको मुख्यालय रहेको दहवनसमेत त्यहाँबाट एक घण्टा टाढा छ । गैरीगाउँमा प्रहरीले यसअघि पनि ठूलो मात्रामा हतियार, गोलीगठ्ठा र बम फेला पारेको थियो ।

प्रकाशित : वैशाख १८, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?