नवलपरासीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, ३ जना घाइते

नवीन पौडेल

परासी — पश्चिम नवलरासीको पाल्हिनन्दन भगतपुरमा सशस्त्र प्रहरी र स्थानीय समुदायबीच झडप हुँदा तीन जना घाइते भएका छन् । लकडाउनको समयमा बुधबार राति १० बजे स्थानीय र सशस्त्र प्रहरीबीचको विवाद चर्किएपछि लाठी चार्ज भएको थियो ।

नवलपरासीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, ३ जना घाइते

प्रहरीको लाठीचार्जबाट स्थानीय १० वर्षीय बालक अखिलेस गौड, १४ वर्षीय मुन्ना गौड र ६५ वर्षीय वृद्ध पूर्णबासी गौड घाइते भएको स्थानीय सुरेन्द्र गौडले बताए । ‘झुल लिनका लागि छिमेकीको घरमा गएको मानिसलाई सशस्त्र प्रहरीले हप्काउने र लाठीचार्ज गरेको हो,’ उनले भने, ‘लकडाउनको समयमा घरबाट निस्किएको भन्दै यसरी पिट्न पाइन्छ ? हामीले न्याय पाउनु पऱ्यो ।’ घाइतेहरुको हाल पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ ।

सशस्त्र प्रहरी २६ नम्बर गणका प्रहरी उपरीक्षक भरत खनियाँले भने मदिराको तस्करी भइरहेको सूचना पाएर रोक्न जाँदा विवाद भएको बताए । ‘लकडाउनको समयमा मदिरा तस्करी भएको सूचना पाएका थियौ । रोक्न जादा एकै पटक करिब २ सय जना मानिस बाहिर निस्किएर सुरक्षाकर्मीमाथि जाइलागेपछि प्रतिरक्षा गरिएको हो,’ उनले भने, ‘लकडाउनमा यसरी समूहमा निस्कन पाइँदैन । रातको समय भएकाले भागदौड गर्दा चोट लागेको हुन सक्दछ ।’

तर स्थानीयले भने प्रहरीले घरघरमा पसेर यत्तिकै लाठिचार्ज गरेको दाबी गरेका छन् । घाइतेको उपचार सशस्त्र प्रहरीले गर्नुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

प्रकाशित : वैशाख १८, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?