कोरोना नियन्त्रण गर्न प्रदेश ५ मा आयुर्वेद चिकित्सक परिचालन

रोगप्रतिरोधी क्षमता विकास गर्न जडीबुटीको उपयोग विधि सिकाइँदै
घनश्याम गौतम

रूपन्देही — सर्वसाधारण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा देखिएको कोभिड–१९ को त्रास र तनाव कम गर्न प्रदेश सरकारले आयुर्वेद चिकित्सक परिचालन गर्न थालेको छ । यसमार्फत घरवरिपरिकै जडीबुटीको प्रयोगबाट रोगप्रतिरोधी क्षमता बढाउने र तनाव व्यवस्थापनमा सघाउने उद्देश्य लिइएको छ ।

कोरोना नियन्त्रण गर्न प्रदेश ५ मा आयुर्वेद चिकित्सक परिचालन

सामाजिक विकास मन्त्रालयले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोभिड–१९ नियन्त्रण र व्यवस्थापन गर्न सन्दर्भ सामग्री २०७७’ जारी गरेको छ । यसमा रोगप्रतिरोधी क्षमता वृद्धिमा उपयोग हुने घरेलु जडीबुटी, त्यसको मात्रा र उपयोग विधि पनि समेटिएको छ ।

मन्त्री सुदर्शन बरालले कोरोना नियन्त्रणका लागि रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुपर्ने र त्यसका लागि घरवरपर उपलब्ध जडीबुटी नै उत्तम रहेको बताए । ‘पहिलो चरणमा कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मीसम्मलाई तनाव व्यवस्थापनको जरुरी छ,’ उनले भने, ‘आयुर्वेद चिकित्सा विज्ञानले योग र मेडिटेसनका माध्यमबाट तनाव व्यवस्थापनमा सहयोग गर्छ ।’ दोस्रो चरणमा घरेलु प्रविधिका जडीबुटीको उपयोगिता जानकारी गराउने उनले बताए ।

प्रदेश ५ मा एक आयुर्वेद चिकित्सालय, २ प्रादेशिक स्तरका अस्पताल, ८ जिल्ला तहका स्वास्थ्य केन्द्र र ३९ स्थानीय तहमा ५४ आयुर्वेद युनिट छन् । तिनमा २ सय ७३ प्राविधिक तहका स्वास्थ्यकर्मी र १५ चिकित्सक छन् ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेकालाई मनोवैज्ञानिक परामर्श र योग प्रशिक्षणका लागि जिल्लाबाटै मनोचिकित्सक एवं योग प्रशिक्षक खोजी गरेर खटाइनेछ । मन्त्रालयले जिल्ला स्तरका आयुर्वेद स्वास्थ्य केन्द्रलाई औषधि उपचार सामग्री र जनशक्ति व्यवस्थापन गर्न प्रतिकेन्द्र १ लाख रुपैयाँ उपलब्ध गराएको छ । बुटवल र दाङमा जडीबुटी प्रशोधन गरेर औषधि उत्पादन गर्ने काम अघि बढेको छ ।

मन्त्रालयको स्वास्थ्य महाशाखाका आयुर्वेद चिकित्सक पुष्पराज पौडेलका अनुसार कोरोना नियन्त्रणका लागि रोगप्रतिरोधी क्षमताको विकास गर्नु पहिलो उपचार हो । त्यसका लागि गुर्जो/चिनी लहरो, अमला, बेसार/हलेदो, तुलसी, भुइँ अमला उत्तम हुन्छ । ‘गुर्जोको दुई इन्च लामो टुक्रा पानीमा पकाएर सेवन गर्ने, एक गिलास दूधमा एक चम्चा बेसार राखेर नियमित सेवन गर्दा उत्तम हुन्छ,’ उनले भने, ‘अमलाको धुलो नियमित एक चम्चा, तुलसीको पात राखेको पानी सेवन गर्दा प्रतिरोधी क्षमता वृद्धि हुन्छ ।’ जेठीमधु, तेजपत्ताको बोक्रा, पिप्ला चपाइरहँदा पनि कोरोना नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।

प्रदेशका ५ सय ६३ क्वारेन्टाइनमा सोमबारसम्म १२ हजार ६५ जना छन् । उनीहरूसहित होम क्वारेन्टाइनमा रहेका सर्वसाधारण, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई उपयुक्त आहारविहार तथा घरेलु औषधिजन्य वनस्पतिको उपयोगबाट रोगप्रतिरोधी क्षमता बढाउन मनोचिकित्सक तथा योगप्रशिक्षक परिचालन गर्ने गरी व्यवस्थापन भइरहेको मन्त्रालयका सचिव गोपीकृष्ण खनालले बताए ।

मन्त्रालयले चालू वर्षको नीति कार्यक्रममा पनि आयुर्वेद चिकित्सा विज्ञानको प्रचारप्रसार गर्दै विश्वसनीय बनाउने उल्लेख गरेको थियो । प्रदेशमै जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने काम अघि बढेको छ ।

प्रकाशित : वैशाख १७, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?