१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रोल्पामा ६ हजारभन्दा बढी क्‍वारेन्टाइनमा

जिल्लाबाहिर अलपत्र परेका मजदुरलाई ल्याएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या देखिएको छ।
काशीराम डाँगी

रोल्पा — कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगाउन रोल्पामा ६ हजार ३ सय ८९ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। लकडाउनको अवधिमा बाहिरबाट आएकालाई अनिवार्य क्‍वारेन्टाइनमा राख्न स्थानीय प्रशासनले निर्देशन गरेअनुसार सबै स्थानीय तहले क्‍वारेन्टाइनमा राखेका छन् । स्थानीय प्रशासनका अनुसार लकडाउनअघि र पछिको समयमा जिल्लामा आउनेमा बढीजसो मजदुर रहेका छन् ।

इँटा उद्योग, पूर्वाधारका योजना र राजधानीमा भारी बोक्ने कामका लागि उनीहरु पुगेका थिए। लामो समय लकडाउन भएपछि उता बस्न असजिलो भएपछि मजदुरहरु घर फर्केका हुन्।

राजधानी लगायतका स्थानमा अलपत्र परेपछि रोल्पाबाट प्रतिनिधित्व गरेका सांसद र मन्त्रीले उनीहरुलाई घर पठाउन समन्वयात्मक भूमिका खेलेका थिए। ऊर्जामन्त्री वर्षमान पुन र सांसद जयपुरी घर्तीले मजदुरलाई गाडी खोजिदिएका थिए।

सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले एक साताको अवधिमा यातायातको साधनबाट रोल्पामा ५ हजार २ सय ३३ जना आइपुगेको बताए। तर कतिपय हिँडेर समेत आएकाले क्‍वारेन्टाइनमा राखिएकाको संख्या बढी भएको उनले बताए। वैशाख ५ गतेदेखि यातायातबाट रोल्पा आएको तथ्यांक राखिएको प्रशासनले जनाएको छ। त्यसअघि पनि रोल्पामा करिब २० हजार मजदुर घर फर्किएका छन्।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले क्‍वारेन्टाइनमा राख्न र उनीहरुको अवस्था बिग्रन नदिनेबारे सबै स्थानीय तहका पदाधिकारीसँग छलफल गरिएको बताए। प्रशासनको अगुवाइमा यसअघि २ सय ६६ जनालाई राख्न मिल्ने गरी क्‍वारेन्टाइन बनाइएको थियो। मानिसहरु बाहिरबाट फर्कन थालेपछि सबै तहले सबै वडाका विद्यालयलाई क्‍वारेन्टाइनमा रुपान्तरण गरेका छन्।

धमाधम पठाउँदा असहज

लकडाउनको अवधिमा पनि जिल्लाबाहिर अलपत्र परेका मजदुरलाई ल्याएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या देखिएको छ। मापदण्डअनुसार क्‍वारेन्टाइन बनाउन नसक्दा विद्यालय भवनको भुइँमै राखिएको छ। गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले अपेक्षा गरेभन्दा बढी मजदुर घर फर्किएकाले उनीहरुलाई व्यवस्थापन गर्न समस्या देखिएको बताए। गंगादेवमा भारत र काठमाडौं लगायतका स्थानबाट करिब १ हजार मानिसहरु आएको उनले बताए।

यस्तै पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिकामा पनि १ हजारभन्दा बढी मजदुर घर फर्किएका हुन्। उनीहरुलाई पनि विद्यालयको भवनमै राखिएको छ। गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले मापदण्डअनुसार क्‍वारेन्टाइन बनाउन तत्काल सम्भव नभएको बताए। रोल्पा नगरका विद्यालयमा पनि मजदुरलाई बसालिएको छ। नगर प्रमुख पूर्ण केसीले पछिल्लोपटक आएकालाई विद्यालयमा राखिएको बताए।


प्रकाशित : वैशाख १४, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?