कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मेडिकलबाट लागुऔषध विक्री

माधव अर्याल

पाल्पा — लकडाउनको मौका छोपी मेडिकलबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–७ बर्तुङस्थित सरस्वती मेडिकल हलकी सञ्चालक सरस्वती खनाल, छोराहरू प्रकाश र विवेक कार्कीलाई पक्राउ गरिएको हो ।

अवैध औषधि बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा मेडिकल हलमा रहेको भान्सा कोठाबाट ३ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै खनालको घरबाट घरबाट ट्रामाडाेल हाइड्रोक्लोराइड, क्याप्सुल आईपी ट्रामोल–५० बरामद गरिएको छ । यो क्याप्सुल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइन्छ । ११ वटा प्याकेटभित्र ३ हजार २ सय ९५ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।

अवैध औषधि विवेक सुत्ने कोठामा फेला परेको हो । तानसेन–४ होलाङ्दीमा ६ युवायुवतीले उक्त क्याप्सुल सेवन गरेको भेटिएपछि उनीहरूकै बयानका आधारमा प्रहरी मेडिकल हल पुगेको हो । घरमा खानतलासी गर्दा ठूलो परिमाणमा अवैध औषधि भेटिएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए । उनका अनुसार सिरकले ढाकेर प्रेसर कुकरभित्र लुकाएर राखिएको भेटिएको थियो । प्रहरी निरीक्षक श्रेष्ठ, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे, सूचना अधिकृत दुर्गा थापा, स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेलगायतको टोलीले छापा मारेको हो ।

प्रकाशित : वैशाख १४, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?