कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ : जोखिम उस्तै, लकडाउन ‘खुकुलो’ बन्दै

बजारमा चहलपहल, सडकमा मानिसको आवतजावत बढ्‍यो
घनश्याम गौतम

बुटवल — प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित शनिबारसम्म फेला परेका छैनन् । त्यसैले त्रास कम छ । भारत र तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेका र होम क्वारेन्टाइन बस्नेको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) जारी छ । पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण पनि भइरहेको छ ।

प्रदेश ५ : जोखिम उस्तै, लकडाउन ‘खुकुलो’ बन्दै

शुक्रबारसम्म प्रदेश ५ का १२ जिल्लामा २ हजार ९ सय ४ ९जनाको आरडीटी परिक्षण गरिएको छ । एक जनाको बाहेक सबैको रिपोर्ट नेगेटिभ छ । ३ सय ३७ जनाको थ्रोट स्वाब परीक्षण गरिएकोमा ३ सय ४ जनाको नेगेटिभ आएको छ । ३३ जनाको परीक्षण भइरहेको छ । आरडीटीमा पोजिटभ देखिएको एक जनाको पनि पीसीआरमा नेगेटिभ देखिएको छ ।

क्वारेन्टाइनमा रहेका ८ हजार २६ जनाको परीक्षण हुन बाँकी छ । कोराना संक्रमित भेटिएका गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशसँग प्रदेश ५ को सीमा जोडिएको छ । तीनवटै प्रदेशसँग आउजाउको सम्बन्ध बाक्लो छ । भारतसँग पनि प्रदेशअन्तर्गतका तराईका ६ वटै जिल्लाको सीमा जोडिएको छ । यस्तो अवस्थामा प्रदेश ५ का बुटवलसहित विभिन्न सहरमा अघोषित खुकुलो बन्दै गएका लकडाउन, सडकमा सवारी भीड र चहलपहलले जोखिम बढेको छ । किराना, तरकारी, खाध्यान्नदेखि मासु पसल खुल्न थालेका छन् ।

बुटवल उपमहानगरपालिकाले बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म किराना, तरकारी, दूध, फलफूल र औषधि पसल खोल्न दिने निर्णय ५ दिनअघि नै गर्‍यो । देशका विभिन्न सहरबाट पैदल यात्रा गर्दै घर पुग्न आएका पश्चिमी जिल्लाका मजदुर र सर्वसाधारणले पनि बुटवलमा भीडसँगै जोखिम बढाएको थियो । त्यसलाई व्यवस्थापन गर्ने क्रममा रूपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिकाले मजदुर र सर्वसाधारणलाई क्वारेन्टाइनमा राख्ने र खाना खुवाएर गन्तव्यसम्म पुर्‍याउनका लागि यातायातको व्यवस्थापन गरेर पठाए । उनीहरुको सामान्य स्वास्थ्य परीक्षण मात्र गरेर पठाइएकाले त्यसले पनि जोखिम निम्त्याएको छ ।

उपमहानगरपालिकाले पसल खोल्ने निर्णय गरेपछि सडकमा सवारी र भित्री सडकदेखि पसलसम्म सर्वसाधरणको भीड बढेको बुटवल उपमहानगरपालिका–११ कालिकानगरको प्रेमपथका दुर्गादत्त घिमिरेले बताए । उनका अनुसार साताअघिसम्म बिहानदेखि साँझसम्मै सडक सुनसान हुन्थ्यो । ‘पुरै बन्द हुँदा मन ढुक्क थियो,’ उनले भने, ‘बाहिर ननिस्के पनि अहिले डर लाग्न थालेको छ ।’ राजमार्गमा भन्दा भित्री सडक र चोकका पसलहरुमा बढी भीड देखिन्छ । पसलमा सामाजिक दूरी कायम गर्ने मापदण्ड बनाइएको छैन । मासु पसलमा अझ बढी भीड लाग्छ । तिलोत्तमा नगरपालिकाले पनि दिउँसो ११ देखि ३ बजेसम्म किराना र मासु पसल सञ्चालन गर्न दिने निर्णय एक साताअघि नै गरेको थियो । सर्वसाधरणले मास्क र सेनिटाइजर प्रयोग गरे पनि अन्य सावधानी अपनाएको देखिँदैन । पसल खुलेपछि दैनिक हुने आर्थिक कारोबारमा प्रयोग गरिने पैसाबाट पनि जोखिम बढ्दै गएको छ ।

बुटवल उपमहानगरपालिकामा तरकारी बिक्रीका लागि ठेलालाई सूचीकृत गरी परिचालन गरिएको छ । ठेलामा अधिकांश भारतीय तरकारी आउने गरेको छ । भारतीय तरकारी लिएर आउने ट्रकका चालक र सहचालकको कतै स्वास्थ्य परीक्षण हुँदैन । नाकामा सामान्य ज्वरो नाप्ने गरे पनि अनि अन्य सावधानी र स्वास्थ्य परीक्षण नहुने गरेकाले त्यसबाट पनि जोखिम बढिरहेको र त्यसतर्फ सुरक्षा निकाय र स्थानीय सरकारले सजगता अपनाउनु पर्ने प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदकुमार गिरीले बताए । ‘हामीले पर्याप्त सजगता अपनाउन सकेका छैनौं,’ उनले भने, ‘नाकाको व्यवस्थापनमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र स्थानीय सरकारले सहयोग गर्नु जरुरी छ ।’

प्रदेश ५ का ठूला बजार रहेका दाङ र बाँकेमा पनि अवस्था उस्तै छ । नेपालगन्ज र कोहलपुरमा पनि दिउँसोमा किनमेलका नाममा भीड लाग्ने गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार त्यहाँ हरेक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म किराना, तरकारी र मासु पसल खुल्ने गरेका छन् । व्यवसायीले उपभोक्ताका लागि सामाजिक दूरी कायमको व्यवस्थापन गरेका छैनन् । राजमार्ग सुनसान देखिए पनि भित्री गल्लीमा बाक्लो आवतजावत हुने गरेको छ । दाङमा भने अन्य दुई ठूला सहरको तुलनामा कडाइ गरिएको छ । लमही, भालुबाङ, घोराही र तुलसीपुरमा एउटै मापदण्ड बनाइएको छ । सातामा तीन दिन त्यो पनि बिहान ९ बजेसम्म मात्र अत्यावश्यक पसल खुल्ने गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक महिनाको अवधिमा प्रदे भर संक्रमित नदेखिए पनि जोखिम उत्तिकै रहेको बताए । उनका अनुसार सरकार निरन्तर नियन्त्रणको प्रयासमै छ । सम्भावित जोखिमका लागि चार कोरोना उपचार अस्पताल र तीन प्रयोगशाला स्थापना गरिएको उनले बताए । ‘अहिलेसम्म नियन्त्रणमा राख्दै, भोलिको सम्भावित जोखिमका लागि पनि व्यवस्थापन गर्दै छौं,’ ‘केही स्थायी र केही अस्थायी पूवर्धार तयार भएका छन् ।’ अहिले क्वारेन्टाइनमा रहेकाको आरडीटी र पीसीआर परिक्षण भइरहेको उनले बताए ।

प्रदेश ५ का निमित्त प्रहरी प्रमुख नरेश केसीले लकडाउन खुकुलो नभएको बताए । ‘कतै फाट्टफुट्ट सवारी र मान्छे हिँडेका हुनसक्छन्,’ उनले भने, ‘तर, खुकुलो भएको छैन ।’ अत्यावश्यक काममा बाहेक घर बाहिर निस्केमा प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको उनले बताए । एक महिनाको अवधिमा १ हजार २ सयभन्दा बढी सवारी साधन कारबाहीमा परेको उनले बताए ।

प्रकाशित : वैशाख १३, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?