कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किसानलाई ५७ करोडको राहत प्याकेज ल्याउँदै प्रदेश ५ सरकार

अमृता अनमोल

बुटवल — लकडाउनका कारण धेरै किसानले फसल बजारमा पुऱ्याउन सकेका छैनन् । यसले धेरै क्षति बेहोरेका छन् । तिनै किसानलाई मध्यनजर गरी प्रदेश ५ सरकारले  ५७ करोड रुपैयाँको राहत प्याकेज ल्याउने तयारी गरेको छ ।

किसानलाई ५७ करोडको राहत प्याकेज ल्याउँदै प्रदेश ५ सरकार

त्यसका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लगत संकलनको काम थालेको मन्त्री आरती पौडेलले बताइन् । मन्त्री पौडेलका अनुसार प्रतिकूल परिस्थितिमा दुग्ध उत्पादक, अण्डा, चल्ला र कुखुरा उत्पादक लगायतका किसानहरु बढी मारमा छन् । यसर्थ पहिलो चरणमा उनीहरुलाई लक्षित गरी ५७ करोड रुपैयाँको राहत प्याकेज ल्याउने तयारी गरिएको हो । राहत प्याकेज उत्पादन र क्षतीका आधारमा सिधै किसानमा पुऱ्याइने छ ।

यसअघि प्रदेश ५ को कृषि, वन तथा वातावरण समितिको बुधबार बैठक बसेको थियो । बैठकमा समिति सदस्यहरुले किसानलाई राहत हुने खालका राहत प्याकेज ल्याउन आग्रह गरेका थिए । समितिका सदस्यहरुले खेतीको मौसम नजिक आएको हुँदा मल, बीउ र कीटाणुनाशक औषधि बिक्री गर्ने पसल तथा एग्रोभेट लकडाउनको अवधिमा समेत खुल्ला गर्नुपर्ने, धानको बीउ, मललगायतका अत्यावश्यक बस्तुको सरल र सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । महामारीका बेला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयपनि फ्रन्टलाइनमा आएर काम गर्नुपर्ने, कम उत्पादन र भारतबाट खाद्यान्न रोकिएमा खाद्य संकट सिर्जना हुने परिस्थिति हुन नदिन मन्त्रालयले गाइडलाइन जारी गर्नुपर्ने, फौजी किराको प्रकोप र असिना पानीले पीडित किसानलाई समेत उपलब्ध गराउन निर्देश गरेका थिए ।

त्यसको जवाफमा मन्त्री पौडेलले स्थानीय कृषि उत्पादन, वितरण, बजार व्यवस्थापन र पीडित किसानलाई राहत वितरणको कार्य अझै प्रभावकारी बनाउने विषयमा समेत तयारी भएको जानकारी दिएकी थिइन् ।

प्रकाशित : वैशाख १२, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?