३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लकडाउनमा महिला असुरक्षित : २६ दिनमा २० बलात्कारका घटना

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — गत चैत १२ गते रुपन्देहीको कन्चन गाउँपालिकाकी १४ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी भयो । किशोरीमाथि करणीमा सलंग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जनाएको छ ।

लकडाउनमा महिला असुरक्षित : २६ दिनमा २० बलात्कारका घटना

गत चैत २९ गते रुपन्देहीकै गैडहवा गाउँपालिकामा आफ्नै बाबुबाट १५ वर्षीया किशोरी बलात्किृत भइन् । परिवारले घटना साम्य पार्न खोजे । तर, वैशाख २ गते घटना सार्वजनिक भएपछि फरार आरोपी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । गत वैशाख ३ गते प्रलोभनमा पारेर १५ वर्षीयालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परे । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

कोभिड–१९ को जोखिम कम गर्न मुलुकभर ‘लकडाउन’ घोषणा गरिएका बेला महिला असुरक्षित पाइएको छ । प्रदेश ५ का आठ जिल्लामा लकडाउनको २६ दिनसम्म २० महिला जबर्जस्ती करणीमा परेका छन् । पूर्वी रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेकका जिल्लामा यस्ता घटना भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेलले बताए । ‘प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा ६ वटा बलात्कारका घटना भएका छन,’उनले भने, ‘कपिलवस्तुमा ४, बाँकेमा ३, रोल्पामा २, गुल्मीमा २, बर्दिया, प्‍यूठान र नवलपरासीमा १/१ गरी २० यस्ता घटना भएका हुन् ।’

त्यसअघि फागुनमा प्रदेशभरि ३५ वटा बलात्कारका घटना भएको प्रदेश प्रहरीको तथ्यांक छ । डीएसपी पोखरेलका अनुसार लकडाउन अवधिमा भएका घटनामा आफन्त र छिमेकी संलग्न रहेको पाइएको छ । कोरोना भाइरसका कारण अहिले मानिसका गतिविधि ठप्प छन् । यस्ता संकटका बेला मानिसको मानसिकता अव्यवस्थित रहने भएकाले विकृत खालका घटना बढने गरेको समाजशास्त्री बलबहादुर पाण्डेले बताए । ‘यस्तो बेला मानिसको ध्यान धेरै विषयमा केन्द्रित हुनेगर्छ, उनले भने, ‘आफूमा विकास भएका अनेक विचारलाई व्यवस्थित गर्न नसक्दा व्यक्ति अपराधमा संलग्न हुन्छ ।’ अहिले समय व्यतित गर्न मानिस इन्टरनेट, सामाजिक सञ्जालमा निर्भर देखिन्छन् । लकडाउन अवधिमा मात्र नभएर विगतमा विश्वयुद्ध, भूकम्प जस्ता जोखिमका बेला समेत बलात्कार, हिंसाका घटना बढेको देखिएको उनले बताए । तनाव व्यवस्थापन गर्न नसक्दा विकृतीका क्रियाकलापमा ध्यान जाने पाण्डेले बताए ।

महिला अधिकारकर्मी रीमा बीसीले परिवारसँगै रहेका बेला पनि यस्ता घटना बढेकोमा आश्चर्य व्यक्त गरिन । ‘लकडाउन, बन्द हो, यो समयमा यस्ता घटना नहोलान् भन्ने सोच थियो,’उनले भनिन्, ‘अघिपछिका भन्दा दर्दनाक घटना पाइएका छन् ।’ पिता, छिमेकी, परिवारकै सदस्यबाट महिला जबर्जस्ती करणीमा परेका फोन आउने गरेको उनले बताइन् । अघिपछि घटनाको जानकारी पाउनेबित्तिकै सम्बन्धित स्थलमा पुग्ने गरेको भए पनि अहिले लकडाउनले गर्दा पीडितलाई प्रत्यक्ष भेट्न नपाएको बताइन ।

यस्ता बेला फोनबाट परामर्श दिने, सहयोग गर्ने, गुनासो सम्बन्धित निकायमा पुर्‍याउने काम गरिरहेको बीसीले बताइन् । अधिकारकर्मीले तालिम आयोजना गरेर अधिकारका कुरा सिकाए पनि महिलालाई दायित्व र कर्तव्यबारे चेतना नदिँदा यस्ता घटनाले स्थान पाइरहेको उनले बताइन । सामाजिक सञ्जालको प्रभावले करणीका घटना बढेको हुनसक्ने उनको भनाइ छ । एकहोरो सामाजिक सन्जालमा घोरिरहने र त्यसबाट नराम्रा विषयमा प्रेरित भएको पाइएको उनले जनाइन् । अहिले परिवार–परिवारबीच सम्पर्क टुटेको छ । एउटा घरमा भएको घटना अर्कोमा जानकारी हुँदैन । सबै घरभित्र केन्द्रित भएकाले टोल, छिमेकमा के घटना भइरहेको छ भन्ने समेत जानकारी हुँदैन ।

लकडाउनको अर्थ बुझेर घरमै अविभावकसित बस्नु यस्ता घटनाबाट जोगिने उपाय भएको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले बताए । ‘गाईवस्तु चराउँदा होस् वा अन्य कामले घर बाहिर निस्कनु परे अभिभावकलाई साथै लिएर जानु बेस हुन्छ,’उनले भने, ‘परिवारकै सदस्य यस्ता क्रियायाकलाप संलग्न भएको पाइन्छ । त्यसको कारण कतिपयलाई के गर्न हुने/नहुने चेतना नै नभएर हो ।’ महिलाले आफू समस्यामा परेको कुरा लुकाउँदा पनि यस्ता घटना बढेको उनले बताए । आफ्नो समस्या अभिभावक या प्रहरीसँग राख्ने साहस महिलामा आउनु जरुरी रहेको पोख्रेलले बताए ।

यही अवधिमा प्रदेशभरि ११ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएको प्रवक्ता पोखरेलले बताए । उनका अनुसार घरेलु हिंसाका उजुरी धेरै आएका छन् । त्यस अनुसार मुद्दा दर्ता हुन सकेका छैनन् । सबैभन्दा धेरै बाँके र दाङमा ४/४ वटा, रोल्पामा २ वटा र पाल्पामा १ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् ।

लकडाउनका बेला सबैभन्दा धेरै आत्महत्याका घटना भएका छन् । प्रदेशका पाल्पा र बाँके बाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा ९ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा ६ जना र कपिलवस्तुमा ४ जनाले आत्महत्या गरेका छन् । नवलपरासीमा ३ जना, अर्घाखाँची र रुकुममा २/२ जना, गुल्मी, बर्दिया, रोल्पा र प्‍यूठानमा १/१ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ ।

प्रकाशित : वैशाख ८, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?