१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राहतमा स्थानीय उत्पादन नै दिइने

हरि गौतम

रुकुमपूर्व — पुथाउत्तरगंगा गाउँपालिकाले लकडाउनले मर्कामा परेका विपन्नलाई स्थानीय स्तरमै उत्पादित खाद्यान्न राहत दिने भएको छ । यसका लागि पालिकाले वडा कार्यालयमार्फत मकैको लगत संकलन गर्न थालेको छ ।

राहतमा स्थानीय उत्पादन नै दिइने

‘विपन्न र ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूलाई स्थानीय स्तरमै उत्पादिन खाद्यान्न वितरण गर्ने योजना कार्यपालिकाले बनाएको छ,’ प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले भने, ‘त्यसैले मकैको मौज्दात के कति छ भनेर घरघरै पुगेर तथ्यांक संकलन भइरहेको हो ।’

संघीय सरकारले बनाएको मापदण्डअनुसार राहत वितरणका लागि स्थानीय स्तरमा पर्याप्त चामल नभएको तथा ढुवानीमा समेत असजिलो हुने भएपछि मकै दिने तयारी गरिएको उनको भनाइ छ । हाल प्रायजसो बस्तीमा घोगाबाट मकै निकालिसकिएको छैन । त्यसैले कुन घर र बस्तीबाट कति मकै आउँछ भन्ने विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

त्यस क्षेत्रमा ४ मानाको एक पाथी हुन्छ । प्रतिपाथी ६० देखि ८० रुपैयाँमा मकै खरिदविक्री हुने गर्छ । अहिल्यै राहत वितरण गर्नुपर्ने अवस्था नआएको निष्कर्ष पनि कार्यपालिका बैठकले निकालेको अधिकृत बुढाक्षेत्रीले बताए । अन्यत्रैबाट कामकाजका क्रममा आएर लकडाउनमा अल्झेका ८ जनालाई गाउँपालिकाले खानेबस्ने व्यवस्था गरिदिएको छ । सँगसँगै विपन्न तथा ज्याला मजदुरी गर्नेहरूको विवरण पनि संकलनको काम भइरहेको छ । यद्यपि हालसम्म मापदण्डले भने अनुसार कोही पनि त्यस्तो घरधुरी नभेटिएको गाउँपालिकाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा उपचारका लागि विपद् कोष पनि तयार पारिएको छ । विपद् व्यवस्थापन कोषबाट कोरोना कोषमा १० लाख, अन्य सहयोगीको सहयोग तथा कार्यान्वयन हुन नसक्ने योजनाबाट ३५ लाखजति राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगरले बताए ।

प्रकाशित : वैशाख ८, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?