कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

लकडाउनमा ‘कृषि एम्बुलेन्स’ मार्फत तरकारी बिक्री

माधव अर्याल

पाल्पा — कोरोना भाइरस (कोभिड- १९)को संक्रमण फैलिन नदिन लागु गरिएको लकडाउनका क्रममा किसानले उत्पादन गरेको तरकारी खेर नजाओस् र उपभोक्तालाई अभाव नहोस् भनेर तानसेन नगरपालिका अन्तर्गत गठित तानसेन युवा परिषद्ले आइतबारदेखि ‘कृषि एम्बुलेन्स सेवा’ सुरु गरेको छ ।

लकडाउनमा ‘कृषि एम्बुलेन्स’ मार्फत तरकारी बिक्री

प्रदेश नम्बर ५ सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको निर्देशनपछि तत्कालै यो सेवा सुरु गरिएको हो ।

किसानको उत्पादनलाई बजार लैजान ‘कृषि एम्बुलेन्स सेवा’ सुरु गरेको तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताए । उनका अनुसार आइतबार तानसेनमा दुई पिकअप जीपमा २ हजार ५ सय किलो तरकारी कृषि एम्बुलेन्सबाट ल्याएर बिक्री गरी त्यसको सुरुवात गरिएको हो । यो सेवाबाट ६ सय परिवार लाभान्वित भएका छन् । किसानको उत्पादनलाई बजारसम्म लैजानका लागि प्रदेश सरकारले सहजीकरण गरेको र त्यसबाट बजारमा बसेका बासिन्दालाई पनि राहत पुग्ने प्रदेश ५ प्रदेश सभा सदस्य नारायण आचर्यले बताए ।

तानसेन नगरपालिका–९, टिन्टीआँपस्थित मदनपोखरा संगम कृषि सहकारी संस्था र तानसेन नगरपालिकाको समन्वयमा युवा परिषद्ले बिक्री वितरण व्यवस्थापन गरेको छ । उक्त कृषि एम्बुलेन्सबाट तानसेन बजारका विभिन्न क्षेत्रमा सेवा दिने बताइएको छ ।

मदनपोखरा संगम कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज न्यौपानेले किसानको उत्पादनलाई लागत उठ्ने गरी भएपनि बिक्रीको प्रबन्ध मिलाएको बताए । ‘लकडाउनले गर्दा ठूलो समस्या खेप्नु परेको थियो । यसले राहत दिएको छ,’ उनले भने । किसानले तरकारी उत्पादन गरे पनि बिक्री गर्न नपाएको अवस्थामा यस्तो विधि अपनाउँदा सहज भएको उनको भनाइ थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन जारी गरेपछि किसानले तरकारी बिक्री गर्न र उपभोक्ताले तरकारी खरिद गर्न समस्या थियो ।

तरकारीको मूल्य सहकारीले निर्धारण गरेअनुसार नै भएको किसान चिन्तामणी भट्टराईले बताए । उनका अनुसार यसरी बिक्री गर्दा किसानलाई थोरै भए पनि राहत पुगेको छ । तानसेन, कुन्सरेका किसान नुरदेव पौडेलले तरकारी सुकाएर फाल्नुपर्ने अवस्था आएको भन्दै कृषि एम्बुलेन्स मार्फत बिक्री गर्दा किसानको लागतसम्म उठ्ने बताए ।

प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तु ढुवानीका लगि ‘कृषि एम्बुलेन्स’ संचालन गर्ने निर्णय गरेको थियो ।

पाल्पाको तानसेन टुँडिखेलमा कृषि एम्बुलेन्स सेवामार्फत् किसानको तरकारी बिक्री गरिँदै ।

प्रकाशित : वैशाख ८, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?