२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

स्थानीय टिभीबाट एसईई तयारी कक्षा 

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मी तम्घासस्थित सिद्धबाबा माविबाट एसईई दिने कोपिला पाण्डेले हरेक दिन टेलिभिजनबाट गुरुले पठाएको पाठ ध्यानपूर्वक हेर्छिन्। हातमा कापी, किताब र पेन लिएर  बेलुका ७ देखि १० बजेसम्म अर्घाखाँचीको एक स्थानीय टेलिभिजन च्यानलबाट प्रशारण हुने एसईई तयारी कक्षाको पढाई सुन्छिन् र कापीमा नोट गर्छिन्। 

स्थानीय टिभीबाट एसईई तयारी कक्षा 

७ देखि ८ बजेसम्म विज्ञान, त्यसपछि ९ बजेसम्म अंग्रेजी र १० बजेसम्म गणित विषयको पढाई हुन्छ । अर्कोदिन बिहान ७ बजेदेखि पुनःप्रशारण हुन्छ । दिनभर शिक्षकले क्यामरामा रेकर्ड गर्छन् । अनि सम्पादन गरी बेलुका प्रशारण हुन्छ । शिक्षकले कक्षामा पढाएजस्तै मार्करले साइनबोर्डमा एसईईमा आउने संभावित प्रश्नको उत्तर लेख्ने र भनिदिने गर्छन् । छत्रदेव गाउँपालिकाले सञ्चालन गरेको टेलिभिजन कक्षाको पढाइको दृश्य हेर्न तम्घासबाट पाण्डे छत्रदेवको अर्घातोष आएकी छन्। पुरानो घर अर्घातोषमा हजुरबाबा र हजुरआमासँग बसेर पढिरहेको उनले बताइन् ।

कोरोनाको कारण परीक्षाको अघिल्लो दिन सरकारले जाँच स्थागित गरेपछि अन्योल भएको थियो । ‘परीक्षा कहिले हुने हो थाहा छैन, पढेको बिर्सिदैछ, रातीमा निद्रा लाग्दैन, चिन्तित भैरहेका बेला टेलिभिजनको कक्षा पढ्न पाउँदा धेरै खुसी लाग्यो’ उनले भनिन् ।

ठूलापोखराका सुजल पाण्डेले टेलिभिजनको पढाइले बिर्सेका प्रश्नका उत्तर पुनःस्मरण भएको बताए । ‘घरमा बस्दा पढेको बिर्सिदो रहेछ, टेलिभिजनको पढाई कक्षाकोठामा जस्तै स्पष्ट बुझिएको छ’, उनले भने । प्रशारण गरेर भ्याएपछि विद्यार्थीले शिक्षकलाई फोन र फेसबुक म्यासेन्जरबाटै थप जिज्ञासा, प्रश्नहरु सोध्ने गर्छन्।

सरकारीमा नेपाली भाषामा पढाई हुन्छ । ‘यहाँ बोडिङका विद्यार्थीले अंग्रेजीमा पढाइदिन भनेपछि दुवै भाषमा विज्ञान विषय पढाएको छु’ सरस्वती मावि सुर्यथुमका शिक्षक दीपक अर्यालले भने । पढिसकेपछि विद्यार्थीले राखेको जिज्ञासा अर्को दिन उत्तर दिइन्छ । टेलिभिजनमा प्रशारण भएपछि फेसबुकमा पनि शिक्षकले राख्छन् ।

महेन्द्र विद्याबोध मावि बल्कोटका अंग्रेजी शिक्षक प्रकाशमणि घिमिरे परीक्षा केन्द्रित भएर पढाएको बताए । किताबका पाठसँगै विद्यार्थीलाई भोक जगाउने खालका प्रश्नोत्तर सहित विषयवस्तु पढाइने उनले जनाए । ‘शुरुको दिनमा कसैले फोन गरेनन्, त्यसपछि पढाई सकिएपछि लगातार विद्यार्थीले फोन गरेर जिज्ञासा राख्छन्’, उनले भने । सार्वजनिक माविका शिक्षक प्रेमनारायण पाण्डेले गणित विषय पढाउँछन् ।

वैशाख १ देखि कक्षा सञ्चालन भैरहेको छ । छत्रदेवका सबै घरमा विद्युत सुविधा छ । अधिकांशका घरमा टिभी जडान छ । नभएका घरमा रहेका विद्यार्थीलाई अर्को घरमा बसेर पढने व्यवस्था गरिएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए । विद्यार्थी पढेका कुरा बिर्सन सक्ने भएकाले हाललाई तीन वटा विषयलाई टेलिभिजनबाटै पठनपाठन शुरु गरिएको उनले बताए ।

छत्रदेवमा ४ सय ५० विद्यार्थी एसईई दिने छन् । मालारानी गाउँपालिकाको १ र २ वडाका गाउँका विद्यार्थीले पनि फाइदा लिएका छन् । शीतगंगा नगरपालिकाले पनि ठाडामा रहेको शीतगंगा एफएमबाट कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । ‘आन्तरिक तयारीमा छौं, दुई दिन भित्रमा एफएमबाट पढाई शुरु हुन्छ, स्कुलमा पढेको पढाई सम्झना रहिराखोस भनेर पढाउन थालिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले भने ।

प्रकाशित : वैशाख ६, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?