कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गुल्मी र अर्घाखाॅचीमा धमाधम राहत वितरण 

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मी र अर्घाखाॅची जिल्लाका ग्रामीण भेगमा बस्ने अति गरिब तथा विपन्न एवं दैनिक मजदुरी गर्ने परिवारलाई स्थानीय तहले धमाधम रातह वितरण गरेका छन् । हिउँदेबाली नभित्राउँदासम्म लकडाउनका कारण काम गर्न नपाउँदा घरमा खाद्यवस्तु सकिएका परिवारलाई राहत वितरण गरिएको हो ।

गुल्मी र अर्घाखाॅचीमा धमाधम राहत वितरण 

अर्घाखाँचीका ६ स्थानीय तहमध्ये २ र गुल्मीका १२ मध्ये छ तहले वितरण गरिरहेका छन् । अर्घाखाँचीका १७ सय ५३ र गुल्मीका ४ हजार ६ सय ५१ जना लकडाउनका कारण काममा जान नसक्ने अति विपन्न र दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत वितरण गरिएको हो ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले २ जनासम्मको परिवारलाई १० किलो चामल, तेल, दाल, नुन एक–एक किलो, ४ जनासम्मको परिवारलाई २० केजी चामल, साढे १ किलो दाल र साढे १ लिटर तेल, एक किलो नुन वितरण गरिएको छ । ५ जना र त्यो भन्दा धेरै परिवारलाई चामल ३० किलो, २ किलो दाल, २ लिटर तेल, १ किलो नुन राहत स्वरुप पहिलो चरणमा वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए । अहिलेसम्म १ हजार १ सय ९३ जनाले राहत पाएको उनले बताए ।

लकडाउनका कारण उद्योग, व्यावसाय र निर्माणका काम ठप्प भएकाले त्यहाँ काम गर्ने मजदुरलाई तत्काल छाक टार्न थोरै भएपनि राहत दिएको उनको भनाइ छ । दोस्रो चरणमा मजदुरी गर्ने बाहेक अन्यलाई राहत वितरण गरिने उनले बताए ।

पाणिनि गाउँपालिकाले ५ सय ६० घरपरिवारलाई राहत वितरण गरेको छ । ७ किलो चामल, नुन र दाल एक/एक किलो, दुई किलो आलु, एक लिटर तेल, साबुन कपडा धुने दुई र नुहाउने एक वटा वितरण भइरहेको पालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिए ।

शीतगंगा र भूमिकास्थान नगरपालिकाले वडाअध्यक्षबाट तथ्यांक संकलन गर्दैछन् । मालारानी र छत्रदेव गाउँपालिकाले राहत वितरणको मापदण्ड बनाउँदैछन् । शीतगंगा नगरपालिका–१४ स्थित वाणगंगा सामुदायिक वन उपभोक्ता समुहले ८० जना उपभोक्तालाई चामल, दाल, नुन र तेल वितरण गरेको छ ।

गुल्मीको मदाने गाउँपालिकाले राष्ट्रिय मापदण्ड अनुसार राहत वितरण गरेको छ । ७ सय ७० जना विपन्न र मजदुरका परिवारलाई पालिकाले राहत वितरण गरेको हो । एक परिवारलाई ३० किलो चामल, तीन किलो दाल, दुई लिटर तेल, चारवटा साबुन, दुई किलो चिनी दिइएको पालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।

रेसुंगा नगरपालिकाले ४ सय ९१ जना परिवार, धुर्कोट गाउँपालिकाले ५ सय ८१, मालिका गाउँपालिकाले ५ सय ७१, गुल्मीदरवार गाउँपालिकाले ६ सय २६, छत्रकोट गाउँपालिकाले ४ सय ८२ जनालाई राहत वितरण गरेको जनाएका छन् । कालीगण्डकी गाउँपालिकाले ३ सय १० जना परिवारलाई राहत वितरण गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले खाद्यान्य खरिद प्रक्रिया जारी रहेको जानकारी दिएको छ ।

मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटाले वडाबाट राहत दिने घरपरिवारको लागत संकलन गरिसकेको बताए । दुई हजार ९७ जना परिवार मध्ये ८ सय २० परिवारले राहत पाएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २८, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?