कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु भन्छन्- 'निस्केपछि के गर्ने?'

'आफ्नो गाउँमा आएपछि रोगबाट त बचियो भन्ने लागेको छ। अबको चिन्ता परिवार कसरी पाल्ने भन्ने नै हो’
गिरुप्रसाद भण्डारी

प्यूठान — ऐरावती गाउँपालिका–१, दाङबाङका मोहन र छमा गाहामगर दम्पती भारतको गान्दीयाबादमा बस्थे। चियानास्ताको होटल चलाएर उतै बस्न थालेको १२ वर्ष पुग्यो।

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु भन्छन्- 'निस्केपछि के गर्ने?'

भारतमा कोरोनाको त्रासका कारण लकडाउन भएपछि उनीहरुले जन्मथलो नेपाल फर्कने निधो गरे। तीन दिन हिँडेर कृष्णनगर नाका हुँदै चैत १७ गते उनीहरु नेपाल भित्रिए। १९ गतेसम्म दुई दिन कृष्णनगरको क्वारेन्टाइनमा बसेर दाङबाङ आइपुगे। गाहा परिवारसहित दाङबाङका १० जनालाई कृष्णनगरबाट गाउँपालिकाले उद्धार गरेको थियो।


उनीहरु हाल गाउँपालिकाले दाङबाङ माविमा निर्माण गरेको क्वारेन्टाइनमा छन्। यहाँ गाउँपालिकाले खान र बस्नको व्यवस्था गरेको छ। स्वास्थ्यकर्मीले रेखदेख गरेका छन्। सुरक्षा व्यवथासमेत मिलाइएको छ।

‘अहिले हामीलाई खानबस्न कुनै चिन्ता छैन,’ छमाले भनिन्, ‘हाम्रो हेरचाह पालिकाले राम्रै गरेको छ। हामीलाई चिन्ता त क्वारेन्टाइनमा बस्ने अवधि सकिएपछिको पो छ त।’ उनले क्वारेन्टाइनपछि साना छोरीहरुसँग कहाँ गएर बस्ने, के खाने भन्ने चिन्ताले सताउने गरेको बताइन्। ‘रोग नलागेपछि त बाँचिएला,' उनले भनिन, ’पछि भोकबाट कसरी बाच्ने भन्ने चिन्ता बढ्दै छ।’


बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको स्वास्थ्य टोली दाङबाङ पुगेको थियो। १४ दिन मात्र बसेर नपुग्ने भन्दै २१ दिनसम्म बस्नुपर्छ भनियो। क्वारेन्टाइनमै दुई/चार दिन थप बस्न पाइएकोमा राहत नै मिलेको उनीहरुले बताए। ‘वर्षौं लगाएर जोरेका लत्ताकपडा भाँडाकुडा सबै यतिकै उतै छाडेर हिड्नपर्‍यो,’ मोहनले भने, ‘यहाँ घरमा बस्ने र खानेको कुनै ठेगान छैन।’


घरमा दुई महिना खान पुग्ने जग्गा पनि छैन उनीहरुसँग। होटलको कमाइले उताको दिनचर्या राम्रै चलेको मोहनले बताए। छोरीहरुलाई पनि उतैको विद्यालय भर्ना गरिदिएका थिए। भारतमै जन्मिएका ७ र ६ वर्षका छोरीहरु पनि सँगै आएका छन्।

‘व्यवसाय बन्द गरेर एक्कासि आइयो। यताको खासै मेसो पाइँदैन,’ उनले भने, ‘आफ्नो गाउँमा आएपछि रोगबाट त बचियो भन्ने लागेको छ। अब चिन्ता परिवार कसरी पाल्ने भन्ने हो।’


गाहामगर दम्पती मात्र नभएर यहाँको क्वारेन्टाइनमा बसेका सबैको चिन्ता क्वारेन्टाइनपछि के काम गर्ने भन्नेमा छ। क्वारेन्टाइनमा बसेका अर्का ३६ वर्षीय निमबहादुर विकले पनि उस्तै चिन्ता रहेको सुनाए। पालिकाले भारतबाट फर्केका आफूहरु जस्ता युवालाई गाउँमै रोजगारी दिने व्यवस्था मिलाउन उनको आग्रह छ। ‘अरु बेला जहाँजहाँ गए पनि विपद् पर्दा आखिर चाहिने आफ्नै देश रहेछ,’ उनले भने, ‘अब हामीलाई सधैंभरि गाउँमा बस्ने वातावरण हुनुपर्‍यो। हामी यतै काम गर्न तयार छौं।’


वर्षौं भारतलगायत विदेशमा बसेर नेपाल फर्केका घरबास नभएकाहरुलाई सरकारले लकडाउनपछि बसोबास र रोजगारीको खोजी गरिदिनुपर्ने ऐरावती-६ का तेजबहादुर रानाले बताए। उनी भारतबाट आएर बरौलाको क्वारेन्टाइनमा बसेका छन्। ‘विदेशबाट फर्केका घरबास नभएकाहरुको खोजी वडास्तरबाट हुनुपर्छ,’ रानाले भने, ‘घर भएका त क्वारेन्टाइनपछि घरमा जालान्। नभएकाको व्यवस्था स्थानीय सरकारले मिलाउनुपर्‍यो।’

प्रकाशित : चैत्र २७, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?