मृत्युको ११ दिनपछि कोरोना अस्पतालबाट बाबुरामका आफन्तले शव बुझे

श्रीमतीलाई रोजगारी, छोरालाई शिक्षाको ग्यारेन्टी र ८ लाख रुपैयाँको कोष बनाउने सहमति
घनश्याम गौतम

बुटवल — बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको शव ११औं दिनपछि आज आफन्तले बुझेका छन्। 

पूर्वसभासद् विनोद पहाडी, पाल्पाली समाजका अध्यक्ष पदम कार्की, रिब्दीकोट समाजका समुन्द्र जिसी, मानवअधिकारकर्मी गोविन्द खनालको पहलमा आफन्त र परिवार शव बुझ्न सहमत भएका हुन्।


कोरोनाको आशंकामा उपचार सुरु गरिए पनि परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। आफन्तमा कोरोनाकै कारण मृत्यु भएको भन्ने त्रास फैलिएपछि मृत्युको ११ दिनसम्म पनि शव उठ्न सकेको थिएन। अधिकारकर्मी र सरोकारवालाको पहलमा पीडित पक्षकै स्वास्थ्यकर्मीसमेत राखेर गरेको छलफलपछि परिवार र आफन्त बुधबार शव बुझ्न तयार भएका हुन्।


पीडित परिवारको तर्फबाट डाक्टर माधव थापा, बाबुरामकी पत्नी रीताका दाजु कमल टण्डन, शंकर टण्डन, मृतकको स्थायी ठाउँका वडाध्यक्ष कृष्णबहादुर थापासहितले शव बुझेको रिब्दीकोट समाजका अध्यक्ष समुन्द्र जिसीले बताए। त्यसअघि सरोकारवालाले सामाजिक मन्त्रालयमा पीडित पक्षलाई राखेर परिवारको राहतका लागि छलफल गरेका थिए। मन्त्रालयमा भएको छलफलमा मृतककी पत्नी रीता थापालाई उनी डेरामा बस्दै आएको रूपन्देहीको सैनामैना नगरपालिकाले योग्यताअनुसारको रोजगारी दिने, सामाजिक विकास मन्त्रालयले दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र विभिन्न संघसंस्थामार्फत सहयोग संकलन गरेर मृतककी श्रीमतीको नाममा ८ लाख ४० हजार रुपैयाँको राहत कोष स्थापना गरिदिने सहमति भएको पूर्वसभासद् पहाडीले बताए।


‘उहाँहरु आजै दाहसंस्कार गर्न सहमत हुनुभएको छ,’ उनले भने, ‘डाक्टरसहितको छलफलबाट उहाँको मृत्यु कोरोनाबाट नभएको स्पष्ट पार्ने काम पनि भयो।’


चैत ६ गते दुबईबाट नेपाल आएका उनी ज्वरो आएपछि १३ गते बुटवलको कोरोना अस्पतालमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको चैत १६ गते मृत्यु भएको थियो। कोरोना आशंकामा संकलन गरिएको थ्रोट स्वाबको रिपोर्ट आउन दुई दिन लागेको थियो। रिपोर्ट नआउँदै कोरोनाको कारण मृत्यु भएको भन्ने हल्ला फैलिएपछि परिवार र आफन्त त्रसित भएका थिए। पछि परीक्षण रिपोर्ट नेगेटिभ आए पनि आफन्तले विश्वास गर्न नसक्दा शव लामो समय अस्पतालमै रहेको थियो।

प्रकाशित : चैत्र २६, २०७६ १६:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

एएनआई 

न्यूयोर्क — कोरोना भाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । 

राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको छ । राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने, 'हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका सबै संकटपूर्ण ठाउँमा खटाइने बर्दीधारी सैनिकहरुमा कोविड–१९ नभएको सुनिश्चित गर्नु रहेको हुन्छ ।' उनले केही विशिष्ट अवस्थामा यस व्यवस्थामा सामान्य फेरबदल हुन सक्ने स्पष्ट गरे ।

राष्ट्रसंघको उक्त निर्णयका बारेमा शान्ति सैनिक र प्रहरी पठाइरहेका सबै मुलुकलाई जानकारी गराइएको पनि उनले बताए । तर राष्ट्रसंघका अन्य निकायहरु जस्तै राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर) का कार्यक्रमहरु द्वन्द्वग्रस्त मुलुकहरुमा यथावत रहेको राष्ट्रसंघले जनाएको छ ।

प्रवक्ता डुजारिकले युनिसेफ र विश्व खाद्य कार्यक्रमले जोर्डान सरकारसँग मिलेर शरणार्थीहरुलाई मद्दत गरिरहेको, खाद्य सहयोग तथा अरु कार्यक्रमलाई निरन्तरता दिएको बताए । डुजारिकका अनुसार युएनएचसिआरले पूर्वी अफ्रिकामा रहेका शरणार्थीको ठूलो हिस्सामा कोविड–१९ को संक्रमण रोक्न, उपचार गर्न र प्रसारलाई नियन्त्रणमा राख्न काम गरिरहेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रकाशन गरेको नयाँ प्रतिवेदनले कोरोना भाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको र यसबाट खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु रहेको जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले 'विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०' सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको बताए । 'विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन् जबकी विश्वमा अहिले ५९ लाख नर्सको कमी छ । नर्सको कमी सबैभन्दा बढी अफ्रिका, दक्षिणपूर्व एसिया, पूर्वी भूमध्यसागरीय क्षेत्र र दक्षिण अमेरिकामा छ ।'

विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले मानव स्वास्थ्यका लागि विश्वभरका सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारी विरुद्ध संघर्ष गरिरहेकामा त्यसको उच्च प्रशंसा गर्दछु भनेका छन् ।

प्रकाशित : चैत्र २६, २०७६ १६:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×