कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

५ हजार विपन्न र मजदुरलाई राहत वितरण

माधव अर्याल

पाल्पा — जिल्लाका ५ हजार विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको छ । १० स्थानीय तहले उनीहरूलाई आ–आफ्नै मापदण्ड बनाएर राहत दिएका हुन् । ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्‍न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको स्थानीय तहले जनाएका छन् ।

५ हजार विपन्न र मजदुरलाई राहत वितरण

तानसेन नगरपालिकामा १ हजार २ सय ७० र रामपुर नगरपालिकामा १ हजार ६६ जनालाई राहत वितरण गरिएको छ । निस्दी गाउँपालिकामा ३ सय ३२, रैनादेवी छहरामा ३ सय, रम्भामा १ सय ६०, पूर्वखालामा २ सय ४९, माथागढीमा ६ सय परिवारले राहत पाएका छन् । तिनाउले ३ सय ८५, बगनासकालीले ३ सय ८० र रिब्दीकोटले २ सय ८ परिवारलाई राहत दिएको छ ।

निदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान अर्यालका अनुसार विभिन्न वडाका २ सय ८४ परिवारका साथै ४८ जना सडक तथा भौतिक निर्माणमा काम गर्ने अलपत्र परेका मजदुरलाई राहत वितरण गरिएको छ ।

राहतस्वरुप चामल, दाल, नुन, तेल, साबुनलगायत सामग्री दिइएको हो ।

माथागढीमा अति विपन्न श्रमिक, अपांगता भएका र ७० वर्ष माथिका संरक्षक नभएका जेष्ठ नागरिकलाई पनि लगत संकलन गरी खाद्य सामाग्री वितरण गरिएको अध्यक्ष सन्तोष थापाले बताए ।

पूर्वखोला गाउँपालिकाले लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भनी विपन्न परिवारलाई राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले बताए । ‘कोही विपन्न परिवार नदोहोरियोस् र नछुटोस् भनेर वडागत रूपमा तथ्यांक संकलन गरिएको छ,’ उनले भने, ‘प्रत्येक वडा कार्यालयले खाद्यान्न राहत वितरणका लागि वडाको पायक पर्ने पसलका लागि कुपन दिएको छ ।’

गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार परिवारमा ७ जना भन्दा बढी सदस्य छन् भने ३० केजी चामल, तीन केजी दाल, २ लिटर तेल, नुन २ पोका र साबुन ४ वटा दिइएको छ ।

तानसेन नगरपालिकाले खाद्यान्नका लागि प्रत्येक वडामा पायक पर्ने गरी पसल तोकेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताए । केही पसलबाट तोकिएको मूल्यमा खाद्यान्न उपलब्ध गराउन नसक्ने भनेकोले नगरपालिकाले आफै किनेर वितरण गर्ने तयारी गरेको सूचना अधिकारी दुर्गा थापाले बताए ।

रामपुर नगरपालिकाले टोलटोलमा पुगेर खाद्यान्न वितरण गरको नगर प्रमुख रमणबहादुर थापाले बताए । उक्त नगरपालिकाले खाद्य सामग्रीका साथै मास्क, जीवनजल, सिटामोल र साइनेक्सजस्ता औषधि पनि वितरण गरेको छ ।

बगनासकाली गाउँपालिकाले छुटेकालाई पछि पनि राहत उपलब्ध गराइने जनाएको छ । गाउँपालिकाले दैविक विपद कोषमार्फत वडाका सबै विपन्न र मजदुरलाई खाद्यान्न वितरण गरेको प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए ।

रैनादेवी छहरामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतको बजेटलाई परिचालन गरी राहत वितरण गरिएको अध्यक्ष रामबहादुर कार्कीले बताए ।

तिनाउ गाउँपालिकाले पालिकाभित्रका विपन्न र ज्याला–मजदुरी गर्ने परिवारलाई वडामा ५० हजारका दरले बजेट विनियोजन गरेर सोही अनुसारको राहत वितरण गरेको गाउँपालिकका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।

प्रकाशित : चैत्र २६, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?