सीमा बन्दको अनुगमन

कान्तिपुर संवाददाता

बर्दिया — कोरोना भाइरसको संम्भावित संक्रमण रोक्नका लागि बन्द गरिएको नेपाल—भारत सीमाको सुरक्षा अधिकारीहरुले मंगलबार अनुगमन गरेका छन् । खुला सीमाका कारण लुकीछिपी दुई मुलुकमा आउजाउ गर्न सक्ने भन्दै सुरक्षा बढाइएको छ ।

नाकाको अवस्था बारे बुझ्न बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बाँस्तोला, नेपाली सेना र सशत्र प्रहरीका सुरक्षा अधिकारीहरु गुलरिया नगरपालिकाको सुरजपुरदेखि पूर्व बाँकेको सीमा मानखोलासम्म निरीक्षण गरिएको छ ।


सीमामा भइरहेको गतिबिधि बारे बुझ्न स्थलगत निरीक्षण गरिएको एसपी बास्तोलाले बताए । उनका अनुसार सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई पूर्णरुपमा आउजाउ नगर्न निर्देशन दिइएको छ । नेपाल–भारत सीमामा आउजाउ बन्द गर्न दुई–दुई किलोमिटरमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


साथै नेपाल प्रहरी र स्थानीय युवाहरु स्वयंसवेकरुपमा परिचालन गरिएका छन् । सीमा नजिकैको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक हिम खत्रीले नेपाल–भारत सीमा भएर आउजाउ गर्न पूर्णरुपमा बन्द गरिएको बताए ।

प्रकाशित : चैत्र २५, २०७६ १६:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ढुक्क भएर कृषिकर्ममा व्यस्त

अनिश तिवारी

सिन्धुपाल्चोक — कोभिड १९ को संक्रमण त्रासमा देशभर लकडाउन छाएपछि मुख्य र साना बजारक्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई देख्नै मुस्किल छ । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बु बजारसम्मका स्थानीय घरबाट बाहिर निक्लिएका छैनन् ।

तर, लकडाउनको शून्यबीच सबै गाउँक्षेत्रका बासिन्दा भने ढुक्क भएर दैनिकी खेतीपाती र कृषिकर्ममा व्यस्त देखिएका छन् । चैते धान रोपाईमा व्यस्त चौतारा साँगाचोकगढी नगरको झ्याडी टोलका माझी, दनुवार समुदायमा भने छुट्टै रौनक छाएको छ । इन्द्रावती किनारको फाँटमा आलोपालो गरी रोपाईमा व्यस्त छन् ।

‘काम नगरी कसरी बाँच्ने, अब यहाँ बाहिरबाट आएका कोही छैनन्, कोरोना कहाँबाट सर्नु हजुर ,’ झ्याडी टोलका सुरेन्द्र माझीले भने । साबुन पानीले हात धोएर सचेतना अपनाएरै माझी र दनुवार समुदाय एक भएर दैनिक काममा खटिरहेको उनले बताए ।


नजिकै रहेको अरनिको राजमार्गस्थित काभ्रेको दोलालघाट, बन्देउ हुँदै सुकुटे, बलेफी जस्ता सबै बजार सुनसान देखिएको छ । ‘ ज्याला मजदुरी गरेर खाइन्थ्यो, त्यसको पनि केही अर्थ रहेन, लकडाउनको आलु खन्न सदुपयोग गरियो,’ मेलम्ची नगरपालिकाको फाँटमा आलु भित्राइरहेका नवराज श्रेष्ठले भने ।

खेतैपिच्छै आलु खनेर ठड्याइएको बोरा देखाएर उनले उत्साह पोखे । हल्लाकै भरमा कोरोना भाइरसको बारेमा चर्चा सुनेकी जुगल गाउँपालिका–३, तेम्बाथान्की माइली शेर्पा निर्धक्क सामुहिक रुपमा बाख्रा चराउछिन् । छिमेकीसँगै झण्डै सय वटा बाख्रा चराइरहेकी उनले कोरोना भाइरसबारे सबैकुरा थाहा नपाइसकेको खुलाइन् । ‘यता नेटकवर्क र फोन केही लाग्दैन्, बिजुली छैन्, टेलिभिजन, रेडियो कहाँबाट हेर्नु सुन्नु र, तैपनि यो रोगबारे हल्ला चाही सुनेको छु, ,’ उनले भनिन् ।



अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिकाको अन्तिम गाउँ दिपु, तेगा र तेम्बाथान् गाउँमा स्वास्थ्य चौकी पुग्न झण्डै दुई दिन लाग्छ । स्वास्थ्य परीक्षण गर्न लामो दूरी हिड्नुपर्ने भएकाले अरुले भनेको सुनेको आधारमा साबुन पानीले हात धुने र अपरिचितसँग टाढा रहेर नबोल्ने गरिएको उनको भनाइ छ । ‘हाम्रो लेक गाउँमा पनि कोरोना आउछ र ?,’ उनले प्रश्न गरिन् ।



बाटैमा दाउराको भारी बोकेर आइरहेकी बाह्रबिसे नगरपालिका–६ घुम्थाङ गाउँकी डोमा शेर्पाले साबुन पानीले हात धुने र नचिनेको मान्छेसँग दूरी राखेर भेट्ने गरेको सुनाइन् । ‘हामी त ढुक्क छौ, केही गरी कोरोना आएपछि हेरौंला, अरु सचेतना जसरी पनि अपनाइएकै छ, अरु के गर्नु र ?,’ उनले भनिन् । उनका अनुसार गाउँभर विदेशबाट आएका सबैको अवस्था सामान्य रहेको र होम क्वारेन्टाइनमा बसेकोले खासै समस्या देखिएको छैन् । ‘साबुन पानीले हात पहिलेदेखि धुँदै आएका हौं, अब अरु नयाँ थपियो,’ उनले भनिन् ।

जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँगै प्रहरी खट्दै

तीन नगर र नौ गाउँपालिकाका जनप्रतिनिधि स्वास्थ्यकर्मीलाई लिएर कोरोना भाइरस फैलिन नदिन स्वास्थ्य परीक्षण र सचेतना फैलाउन कस्सिएका छन् । बाह्रबिसे, मेलम्ची नगरदेखि हेलम्बु, इन्द्रावती गाउँपालिकाले कोरोना सचेतना अभियान व्यापक बनाएका छन् ।

‘जनप्रतिनिधि, स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मी पनि दौडिरहेका छन् , कोरोना रोकथामको लागि घरमै पुगेर सचेतना फैलाईरहेका छौं ’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भने ।

प्रकाशित : चैत्र २५, २०७६ १६:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×