सुत्केरी व्यथा लागेको ४ दिनपछि उद्धार

हरि गौतम

रुकुम पूर्व — सुत्केरी व्यथा लागेको ४ दिनपछि एक गर्भवतीको उद्धार भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–२, हिमकी गर्भवतीको ३१ वर्षीया रमिता झाँक्रीको हेलिकोप्टरद्वारा उद्धार गरिएको हो ।

२ हप्ताअघि नै स्वास्थ्यमा सामान्य समस्या आएकी उनी ४ दिन यता सिकिस्त बनेकी थिइन् । गर्भवती सिकिस्त हुँदै गएपछि सोमबार हेलिकोप्टरमा नेपालगञ्ज पठाइएको स्थानीय सरिता बुढामगरले जानकारी दिइन् । सुरुमा चिसोका कारण बिसञ्चो होला भनेर वास्ता नगरिएको र व्यथा लागेपछि हेलिकोप्टर मगाइएको उनले बताइन् ।


संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषमार्फत सुत्केरीको उद्धार गरिएको प्रतिनिधिसभा सदस्य कमला रोकाले बताइन् । जिल्ला प्रशासन र मन्त्रालयसँगको समन्वयमा उद्धार गरिएकी झाँक्रीलाई नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको रोकाले जानकारी दिइन् । उनको गाउँ पुग्न सडक पुगेको ठाउँदेखि २ दिन पैदल हिँड्नुपर्छ ।

प्रकाशित : चैत्र २४, २०७६ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?