१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपन्नलाई चुलोमै राहत

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरले फुड बैंक स्थापना गरेर विपन्नलाई खाद्यान्न वितरण सुरु गरेको छ । बैंकमा विभिन्न सहयोगीले जम्मा गरेको खाद्यान्न उपमहानगरले निर्देशिका बनाएर बाँड्न थालेको हो ।

विपन्नलाई चुलोमै राहत

कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन घोषणापछि अप्ठेरोमा परेका दैनिक ज्याला मजदुरीबाट जीविका चलाउनेहरूलाई वडा समितिमार्फत पहिचान गरी बस्तीमै खाद्यान्न पुर्‍याइएको छ ।

हुनेखानेहरूले लिन नपाऊन् र विपन्नहरू नछुटून् भनेर निर्देशिका बनाएर खाद्यान्न वितरण गरिएको उपमहानगर प्रमुख घनश्याम पाण्डेले बताए । ‘फुड बैंकमा बिभिन्न व्यक्ति र संस्थाहरूले खाद्यान्न जम्मा गर्ने क्रम जारी छ । टोलटोलमा पुगेर वितरण गरिरहेका छौं,’ उनले भने ।


राहत पाएपछि मजदुर खुसी भएका छन् । तुलसीपुर–१० गौलोरीका टीकाराम बस्नेत गणपति मिलमा काम गर्थे । लकडाउनपछि मिल बन्द भएको छ । ‘दिनदिनै के खाने भन्ने चिन्ता छ । राहत पाएपछि मन ठूलो भएको छ,’ उनले भने, ‘दिनदिनै काम गर्न नपाए चुलो बाल्न मुस्किल पर्छ ।’

तुलसीपुर–२ तकियापुरकी रामकली कामीको ६ जनाको परिवार छ । श्रीमान् काठमाडौंमा घर बनाउने मिस्त्री काम गर्छन् । ‘बन्दले गर्दा सबैतिर काम ठप्प छ । पैंसा आउने ठाउँ कतै छैन,’ उनले भनिन्, ‘राहत नपाए यत्रो परिवार पाल्ने कसरी ? यो बन्दमा सरकारले यसरी नै राहत बाँड्नुपर्छ ।’

वडाको सिफारिसमा प्रतिपरिवार ३० किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल र २ वटा साबुन वितरण गरिएको उपमहानगरका प्रवक्ता श्याम डाँगीले बताए । पहिलो दिन शुक्रबार वडा नम्वर १ बाट १ सय ६२, २ बाट ७०, १० बाट ३१ र १३ बाट २ सय ३८ जनालाई राहत बाँडिएको उपमहानगरका विपद् व्यवस्थापन समिति संयोजक नवराज लामिछानेले बताए । एकै ठाउँमा बाँड्दा भीडभाड हुने भएकाले टोलटोलमा सानो समूह बनाएर वितरण गरिएको १ नम्बर वडाध्यक्ष लक्ष्मण भण्डारीले बताए ।


राप्ती गाउँपालिकाले पनि विपन्न, अपांग, ज्येष्ठ नागरिक र असहायलाई राहत वितरण गरिरहेको छ । १ हजारभन्दा बढी परिवारमा खाद्यान्न संकट भएपछि घरघरै पुगेर राहत दिइएको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले बताए । परिवार संख्याका आधारमा प्रथम चरणमा ५ देखि १० किलो चामल, एक किलो दाल, २ प्याकेट नुन, एक लिटर तेल र दुइटा साबुन वितरण गरिएको उनले जानकारी दिए ।

पहिलो चरणमा वडानं. १ मा ३५, २ मा १ सय २, ३ मा १ सय, ४ मा ५५, ५ मा ८०, वडा नं ६ मा १ सय, ७ मा ८८, ८ मा ८५ र वडा नं ९ मा ७० घरधुरीलाई राहत वितरण गरिएको चौधरीले बताए ।

प्रकाशित : चैत्र २२, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?