१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्यूठानका किसानलाई गहुँ भित्र्याउने चटारो

गिरुप्रसाद भण्डारी

प्यूठान — कोरोना भाइरस(कोभिड–१९) का कारण देश लकडाउनमा गुज्रिरहेको छ । प्यूठानका किसानहरुलाई भने कोरोनाको त्रास लिएरै गहुँ बाली भित्र्याउने चटारो छ । १० दिनसम्म लकडाउनमा बसेर शुक्रबार बिहानैदेखि किसान झिमरुक फाँटमा पाकोको  गहुँ  काट्न निस्केका छन् ।

प्यूठानका किसानलाई गहुँ भित्र्याउने चटारो

सरकारले सुझाएका कोरोनाबाट बच्ने उपाय अवलम्बन गर्दै किसानहरु खेतबारीमा व्यस्त छन् । भीडभाड नगरी पाकेको गहँु काट्न बिहानैबाट किसान आ–आफ्ना खेतमा निस्केको प्यूठान नगरपालिका–२ दाखाक्वाडिका किसान लेखबहादुर खत्रीले बताए । उनले वर्ष दिनसम्म खाने अन्न भित्र्याउन गाउँका धेरैजसो किसान फाँटमा झरेको सुनाए । ‘सधैं घर भित्रमात्र बसेर भएन,’ उनले भने, ‘पाकेको खेती भित्राउनै पर्‍यो ।’ रोग नलागेकाले यसपाली फाँटमा गहुँ राम्रो रहेको खत्रीले बताए ।

यस वर्ष हिउँदे वर्षात पटकपटक परेका कारण गहुँ बाली राम्रो भएको किसानहरु बताउँछन् । पाकीसकेको गहुँ खुरिएर खेतमै झर्ने अवस्था भएपछि किसानहरु गहुँ काट्न निस्केको प्यूठान नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए ।


प्यूठानको झिमरुक फाँटमा पहेलपुर पाकेको गहुँ बाली ।

किसानहरुलाई सुरक्षा अपनाएर बाली भित्र्याउन भनेको राजभण्डारीले बताए । जिल्लामा ८ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । गतवर्ष २४ हजार ५ सय ४९ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यसपाली हिउँदमा धेरै पटक वर्षा भएकाले पाखो बारीमा समेत गहुँ बाली राम्रो छ । यसले गर्दा प्यूठानमा गहुँ उत्पादन बढ्ने अनुमान गरेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ उमेश श्रेष्ठले बताए । किसानले भृकुटी, डब्लु.के,वार्सेचार, गौतम, स्वर्गद्धारीलगायत जातका गहुँ लगाएका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?