जिप दुर्घटना हुँदा ३ जना घाइते


रुकुम पूर्व — जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भूमे गाउपालिका–२ स्थित पोखरा भन्ने ठाउँमा लु १ ज १८३७ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका हुन् ।


जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा शुक्रबार बिहान ९ बजे सहिद मार्गमा उक्त जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप पल्टिएर सडकदेखि अन्दाजी दस मिटर तल पुगेको छ ।
दुर्घटनामा परी जिप चालक भूमे गाउँपालिका–२, का २५ वर्षीय शक्ति विक, सोही वडाका २० वर्षीय विनकुमार विक र पुथाउत्तरगंगा गाउँपालिका–११, का ३२ वर्षीय विकास बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बताइएको छ । अरु दुई जना घाइतेको अवस्था सामान्य नै छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर नेपालगञ्ज बिरामी पुर्याएर जिप फर्किएको थियो । जिपले १७ गतेदेखि आज शुक्रबार बेलुकासम्मको पास लिएको थियो ।
प्रकाशित : चैत्र २१, २०७६ ११:२६