१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भिरमा खसेकी महिलाको एक दिनपछि उद्धार, क्‍वारेन्टाइनमा राखियो 

गुल्मी — गुल्मीको मुसिकोट नगरपालिका–८ स्थित तारिके भिरमा खसेकी महिलाको झण्डै २४ घन्टापछि उद्धार गरिएको छ । बुधबार दिउँसो भिरमा खसेको अवस्थामा देखिएकी ती महिलाको बिहीबार दिउँसो मात्रै नेपाली सेना र प्रहरीको टोलीले उद्धार गरेको हो । उनलाई क्वारेन्टाइनमा राखिएको छ ।

भिरमा खसेकी महिलाको एक दिनपछि उद्धार, क्‍वारेन्टाइनमा राखियो 

स्थानीयले मध्यपहाडी लोकमार्गबाट बुधबार दिउँसो भिरमा महिलालाई देखेपछि वडाध्यक्ष नारायण सापकोटालाई खबर गरेका थिए । उद्धारका लागि सेना र प्रहरीलाई समन्वय गर्दागर्दै मेघगर्जनसहित पानी परेपछि उद्धार रोकिएको थियो । बिहीबार बिहानैबाट उद्धार गर्न थालिए पनि अप्ठ्यारो भिर रहेकाले दिउँसो मात्र उद्धार सम्भव भएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिहं खड्काले बताए ।


सेनाको भयरथुम अस्थायी पोष्ट र वामी प्रहरी चौकीको टोलीले उद्धार गरेको उनले बताए । ‘मधेसी मुलकी ती महिलाले अहिलेसम्म आफ्नो नाम भुना मात्र बताएकी छन्,’ उनले भने, ‘लामो समय भोकै रहेकाले विक्षिप्त छन्, धेरै नबोलेकाले अन्य विवरण खुलेको छैन ।’ उनलाई मुसिकोट नगरपालिकाको व्वारेन्टाइनमा राखेर थप सोधपुछ गर्ने काम भइरहेको खड्काले बताए ।


महिलाको उमेर अन्दाजी ४० वर्ष रहेको प्रहरीले जनाएको छ । उनको भाषासमेत बुझ्न नसक्दा समस्या परेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए । ‘अहिले नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा राखेर सरसफाई र खानाको व्यवस्थापन गर्दै छौं,’ उनले भने, ‘काउन्सिलिङ गरेर थप विवरण पत्ता लगाउने प्रयास भइरहेको छ ।’


गुल्मीको मुसिकोट नगरपालिका–८को तारिके भिरमा फसेकी महिलाको उद्धार गर्दै प्रहरी र सेनाको टोली । तस्बिर सौजन्य : नेपाल प्रहरी


प्रकाशित : चैत्र २०, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?