२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कपिलवस्तुमा पनि विदेशबाट आएकाको घरमा रातो चिह्न 

मनोज पौडेल

कपिलवस्तु — विजयनगर गाउँपालिकाले विदेशबाट आएकाको घरमा रातो चिह्न लगाउन सुरु गरेको छ । कोरोना संक्रमणविरुद्ध सचेतना र सतर्कता अपनाउन मंगलबारबाट भारतलगायत तेस्रो मुलुकबाट गाउँ फर्केकाको घरमा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि पुगेर रातो क्रस चिह्न लगाउन थालिएको हो । 

कपिलवस्तुमा पनि विदेशबाट आएकाको घरमा रातो चिह्न 

कम्पाउन्ड भए त्यसको अगाडि, ढोकाअघि र भित्तामा चिह्न लगाइएको छ । ‘अहिलेसम्म तीन सयभन्दा बढी घरमा रातो चिह्न लगाइसकियो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले भने, ‘पालिकाबाट खटिएका व्यक्ति घरघर पुगेर चिह्न लगाएका छन् ।’


पहिले वडा प्रतिनिधि र कर्मचारी खटाएर विवरण संकलन गरेपछि सचेतना र सतर्कता गर्न कर्मचारी र जनप्रतिनिधि पठाइएको उनले बताए । ‘यसले संक्रमणविरुद्ध काम गर्न सजिलो भएको छ,’ गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भने, ‘कुन–कुन घरमा विदेशबाट आएका छन् भन्ने थाहा हुन्छ ।’


त्यो घर पुग्दा स्वास्थ्यकर्मी पनि सचेत हुने र उनीहरुका लागि पालिकालाई योजना बनाउन पनि सजिलो हुने उनले बताए । जिल्लाका १० पालिकामध्ये विजयनगरले मात्रै विदेशबाट आएकाको घर पहिचान गर्न सुरु गरेको हो । भारत, मलेसिया र नाइजेरियाबाट घर फर्केका व्यक्तिहरू यहाँ छन् । गाउँपालिकामा सोमबारसम्म ३ सय ९० जना आएका थिए । मंगलबार र बुधबार थप ४२ जना घर फर्केको गाउँपालिकाले जनाएको छ । रातो चिह्न लगाइएको घरको सजिलै पहिचान हुन्छ । संक्रमणबाट सचेत पनि हुने र तथ्यांक संकलनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।


पालिकाका गरीब र विपन्नलाई बिहीबार खाद्यान्न वितरण गरिनेछ । तीन दिनसम्म विवरण संकलन गरिएको अध्यक्ष थापाले बताए । ‘बिहीबार सबैलाई खाद्यान्न वितरण गर्छौं,’ उनले भने, ‘पालिकामा ७ सय ४० विपन्न परिवार छन् ।’

प्रकाशित : चैत्र १९, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?