कपिलवस्तुमा पनि विदेशबाट आएकाको घरमा रातो चिह्न 

मनोज पौडेल

कपिलवस्तु — विजयनगर गाउँपालिकाले विदेशबाट आएकाको घरमा रातो चिह्न लगाउन सुरु गरेको छ । कोरोना संक्रमणविरुद्ध सचेतना र सतर्कता अपनाउन मंगलबारबाट भारतलगायत तेस्रो मुलुकबाट गाउँ फर्केकाको घरमा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि पुगेर रातो क्रस चिह्न लगाउन थालिएको हो । 

कम्पाउन्ड भए त्यसको अगाडि, ढोकाअघि र भित्तामा चिह्न लगाइएको छ । ‘अहिलेसम्म तीन सयभन्दा बढी घरमा रातो चिह्न लगाइसकियो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले भने, ‘पालिकाबाट खटिएका व्यक्ति घरघर पुगेर चिह्न लगाएका छन् ।’


पहिले वडा प्रतिनिधि र कर्मचारी खटाएर विवरण संकलन गरेपछि सचेतना र सतर्कता गर्न कर्मचारी र जनप्रतिनिधि पठाइएको उनले बताए । ‘यसले संक्रमणविरुद्ध काम गर्न सजिलो भएको छ,’ गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भने, ‘कुन–कुन घरमा विदेशबाट आएका छन् भन्ने थाहा हुन्छ ।’


त्यो घर पुग्दा स्वास्थ्यकर्मी पनि सचेत हुने र उनीहरुका लागि पालिकालाई योजना बनाउन पनि सजिलो हुने उनले बताए । जिल्लाका १० पालिकामध्ये विजयनगरले मात्रै विदेशबाट आएकाको घर पहिचान गर्न सुरु गरेको हो । भारत, मलेसिया र नाइजेरियाबाट घर फर्केका व्यक्तिहरू यहाँ छन् । गाउँपालिकामा सोमबारसम्म ३ सय ९० जना आएका थिए । मंगलबार र बुधबार थप ४२ जना घर फर्केको गाउँपालिकाले जनाएको छ । रातो चिह्न लगाइएको घरको सजिलै पहिचान हुन्छ । संक्रमणबाट सचेत पनि हुने र तथ्यांक संकलनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।


पालिकाका गरीब र विपन्नलाई बिहीबार खाद्यान्न वितरण गरिनेछ । तीन दिनसम्म विवरण संकलन गरिएको अध्यक्ष थापाले बताए । ‘बिहीबार सबैलाई खाद्यान्न वितरण गर्छौं,’ उनले भने, ‘पालिकामा ७ सय ४० विपन्न परिवार छन् ।’

प्रकाशित : चैत्र १९, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एक किसानको ‘लकडाउन’ डायरी : बिहान टुकुचा, दिउँसो बारीमा

मकर श्रेष्ठ

काठमाडौँ — किसानलाई बाह्रैमास खेतीको चटारो हुन्छ । खेती लगाउनु, सिँचाइ गर्नु, गोडमेल गर्नु, थन्क्याउनु र बजारसम्म पुर्‍याउनु । उनीहरु वर्षभरि व्यस्त हुन्छन् ।

भक्तपुर लोकन्थलीका किसान बुद्धकृष्ण (हिरो) हेक्काले बारीमा लगाएको रायो, चम्सुर, पालुंगो लगायतको साग अहिले तयारी अवस्थामा छ । तर, देशभर कोरोना संक्रमणको त्रास र ‘लकडाउन’ ले उनलाई आफ्नो नियमित काम गर्न सहज छैन । सरकारले ‘घरबाहिर ननिस्कनू’ भने पनि उनले दैनिक गुजाराकै लागि बारीमा तयार भएको सागलाई बजारसम्म पुर्‍याइरहेका छन् ।

लकडाउनमा एक किसानको दैनिकी कसरी चलिरहेको छ त, हामीले बुद्धकृष्णसँग बुझ्ने कोशिष गरेका छौं ।

‘कोरोनो भाइरस नेपालमा देखिनुअघि देखि नै सरसफाइमा ध्यान दिएका छौं । तरकारी उखेलेर घरमा छिर्दा होस् या बजार गएर फर्कंदा, साबुनपानीले हात धोएर मात्रै घर छिर्छु । अरु देशमा कोरोना लाग्यो रे भनेको मात्रै सुनेको थिएँ । हाम्रो देशमा पनि यसका रोगी देखिन थालेपछि डर त लागिरहेको छ । सरकारले घरबाहिर पनि निस्कन नपाउने निर्णय गर्दा साग बेच्नका लागि तयारी अवस्थामा थियो ।



चैत १० मा भोलिपल्ट बिहान ६ बजेदेखि घरबाहिर निस्कन नपाउने खबर पाएँ । तब, बजार लैजान धोइ–पखाली गरी मुठा बानेर तयार गरेको साग बजार लैजाने कि नलैजाने भन्ने दोधार पर्‍यो । वरपरका आफन्तसँग ११ गते बजार जाने कि नजाने सल्लाह गरें । बिहान तीन बजेनै घरबाट निस्कने र ६ बजे घर आइसक्ने कुरा भयो । त्यही सल्लाहअनुसार भोलिपल्ट बिहानै साइकलमा दुई सय मुठाभन्दा बढी साग लिएर भृकुटीमण्डपको टुकुचा बजार पुगेँ । बजार जाँदा पन्जा र मास्क लगाउने गरेको छु । हुलमुलमा जान्नँ । त्यसैले व्यापारीले निर्धारण गरेको मूल्यमा साग छाडेर घर फर्किनु परेको छ ।

त्यसपछि दुई दिनसम्म त घर भित्रै बस्यौं । घरमा बस्दा झलझली बारी सम्झिन थालें । बारीमा रायो र पालुंगोको साग टिप्न ढिलो भइसकेको थियो । तर, सरकारले घरबाहिर ननिस्कन भनेको थियो । तेस्रो दिन त मनले मानेन । श्रीमती र म खेततिर लाग्यौं । छिप्पिन लागेको पालुंगो र रायोको साग टिप्यौं । बारी वरपरका अन्य किसान पनि साग टिप्न आउन थाले । त्यसपछि बारीमा अलि असुरक्षित ठानेर घरमै मुठा बान्न थाल्यौं ।



भोलिपल्ट बिहान तीन बजे नै टुकुचा पुर्‍याएँ । उज्यालो हुँदा घर आउन हतार हुन्छ । बजारमा जति मूल्य तोकिन्छ त्यतिमै दिनुपर्ने बाध्यता छ । उज्यालो हुँदासम्म खुद्रामा बिक्री गर्न पाइँदैन । बारीमा सुकाएर राख्नुभन्दा सस्तोमै दिने गरेको छु । अहिले एक दिन बिराएर बजार गइरहेको छु । बजारमा हुने हुलमुलदेखि टाढै रहनु पनि छ । त्यसैले जति तरकारी लगेको हुन्छु सस्तोमै दिएर फर्कन्छु । पहिले प्रतिमुठा १० रुपैयाँमा बिक्री हुने साग अहिले ६ रुपैयाँमा बेचेर फर्कन्छु ।

आज पनि बिहानै साइकलमा दुई सय मुठा साग लिएर गएँ । ६ बजे नै घर फर्किएँ । आज चमसुर, पालुंगो, मेथी, रायो र धनियाँको दुई सय मुठा लगेको थिएँ । चमसुर र पालुंगो मात्रै एक सय १० मुठा थियो । रायो ९० मुठा लगेको थिएँ । एक मुठाको ६ रुपैयाँमा बिक्री गरेर फर्किए । अहिले भाउ नै छैन । काठमाडौंको मान्छे सबै गाउँ गइसके । काठमाडौं भएका मान्छे पनि घर बाहिर निस्कदैनन् । बजार व्यापारीको हातमा छ । उनीहरुले खुद्रा बिक्री गर्न दिँदैनन् । हामीले जति साग लगेका हुन्छौं, सबै उनीहरुले नै किन्छन् र महँगोमा बेच्छन् । बारीमा भएको साग फाल्नुभन्दा सस्तोमा दिने भनेर बजार गइरहेका छौं ।

घरबाहिर निस्किँदा जोखिम छ भन्ने थाहा छ । तर, खेतमा तरकारी छिप्पिरहेको हुन्छ । फाल्ने कुरा भएन । हाम्रो कमाई पनि यही हो । तरकारी बिक्री गर्न नजाने हो भने घर खर्च गर्ने पैसा हुँदैन । त्यसैले डरैडरमा बजार जानु पर्छ ।

बीउको मूल्य मात्रै उठाउन भए पनि व्यापारीले तोकेको मूल्यमा जोखिम मोलेरै बजार जाने गरेको छु । आज बिहान बजारमा तरकारी पुर्‍याएर फर्केपछि बारीमा पानी लगाएँ । बीचमा पानी लगाउन नसकेर बारी पनि सुख्खा भएको छ । मेरो दैनिकी बिहान बजार जाने, फर्कने, खाना खाने, दिउँसो तरकारी टिप्न बारीमा जाने अनि बेलुका मुठा पार्ने । लकडाउनमा यसरी नै बितिरहेको छ दिन ।



तरकारी लिएर बजार जाँदा प्रहरीले पनि रोकतोक गर्दैनन् । सहयोग गरिरहेका छन् । प्रहरीले रोक्दा पनि रिसाउँदिन । किनभने उहाँहरुले पनि हाम्रै सुरक्षाको लागि घरभित्रै बस्न भन्नुभएको हो । कोरोनाको औषधि नै घरभित्र बस्नुपर्ने रहेछ । त्यसैले बजार जाँदा पनि भीडभाडतिर नगई फर्कन्छु ।

घरमा श्रीमती र छोरा विवेकलाई घर बाहिर ननिस्कन भनेको छु । बजारबाट फर्केपछि पनि राम्ररी हात धोएर मात्रै घर भित्र छिर्छु । रोग लाग्न नदिन अपनाउनु पर्ने सबै सचेतना अपनाएको छु । तर, बारीमा लगाएको तोरी, गान्टे मुला, धनियाँ, पालुंगो, रायो बारीमै सुक्न दिनु पनि भएन । लकडाउन आफ्नै लागि हो तर, खेतमा तरकारी छ । तरकारी लगाउनेबाहेक अर्को पेसा छैन । त्यसैले सतर्कता अपनाएर बारीमा तरकारी टिप्न जाने र बजारमा तरकारी बेच्न लैजाने गरेको छु । कोरोनाको संक्रमणबाट बच्न आफ्नो र परिवारको स्वास्थ्यमा पनि ख्याल गरिराछु

प्रकाशित : चैत्र १९, २०७६ १९:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×