बेलहिया सीमामा बिजोग भएकी सुत्केरीको उद्धार 

भनिन्, ‘नेपाल आएपछि बचिएजस्तो भएको छ'
अमृता अनमोल

काठमाडौँ — लकडाउनका कारण नेपाल–भारत सीमा नाका बेलहियामा अलपत्र परेकी सुत्केरीको उद्धार भएको छ । दिल्लीको गाजियाबादबाट दुई दिन पैदल हिँडेर आएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरकी ११ दिनकी सुत्केरी लक्ष्मी दर्जीको उद्धार गरिएको हो ।

बेलहिया सीमामा बिजोग भएकी सुत्केरीको उद्धार 

बुधबार तिलोत्तमा नगरपालिका र रुपन्देही जिल्ला प्रशासनले उनको उद्धार गरेका हुन् ।


८ दिनअघि दिल्लीबाट हिँडेकी लक्ष्मी आफ्ना छोरी र श्रीमानसहित २ दिन पैदल र एक दिन बसमा यात्रा गर्दै शनिबार राति सुनौली आइपुगेकी थिइन् । १५ किलोमिटरको दूरीमा घर भए पनि नेपाल पस्न नदिएपछि उनी ५ दिनदेखि सीमा क्षेत्रमा थिइन् । उनलाई नेपाल ल्याउनु साटो मंगलबार ५ किलोमिटर पर नौतनहवास्थित क्वारेन्टाइनमा पठाइएको थियो ।


मंगलबार सुत्केरीको बिजोगबारे इकान्तिपुरमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन र स्थानीय तहलाई उनको उद्धारमा दबाब परेको थियो । दबाबपछि रुपन्देही प्रशासनले भारतको गोरखा सैनिक नौतनहवालाई चिठी लेखेर सुत्केरी महिला र नाबालक शिशुको स्वास्थ्य जोखीममा पर्ने भन्दै पठाइदिन अनुरोध गरेको थियो ।


नौतनहवा प्रशासनले आफैं जोखिम मोलेर लैजान सक्ने बताएपछि तिलोत्तमा नगरपालिकाले एम्बुलेन्स पठाएको थियो । सुत्केरी लिन प्रमुख जिल्ला अधिकारी महादेव पन्थ तथा तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेसहितको टोली सीमा क्षेत्रमा पुगेको थियो । ‘समाचार आएपछि सुत्केरीको संवेदनालाई धेरैले कुरा उठाउनुभयो । त्यही कुरा भारतीय पक्षलाई बताएर ल्यायौं,’ प्रमुख जिल्ला अधिकारी पन्थले भने ।


सुत्केरी लक्ष्मीसहित उनका पति मनोज, ३ सन्तान र अर्घाखाँचीका मीनप्रसाद खनाल आज साँझ ५ बजेतिर बेलहियाबाट नेपाल प्रवेश गरेका थिए । मीनप्रसाद मेरुदण्डका बिरामी हुन् ।

उनीहरुलाई तिलोत्तमा नगरपालिकाको शंकरनगर दुर्गादत्त मावीमा रहेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको खानपानको व्यवस्था नगरपालिकाले गर्नेछ । ‘सुत्केरीका लागि पोषिलो खाना लुगा सबैको व्यवस्था हुन्छ,’ नगरप्रमुख घिमिरेले भने ।


निकै तनाव र थकानपछि नेपाल प्रवेश गरेकी लक्ष्मी पनि उत्साहित थिइन् । ५ दिनसम्म सीमामा रोकिँदा हराएको आश फेरि पलाएको उनले बताइन् । ‘बल्ल बचिएला भन्ने भयो,’ लक्ष्मीले सुनाइन्, ‘सुत्केरी ज्यान, भोक र थकानले प्राण नै जाला जस्तो भएको थियो ।’


हिन्दु परम्पराअनुसार बुधबार शिशुको न्वारान गर्ने र सुत्केरी चोखिनु पर्ने हो । लक्ष्मीले यसो गर्न पाइनन् । बिहान क्वारेन्टाइनमा पुगेपछि बल्ला लुगा फेर्न पाइन् । ‘अब आफ्नै नगरमा गएर नुहाउने, चोखिने र छोरीको नाम राख्नु पर्ला,’ उनले भनिन् ।

प्रकाशित : चैत्र १९, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?