लकडाउनमा तरकारी खोज्‍न घोलमा 

मधु शाही

बाँके — लकडाउनका कारण यहाँका बासिन्दाको दिनचर्या ठप्प छ । मन परेको खानेकुरा खरिद गर्ने अवस्था छैन । अधिकांशका भान्छामा हरियो तरकारी छैन । कतिपयले सुकाएका साग, मूलाका चाना, गुन्द्रुक उमालेर खान थालेका छन् ।

लकडाउनमा तरकारी खोज्‍न घोलमा 

दिउँसो एक निद्रा पूरा गरेपछि महिलाहरू हुल बाँधेर गाउँघर पस्छन् । नदी, खोला, नाला र बारीमा उम्रिएका माटे साग, बेथे र कर्कलो टिप्न थाल्छन् । कोहलपुर नगरपालिका–१२ की रावती थारू पहिले कर्कलो सुँगुरलाई फाँडो पकाएर खुवाउँथिन् । लकडाउनमा अहिले उनको भान्सामा त्यही कर्कलो पाक्न थालेको छ । बजारमा हरियो साग पाइन छाडेकाले उनी आफैं झोला बोकेर खोलानालामा जलुको टिप्न जान्छिन् । ‘हरियो तरकारी देख्न मुस्किल भो’, उनले भनिन्, ‘फुर्सद पनि छ, तरकारीको जोह गर्न गाउँ चहार्छु ।’

छिमेकी चुन्ना केसी लकडाउनयता तरकारी किन्न बजार गएकी छैनन् । घरवरिपरि वास्ता नगरिएका साग टिपेर धानेकी छन् । बारीमा माटे साग भएर पनि बजार धाइरहेकाहरु देख्दा उनी खिन्न हुन्छिन् । ‘त्यही साग किन्नेर खान्छन् तर बारीमा भएको टिप्दैनन्,’ उनले भनिन्, ‘बारीमा खोजेर तरकारी ल्याउने गर्छु ।’

दुई दिनअघि उनका छिमेकीले करेसा बारीको सिस्नो काटेर फाले । उनले त्यही सिस्नोका मुना टिपेर बेलुकाको तरकारी बनाइन् । ‘अनिकालमा घर वरिपरिकै विकल्प खोज्नु राम्रो,’ उनले भनिन् ।


प्रकाशित : चैत्र १९, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?