बुटवल कोरोना अस्पतालमा सामान्‍य बिरामीको मृत्यु भएको भन्दै प्रदेशसभा सदस्यको प्रश्‍न

कान्तिपुर संवाददाता

पाल्पा — बुटवल उपमहानगरपालिकाको कोरोना भाइरसबाट संक्रमितका लागि स्थापना गरिएको अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोप्रति प्रदेश ५ प्रदेशसभा सदस्य वीरबहादुर रानाले शंका व्यक्त गरेका छन् । 

उक्त अस्पतालमा पाल्पा रिब्दीकोट गाउँपालिका- ५ कुसुमखोला सैटोला घर भई रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी बसोबास गर्दै आएका बाबुराम थापाको मृत्यु भएको थियो । ३४ वर्षीय थापा विदेशबाट फर्किएका थिए । उनी बिरामी भएर अस्पताल भर्ना भएका थिए । अस्पताल र सरकारी संयन्त्रले भने उनको मृत्यु कोरोनाबाट नभएको बताएका थिए ।

थापा चैत ६ गते युएईबाट नेपाल आएका थिए । उच्च ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई १३ गते क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा उनको आइतबार मृत्यु भएको थियो । कोरोना परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो । कोरोना परीक्षण गर्ने सरकारी प्रयोगशालाले उनमा कोरोनाको लक्षण नभेटिएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

प्रदेशसभा सदस्य रानाले उक्त अस्पतालले थापाको राम्रोसँग उपचार नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । त्यसरी मृत्यु हुँदा पनि सरकारले सामान्य रूपमा लिनुले गम्भीर प्रश्न उठाएको रानाको भनाइ छ ।

विज्ञप्ति जारी गर्दै रानाले भनेका छन्, 'यस्तो अवस्थामा बिरामीको कोरोना संक्रमण नभई अन्य कारणले मृत्यु हुने अवस्था आउनु दुःखद भएकाले अन्य स्थानीय तहहरूले निर्माण गरेका क्वारेन्टाइन र आइसोलेसन वार्डप्रति गम्भीर प्रश्न उब्जाएको छ ।'

सामान्य ज्वरो, रुघाखोकी लाग्दैमा जोसुकैलाई कोरोनाको आशंकामा क्वारेन्टाइन र आइसोलेसनमा राख्दा अरुले पनि थापाले जस्तै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन प्रदेशसभा सदस्य रानाले सचेत गराएका छन् ।

मृतक थापाको परिवारलाई सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने पनि रानाको माग छ ।

प्रकाशित : चैत्र १९, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपतिको चासो

दिनेशजंग शाह

न्युयोर्क — कोभिड–१९ प्रकोप बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका बारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन् । स्थानीय समय अनुसार मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले फोन मार्फत कोरोना भाइरसको फैलँदो संक्रमण, समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित नेपाली राजदूत डा अर्जुन कार्कीले बताए ।

‘अमेरिकामा रहेका नेपाली र विद्यार्थीहरुबारे राष्ट्रपतिले चासो र चिन्ता देखाउनु भयो,’ कार्कीले कान्तिपुरसँग भने, ‘संक्रमित नेपालीहरुका बारे उहाँले सोध्नुभएको थियो ।’ राष्ट्रपतिले पछिल्लो स्थिति प्रति दूतावासको लगायत गैरआवासीय नेपाली संघ लगायत नेपाली सामाजिक संस्थाको सक्रियताको विषयमा चासो राखेको राजदूतले बताए । विशेषत सर्वाधिक नेपालीहरुको बसोबास रहेको न्युयोर्क सहरको पछिल्लो स्थिति बारे राष्ट्रपतिको चिन्ता रहेको थियो ।

कोरोना संक्रमणले न्युयोर्कमा एक नेपालीको मृत्यु भइसकेको छ भने दर्जनौं संक्रमित भएको अनुमान छ । यद्यपि आधिकारिक तथ्यांक भने उपलब्ध छैन ।

दूतावास र समुदाय सहकार्य

डिसीस्थित नेपाली दूतावासले कोरोना संक्रमणलाई मध्यनजर गर्दै समुदायसँगको सहकार्यको अभियान सुरु गरेको छ । अभियानअन्तर्गत दूतावासले अत्यधिक संक्रमित न्युयोर्क लगायत पचासै राज्यमा रहेका नेपालीहरु सँगको संवाद र अन्तरक्रिया थालेको छ ।

‘विशेषत यो नेपालीको स्थितिबारे जानकारी लिन र आवश्यक परेमा सहयोग एवं सहकार्यका लागि नेपाली संस्थाहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने उदेश्यले सुरु गरिएको’ दूतावासले जनाएको छ । संवाद अभियान अन्तर्गत हरेक एकदिन बिराएर करिब ४ घन्टाको भिडियो कन्फरेन्स आयोजना गरिँदै आएको छ । विभिन्न पेसामा संलग्न लगायत संघ संस्था एवं विद्यार्थीहरुको सहभागिता रहँदै आएको छ । आफनो राज्यमा नेपालीहरुको स्थिति, संक्रमितको जानकारी र उपायको बारेमा छलफल गरिन्छ । ‘दूतावासले समन्वय गरेको हो । यस मार्फत संक्रमित नेपालीहरुको अवस्था एवं तथ्यांकलाई ट्रयाक गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ राजदूत कार्कीले भने ।

मंगलबार साँझको संवादमा अमेरिकाभरबाट दर्जनौं नेपालीहरुको सहभागिता थियो । चिकित्सक, कानुन व्यवसायी, लेखा विज्ञ एवं अन्य क्षेत्रका जानकारहरुले यो परिस्थतिमा कसरी सहयोग लिने विषयमा जानकारी गराएका थिए भने संक्रमितहरुलाई सेल्टरमा राख्ने विषयमा छलफल भएको थियो ।

यसैबीच हाल अमेरिका भ्रमणमा रहेको नेपालीहरुको भिसाको म्याद सकिने अवस्थालाई मध्यनजर गर्दै नेपाली दूतावासले अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ समक्ष आवश्यक पहल थालिसकेको कार्कीले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×