कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

श्रमिकलाई खाद्यान्न सहयोग 

माधव अर्याल

पाल्पा — ‘लकडाउन’का कारण दैनिक गुजारा धान्न मुश्किल भएका श्रमिकलाई खाद्यान्न उपलब्ध गराइएको छ । जिल्लाको माथागढी गाउँपालिका ३, कसेनी सराई क्षेत्रका विपन्न, दैनिक ज्यालादारी मजदुरी गर्ने ३० श्रमिक परिवारलाई राहत प्रदान गरिएको हो ।

श्रमिकलाई खाद्यान्न सहयोग 

अन्य स्थानीय तहले भने अझै राहतका लागि तथ्यांक संकलन गर्न सकेका छैनन् ।

‘लकडाउन’ बाट प्रभावित श्रमजीवी परिवारलाई खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको वडाध्यक्ष दीपक थापाले बताए ।


उनले कसेनीमा झण्डै एक सय १४ परिवार विपन्न, ज्याला मजदुरी गर्ने परिवार रहेपनि पहिलो चरणमा ३० परिवारलाई सहयोग गरिएको जानकारी दिए । बाँकी मजदुर, श्रमिकलाई दोस्रो चरणमा खाद्यान्न उपलब्ध गराइने सराई युवा क्लबका अध्यक्ष खोमबहादुर गाहाले बताए ।


सराई युवा क्लब, वडा कार्यालय, कसेनी स्वास्थ्य चौकी, सराई बजार व्यवस्थापन समिति, स्थानीय नागरिक अगुवाको सहयोगमा राहत संकलन गरिएको थियो । संकलन गरिएको मध्येबाट प्रति परिवार एक किलो दाल, दुई किलो आलु, एक पोका नुन, एक पोका तेल, २० किलो चामल, तरकारीलगायत वितरण गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष राजन बलाल मगरले जानकारी दिए ।


सराईमा ‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई समेत जरिवानास्वरुप खाद्यान्न सहयोग गर्न आग्रह गरिएको छ । राहत प्राप्त गरेकाहरु पनि खुसी भएका छन् । ‘हामीलाई धेरै खुसी लागेको छ,’ राहत पाएकी लीलासरा कामीले भनिन्, ‘क्लबले सहयोग गरेर हामीलाई छाक टार्न मद्दत मिलेको छ ।’


तानसेन बजारमा दैनिक ज्याला मजदुरी गर्ने २२ मजदुरलाई तानसेन नगरपालिका–४ का धर्मेन्द्र गुप्ताले राहत वितरण गरेका छन् । पहिलो चरणको लकडाउनको अवधिभर दैनिक ज्याला मजदुरी गर्ने विपन्न श्रमिकलाई सहयोग गरेको उनले सुनाए । वितरण गरेका खाद्यान्नका सामग्री पूर्ण सुरक्षित र गुणस्तरीय रहेको उनले दाबी गरे ।

प्रकाशित : चैत्र १८, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?