२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बेलहिया नाकामा १० दिनकी सुत्केरीको बिजोग

सिडि‌ओ भन्छन्, 'अब क्वारेन्टाइनमा लाँदैछौं, १५ दिन सबैसँग बस्छिन्'
अमृता अनमोल

बुटवल — १० दिनकी सुत्केरीको दिनचर्या कस्तो होला ? धेरैलाई लाग्ला पोषिलो खाना खाने र आराम गर्ने । तर, रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जीले यस्तो अवसर पाइनन् । भारतको दिल्लीस्थित गाजीयावादमा ९ दिनअघि सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि नेपाल-भारत सीमाको बेलहिया नाकामा छन् ।

बेलहिया नाकामा १० दिनकी सुत्केरीको बिजोग

अन्य नेपालीसँगै आफ्नो देश फर्किएकी उनलाई पनि सुरक्षाकर्मीले सीमा कटेर आउन दिएका छैनन् । अझै कति दिन यसरी बस्नु पर्ने हो उनी आफैंलाई थाह छैन ।


लक्ष्मी भारतको गाजीयावादबाट पैदल र बस यात्रा गर्दै यहाँ आएकी हुन् । २ दिन भारतीय बजार सुनौलीको सडक पेटीमा पल्टिइन् । ‘सडक छेउको घरको पेटी थियो । त्यही चिसो पिढीमा पल्टेर २ दिन बिताएँ,’उनले दुखेसो पोखिन्, ‘पुरै डेढ दिन केही खानेकुरा नखाएर बित्यो।’भोको पेट छोरीलाई दूध चुसाउँदा उनी बेहोशसमेत भइन् । बेहोश हुने र बिउझिने भइरह्यो । अवस्था नाजुक देखेर सशस्त्र प्रहरीले पानी खुवाउँथे ।


सोमबारदेखि बेलहिया समाज र स्थानीयले खाना खुवाएपछि बल्ल उनको प्राण आयो । सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा पस्‍न पनि दियो । बेलहियाका स्थानीयले बस्न टेन्टको व्यवस्था गरी दिए । लक्ष्मी काखमा शिशु छोपेर त्यही टेन्टमा बसेकी छन् । पोषिलो खाना मात्र होइन उनले भोकलाग्दा रुखो खाना पनि खान पाएकी छैनन् । आमाले खान नपाएकै कारण शिशुलाई दूध आएको छैन । दूध खान नपाएकी छोरी छिनछिनमा रोइराखेकी छन् । उनी दूध चुसाएर भुलाउने कोशिश गर्छिन् । तर, छोरीको रुवाइ रोकिन्न । ‘चुस्दा चुस्दा निचोरिएर दूधको मून्टो नै चुडिएलाजस्तो भएको छ । तर दूध आउदैन,’ लक्ष्मीले बेथा पोखिन्,‘यो संकटमा कसरी आफ्नो प्राण बचाउँ । छोरीको कसरी बचाउँ । सोच्न सकेकी छैन।’


सीमामा अलपत्र परेकालाई सोमबार बिहान, साँझ र मंगलबार बिहान स्थानीयले खाना खुवाएका थिए । मंगलबारको साँझ कसले खाना खुवाउँछ वा खुवाउदैन टुंगो छैन । सुत्केरी शरीर करकरी दुखेको छ । तर, गोडा पसार्ने ठाउँ छैन । ३ सय अलपत्रहरुको बीचमा कोचिएकी छन् । खुन बगेका कपडा भिजेका छन् । फेर्न पाएकी छैनन् । नजिक पर्दा गन्हाउने र माखा लाग्ने भएको छ । ‘खानेबस्ने नै टुंगो नभएका बेला नुवाउने धुने भन्ने टाढाको कुरो हो,’लक्ष्मीले भनिन्, ‘सबै दुःख एकैपटक खनिएझैं लागेको छ ।’


लक्ष्मीको यो दुःख सीमामा आएपछिको मात्र होइन । छोरी जन्माउँदा देखि नै सुरु भएको थियो । जब प्रसव बेथा सुरु भयो, दिल्लीमा रहेको गाजियावाद अस्पतालले भर्ना लिन मानेन । जसोतसो हात जोडेर भर्ना भइन् र सुत्केरी भइन् । सुत्केरी भएको २ घण्टा बित्न नपाउँदै अस्पतालले घरमै जान भनेर निकालिदियो । कोठामा फर्किदा घरभेटी झर्किए । त्यतिमात्र होइन अस्पतालमा बसेकाबाट कोरोना संक्रमण हुने भन्दै घरबाटै निकालिदिए ।


सुत्केरी लक्ष्मी अलपत्र परिन् । २ र ३ वर्षे अन्य दुई छोरीसहित पति मनोजले घर जाने निर्णय गरे । कोठामा भएका झिटीझिम्टी कसे । र, दिल्लीबाट नेपाल आउने पैदल यात्रा सुरु गरे । २ दिन पैदल हिँडे । खुनका धारा बगाउँदै सुत्केरी लक्ष्मी अनवरत हिँडिरहिन् । न भोकमा खान पाइन् न थाक्दा बसेर आराम गर्न । शनिबार उत्तरप्रदेश सरकारले अलपत्रको उद्धार गरेर सीमा नाकासम्म पुर्‍याउने भन्दै उनलाई पनि बसमा उठाइदियो । कुन ठाउँबाट बस चढिन्, उनी सम्झन्नन् । बसका फलामे सिटमा कोचीएर उनी शनिबार साँझ सुनौली नाका आइपुगिन् ।


सुनौली नाकाबाट करीब १५ किलोमिटरमा उनको घर छ । तर, कोरोना संक्रमण हुने भन्दै नेपाली सुरक्षाकर्मीले घर जान दिएका छैनन् । हिन्दु परम्पराअनुसार बुधबार छोरीको न्वारान गर्नुपर्छ । सुत्केरीले नुहाएर चोखिनुपर्छ । सीमामा अलपत्र लक्ष्मीले भनिन्, ‘तर, कोरोनाले सबै रीतिथीति सपनाजस्तै बनायो।’


बेलहिया नाकामा भारतीय सहरबाट फर्केका २ सय ९० नेपाली छन्। त्यसमध्ये १५ महिला छन् । भारतीय सुरक्षाकर्मीले सुत्केरीसहित सबैलाई नौतनवा नजिकको क्वारेन्टाइनमा लगेर राख्ने बताएको छ । तर, साँझसम्म लगेको छैन । ‘रातिसम्म व्यवस्थापन होला,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘अब सुत्केरीसहितका सबै १५ दिन त्यतै बस्नेछन् ।’

प्रकाशित : चैत्र १८, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?