कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भैरहवामा प्रयोगशाला स्थापना तयारी तीव्र

माधव ढुंगाना

भैरहवा — सरकारले भैरहवामा स्थापना गर्ने भनेको प्रदेश ५ स्तरीय कोभिड–१९ को प्रयोगशाला बनाउन लागिएको बिउबिजन कार्यालय भवनको मर्मत सुरु गरिएको छ । सरसफाइ, रंगरोगन, विद्युत् मर्मतको काम भइरहेको छ ।

भैरहवामा प्रयोगशाला स्थापना तयारी तीव्र

प्रयोगशाला सञ्चालनका लागि आवश्यक पर्ने उपकरण र जनशक्ति कसरी जुटाउने भन्ने बारेमा भने अझै टुंगो लागेको छैन । प्रयोगशाला सञ्चालनमा आउन दुईदेखि तीन हप्ताको समय लाग्ने सरोकारवालाले बताएका छन् ।


गत चैत १० गते प्रदेश मन्त्रिपरिषद्को बैठकले प्र्रदेशस्तरीय कोभिड–१९ को प्रयोगशाला भैरहवास्थित बिउबिजन कार्यालयको भवनमा स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक पर्ने मुख्य उपकरण संघीय सरकारले उपलब्ध गराउने भने पनि भवनमा कुनै उपकरण आइसकेका छैनन् ।


प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय प्रमुख डा.राजेन्द्रकुमार गिरीले उपकरण र जनशक्तिसहितको पूर्वाधार तयार हुनासाथ तत्कालै प्रयोगशाला सञ्चालनमा आउने र यसका लागि सबै प्रक्रिया अघि बढेको बताए । ‘अहिले हामी प्रयोगशाला स्थापनाकै प्रक्रियामा छौं,’ उनले भने, ‘प्रयोगशाला चाँडो सञ्चालनमा ल्याउनका लागि सबै परिस्थिति सहज र सहयोगको जरुरी छ ।’


उनका अनुसार कोभिड–१९ को भाइरस परीक्षण गर्ने रियलटाइम पीसीआर र पोटेवल पीसीआर गरी दुई किसिमका उपकरण आवश्यक पर्छन् । दुवै उपकरण सञ्चालनका लागि बायो सेफ्टी लेवल (प्रयोगशालामा बाहिरी हावासमेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमुनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण) तयार हुनुपर्छ ।


यसका लागि रियलटाइमको तुलनामा पोर्टेबल उपकरणलाई थोरै स्थान, कम जनशक्ति र छिटो बायोसेफ्टी लेवल तयार पारी सञ्चालनमा ल्याउन सकिन्छ । ‘पोर्टेबल मेसिनलाई एक दुईवटा कोठालाई इयरटाइट गरेर र प्राविधिकलाई दुई चार दिनको प्रशिक्षण दिएर सञ्चालनमा ल्याउन सकिन्छ,’ गिरीले भने, ‘अर्को मेसिनलाई धेरै दिन लाग्छ ।’


मुख्य उपकरण आएपछि पनि बायोसेफ्टी लेवल तयार पार्नका लागि चाहिने अन्य उपकरणको खरिद प्रक्रिया र जनशक्ति कसरी जुटाउने भन्नेबारेमा अझै टुंगो लागेको छैन । अन्य उपकरण खरिदका लागि टेण्डरबाट जाने वा विशेष परिस्थितिका कारण सहजीकरण गर्ने भन्ने पनि यकिन छैन । उपकरण खरिदका लागि बजेट विनियोजन पनि हुन बाँकी छ ।


कोभिड–१९ को भाइरस परीक्षण गर्ने रियलटाइम पीसीआर उपकरण अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा मात्र छ । पोर्टेबल उपकरणबाट नमुना परीक्षण गर्दा नेगेटिभ देखिएमा पुनः परीक्षण गर्न नपर्ने र यदि पोजेटिभ देखिएमा पुनः परीक्षणका लागि रियलटाइम पीसीआर उपकरण रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएर यकिन गरिने गिरीले जनाए । ‘अहिले नेगेटिभ देखिने नमुना पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्दा त्यहाँ चाप धेरै भएको छ,’ उनले भने, ‘यहाँ पनि पोटेवल उपकरण आउने सम्भावना धेरै छ ।’

प्रकाशित : चैत्र १७, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?