कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बाहिरबाट फर्कनेको लर्को, २३ जनामात्रै क्वारेन्टाइनमा

हरि गौतम

रुकुम पश्चिम — केही दिन अघिसम्म भारत तथा तेस्रो मुलुकबाट जिल्लामा आउनेको  लर्को लाग्यो । तर, अधिकांश यात्रु क्वारेन्टाइनमा बस्न नमान्दा २३ जना मात्र क्वारेन्टाइनमा छन् । 

बाहिरबाट फर्कनेको लर्को, २३ जनामात्रै क्वारेन्टाइनमा

स्थानीय तहहरुले संकलन गरेको तथ्यांकअनुसार आइतबार बिहानसम्म भारतबाट चार सय ६१ र अन्य तेस्रो मुलुकबाट २७ गरी चार सय ८८ जना यात्रु जिल्ला भित्रिएका छन् । केही व्यक्ति विभिन्न बाटोबाट लुकिछिपी भित्रने क्रम पनि जारी छ । तर, सदरमुकामस्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ७ र चौरजहारीस्थित शितल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १६ जना मात्र बसेका छन् । मुसीकोटमा ८९ जना भारत र ३ जना अन्य मुलुकबाट आएका थिए भने चौरजहारीमा भारतबाट एक सय ९३ र अन्य मुलुकबाट पाँचजना भित्रिएका थिए ।


बाटोमा आउँदै गर्दा विभिन्न नाकामा चेकजाँचको क्रममा स्वास्थ्यमा समस्या नदेखिएको भन्दै यात्रुले क्वारेन्टाइनमा बस्न नमानेको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए । उनका अनुसार बाँफिकोटमा एक साताको अवधिमा भारतबाट ४९ र चारजना अन्य मुलुकबाट फर्किएका थिए । ‘मापदण्डअनुसार क्वारेन्टाइन मेन्टेन गर्न पनि सकिएको छैन,’ उनले भने, ‘बनाइएका कतिपय क्वारेन्टाइनमा पनि बाहिरबाट आएकाहरु बस्न नमान्ने समस्या छ ।’ उनले घरमै क्वारेन्टाइनमा बस्छौं भनेपछि जवरजस्ती गर्न नसकिएको तर, निगरानीमा राखिएको जानकारी दिए ।


क्वारेन्टाइनमा बस्न नमान्ने समस्या सबै स्थानीय तहमा रहेको यमुनानन्द नमुना माविका शिक्षक गोपाल केसीले बताए । ‘सबै सुरक्षित होलान्, तर पनि क्वारेन्टाइनमा राखेर घर पठाएको भए ढुक्कले सुरक्षाको अनुभूति गर्न सकिन्थ्यो,’ उनले भने, ‘सबैजना जथाभाबी गाउँ पस्दा संक्रमणको जोखिम बढ्दै गएको छ ।’


सानीभेरी गाउँपालिकाले भारतबाट ७५ र कतारबाट एकजना फर्किएको जनाएको छ । गाउँपालिका अध्यक्ष नरबहादुर पुनले क्वारेन्टाइनमा बस्न आग्रह गरिए पनि नमान्दा समस्या भएको बताए । ‘सबैले होम क्वारेन्टाइनमा बस्छौ भनेकाले जबरजस्ती गरेर क्वारेन्टाइनमा राख्न सकिएन,’ उनले भने, ‘त्यसैले हेल्थ डेस्कमा चेकजाँचलाई प्रभावकारी बनाइएको छ ।’


आठबीसकोट नगरपालिकामा भारतबाट २८ र अन्य मुलुकबाट ७ जना तथा त्रिवेणी गाउँपालिकामा भारतबाट २७ र सातजना अन्य मुलुकबाट आएको तथ्यांक छ । तर, दुवै स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेको संख्या शून्य छ । कोरोना संक्रमणको आशंकामा जिल्लाबाट एकजनाको स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । उनका अनुसार क्वारेन्टाइनमा बसेका अरु २२ जनाको नमुना परीक्षण गरिएको छैन ।


प्रजिअ पौड्यालले जिल्ला अस्पतालमा बिहीबार एक र शनिबार १३ वटा पिपीई आइपुगेको जानकारी दिए । ‘क्वारेन्टाइन र आइसोलेसन बनाइएको छ, पिपिई पनि आयो,’ उनले भने, ‘स्थानीय तहसँगको समन्वयमा जोखिमयुक्त परिस्थितिको सामना गरिरहेका छौं ।’ उनका अनुसार जिल्लाभरिको अवस्था अहिलेसम्म सामान्य छ ।

प्रकाशित : चैत्र १६, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?