३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘लकडाउन’ मा पाक्दै थरिथरिका परिकार

–सेल्फ क्वारेन्टाइनका रुपमा घरमै बसेका धेरैले फुर्सदको समयलाई सदुपयोग गर्दै पकाउन सिकिरहेका छन् भने केहीले सिकाइ पनि रहेका छन् ।
सन्जु पौडेल

(रूपन्देही) — आइतबार बिहान मैदा मुछेर राखिन् । दिउँसो म:म: खाने परिवारको सल्लाहअनुसार पिठो मुछेको उनले सुनाइन् । बुटवल उपमहानगरपालिका–८, सुक्खानगरकी शान्ता पाण्डेको झोला उद्योग छ । परिकार बनाउन रुचि लागे पनि अरुबेला उनलाई फुर्सद मिल्दैनथ्यो ।

‘लकडाउन’ मा पाक्दै थरिथरिका परिकार

‘अहिले लकडाउनको सदुपयोग गरेर हरेक दिन फरक–फरक खाना र खाजा बनाइरहेको छु,’ उनले भनिन्, ‘हरेक दिन के खाने भन्नेमा मात्र ध्यान जान्छ ।’ यसैबेला परिवारलाई धेरै समय दिन पाएकोमा उनी खुसी छन् । ‘अहिले ढुक्कले पकाउने र परिवारसँगै खाने समय पाएका छौं । पहिले आधा घण्टा खाजा खाने समय पनि हुँदैनथ्यो । फटाफट खाएरै कामदारसँगै उद्योगमा हाजिर हुनुपथ्र्यो,’ उनले भनिन् ।


लकडाउन सुरु भएपछि उनले विभिन्न परिकार बनाएर परिवारलाई खुवाइरहेकी छन् । पकाउने विधिका लागि उनी सामाजिक सञ्जाल युट्युबको सहयोग लिन्छिन् । यसबीचमा सेलरोटी, म:म:, पुरी, तरकारी, भटमास, आलुको अचार, चुकौनी, मैदाको पिठोबाट बन्ने स्टिम रोटी पकाएको उनले सुनाइन् । ‘अरू काम छैन, युट्युब हेरेर सिक्यो, पकायो अनि खायो, सुत्यो । फेरि उस्तै दिनचर्या,’ उनले हाँस्दै भनिन्, ‘मुखले फरक–फरक स्वाद पाइराछ ।’


बुटवल–११, देवीनगरकी आरती गौतमलाई पनि दिउँसोमा अचेल फुर्सद छैन । ‘अघिपछि काममा व्यस्त रहने श्रीमान् अहिले घरमै बस्न थालेपछि मिठोमिठो पकाएर खान जाँगर चलेको छ,’ उनले भनिन्, ‘लकडाउनले ठिकै गर्‍यो ।’ अरुबेला मिठो र नयाँ परिकार पकाए पनि श्रीमान्लाई खाने फुर्सद नहुने गरेकोमा अहिले परिकारसँगै प्रशंसा पनि पाइराखेको अनुभव सुनाइन् । ‘अहिलेसम्म च्याउको छोइला, जलुकाको पकौडा, चिउरा र आलु तारेको, आलु परौठा, टिमुरको चटनीलगायत बनाएर खुवाएको छु,’ उनले आफूले तयार गरेको परिवारको नाम सुनाइन् ।


कोभिड–१९ को सम्भावित संक्रमण नहोस् भन्न सरकारले गत मंगलबारबाट देशभर लकडाउन गरेको छ । उक्त आदेशलाई केही स्थानमा उल्लंघन गरेको पाइए पनि यहाँका अधिकांश घरमै बसिरहेका छन् । केहीले यसलाई परिवारसँग समय बिताउने माध्यम ठानेका छन् भने व्यापार, व्यवसायमा व्यस्त रहने र उद्योगधन्दा गर्नेहरूले काममा केही असर परेको गुनासो गरेका छन् । तर, सेल्फ क्वारेन्टाइनका रुपमा घरमै बसेका धेरैले भने समयको सदुपयोग गर्दै पकाउन सिकिरहेका छन् भने केहीले सिकाइ पनि रहेका छन् ।


तिलोत्तमा–६ कि विद्या न्यौपानेले शनिबार थुक्पा पकाइन् । श्रीमान्ले मिठो मानेर खाए । उनी शिक्षक र उनका श्रीमान् बैंकर हुन् । ‘बिदा पनि भयो, सँगै बसेर मिठोमिठो खान पाइएको छ,’ उनले भनिन्, ‘काम गरिराखेको बानी छटपटि हुने रहेछ ।’ सधंै अरुले पकाएको खाजा खाने गरेकी उनले घरमै आफैंले पकाउँदाको अनुभव पनि राम्रै सँगालेको सुनाइन् ।


होटल व्यवस्थापन विषय पढेका विशाल भण्डारी कलेज जाने बाहेक क्रिकेट खेल्न रुचाउँथे । तर, सेल्फ क्वारेन्टाइनमा बस्नुपरेपछि सुरुमा उनी केही निराश बनेका थिए । पढेको सिपलाई व्यवहारमा उतार्न भन्दै भान्सामा काम गर्न थालेपछि भने दिन कटाउन समस्या नभएको उनी बताउँछन् । ‘पढ्दाखेरीको सिकाइलाई व्यवहारमा उतार्दै छु । यसबीचमा परिकार त कति पकाएँ, पकाएँ,’ सुनाउँदै गर्दा उनी प्रसन्न देखिन्थे ।


घर बसेको ६ दिनमा विशालले १२ वटाभन्दा बढी परिकार पकाइसकेका छन् । चिज पास्ता, पनिर बिरयानी, म:म:, अन्डा करी, मसरुम चिल्ली, फुल्की, समोसा, रसवरी आदि पकाएर परिवारलाई खुवाएको विशालले सुनाए । यसबीचमा पकाउने सिप पनि थप माझिएको उनको अनुभव छ । ‘घरमा बस्यो, मोबाइल पनि कति चलाउनु,’ उनले भने, ‘सबैका फेसबुक वाल र स्टोरीमा खानाका परिकार नै पोस्टिएका हुन्छन् ।’ आफूले पकाएका परिकारसमेत साथीभाइलाई म्यासेन्जरमा पठाइदिने र उनीहरूले पठाएका परिकारको तस्बिर हेरेर समय बितिरहेको उनको भनाइ छ ।


अहिले सबैका घरमा चाडपर्व आएसरह केही न केही नयाँ परिकार पाकिरहेको सामाजिक सञ्जालबाटै पनि थाहा पाउन सकिन्छ । फुर्सदका समयमा परिकार बनाउन र खानमा रमाइरहेका यहाँका धेरै स्थानीय स्वादसँग त जानकार भएका छन् तर, यस्ता परिकारमा हुने अधिक चिल्लो, गुलियो, अमिलोको मात्राले स्वास्थ्यमा पार्ने असरबारे भने अनभिज्ञ छन् । चिकित्सकहरु भने घरमा बसिरहनु पर्ने भएकोले सादा खाना खान सुझाउँछन् । चिल्लो पदार्थयुक्त खानाले स्वस्थ तथा साधारण मानिसको सतर्कता र चलाख हुने क्षमतामा असर गर्ने फिजिसियन डा. सुन्दर पाण्डेले बताए । चिल्लो परिकारले ग्यास्ट्राइटिस समेत हुनसक्ने उनको भनाइ छ ।


‘मिठाइलगायतका परिकारमा प्रयोग हुने चिनी, तेल, घिउ, वनस्पति घिउ तथा खुवाले यसलाई हेभी क्यालोरीयुक्त बनाउँछ,’ उनले सचेत गराए, ‘स्वास्थ्यको ख्याल नगरी जथाभाबी खानेकुरा खाने बानी पनि धेरैमा हुन्छ । यसरी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ ।’

प्रकाशित : चैत्र १६, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?