कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश ५ का ९० स्थानीय तहमा क्‍वारेन्टाइन 

अमृता अनमोल

बुटवल — कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रदेश ५ का स्थानीय तहसम्म सचेतना कार्यक्रम र सक्रियता बढेको छ । प्रदेश सरकारको समन्वयमा १२ जिल्लाकै स्थानीय तहहरुले धमाधम  क्वारेन्टाइन निर्माण गरेका छन् । भारतसहित तेस्रो मुलुकबाट हालै नेपाल आएका नागरिकलाई ती क्‍वारेन्टाइनमा राखिएको छ । 

प्रदेश ५ का ९० स्थानीय तहमा क्‍वारेन्टाइन 

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमण रोकथामका लागि लागि प्रदेशका एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । १ सय ९ मध्ये ९० स्थानीय तहले क्वारेन्टाइन बनाएका छन् । तिनमा दुई हजार तीन सय बेड तयार भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । उनका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहमा क्वारेन्टाइन छन् । तिनमा ३ सय ५४ वटा क्वारेन्टाइन बेड तयार भएका छन् । ८ वटामा क्वारेन्टाइनमा भारतीय सहरबाट आएका नागरिक राखिएको छ ।

जिल्लास्तरमा कपिलवस्तुमा १६, नवलपरासी पश्चिममा १४, पाल्पामा २३, गुल्मीमा २६ र अर्घाखाँचीमा ३४ स्थानमा क्वारेन्टाइन छन् । बर्दियामा १९, बाँकेमा ८ , दाङमा १६, रोल्पामा ५ , रुकुम पूर्वमा २ र प्यूठानमा १६ स्थानमा क्वारेन्टाइन छन् । क्वारेन्टाइनमा राखेका व्यक्तिलाई १४ दिनसम्म कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएमा घरमा पठाइने छ।


प्रयोगशाला स्थापना हुँदै

प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना प्रक्रिया अघि बढाएको छ । भैरहवाको अञ्चलपुरमा रहेको गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउन लागेको हो ।


प्रयोगशाला बनाउन गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवन तयारी अवस्थामा छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रयोगशालामा रियल टाइम पीसीआर मेसिनलगायत उपकरण जडान गरेपछि सञ्चालनमा ल्याउन सकिने बताए । ‘त्यसका लागि काठमाडौंबाट उपकरण तथा कीट मगाएका छौं,’ उनले भने, ‘सामान आएपछि सेवा सुरु हुनेछ ।’


अहिले प्रदेशका नमुना काठमाडौं पठाउने गरिएको छ । कोरोना भाइरससँगै भविष्यमा अन्य संक्रामक रोगहरुको परीक्षणका लागि पनि प्रयोगशाला चाहिने भएकाले अन्तर्राष्ट्रिय मापदण्डको र सुविधासम्पन्न प्रयोगशाला निर्माणमा जुटेको मन्त्री बरालले बताए ।

प्रकाशित : चैत्र १६, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?