कटुवाल घोकाएर कोरोनाविरुद्ध सचेतना

अपरिचितलाई गाउँ भित्रन नदिन ठाउँठाउँमा बार, कतै रुख ढालेर सडक अवरोध
अगन्धर तिवारी

पर्वत — विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न पर्वतको जलजला गाउँपालिकाले कटुवालमार्फत पनि सचेतना प्रवाह गर्न थालेको छ। गाउँगाउँमा नियमित 'घोक हाल्ने' अभियान थालिएपछि बिर्सिइँदै गएको कटुवाल पेसाको महत्व पुनः बढेको छ।

कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकले गाउँवासीलाई सतर्क बनाउन कटुवालमार्फत नियमित घोक हाल्ने अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए। ‘कटुवालले कर्नाल बजाएपछि सबै गाउँलेका कान ठाडाठाडा हुन्छन्,’ उनले भने, ‘बूढापाकाले अरुले भन्दा कटुवालकै कुरामा बढी विश्वास गर्छन्।’ उनका अनुसार हरेक दिन गाउँबीचको अग्लो स्थानमा पुगेर कटुवालले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, बिनाकाम एकअर्काको घरमा नजान र भिडभाड हुने ठाउँमा नजान सूचना दिने गरेका छन्।


बाहिर जानुपरे वडाध्यक्ष वा प्रहरीलाई खबर गर्न पनि उनीहरु सुझाउँछन्। 'स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सफाइमा ध्यान दिन कटुवालले सुझाउँछन्,' अध्यक्ष मल्लले भने, 'रोकथामका उपाय अवलम्बन गर्न र कुनै लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत आग्रह गर्ने गरेका छन्।'


यसैबीच, जलजलाका विभिन्न गाउँमा जिल्लाबाहिरबाट आउनेहरुलाई रोक्न बार लगाउन थालिएको छ। जलजला–५ का कान्छा पुनमगरका अनुसार बाहिरबाट आउने नयाँ व्यक्तिलाई रोक्न स्थानीय खोलाका पुलमा बार लगाउने, मुख्य सडक तथा पैदलमार्गमा रुख ढलाएर रोक्न स्थानीय युवाहरु सक्रिय छन्। गाउँ आउनैपर्ने व्यक्ति भएमा उनको कम्तीमा दुई साता लामो यात्रा विवरण सोधेर मात्रै गाउँ भित्रिन दिइएको उनले बताए।

प्रकाशित : चैत्र १५, २०७६ १७:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्णालीमा २५८ आइसोलेसन बेड तयार

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले १० वटै जिल्लाका अस्पतालमा आइसोलेसन बेड बनाउने काम तीव्र पारेको छ । हालसम्म कर्णालीमा २ सय ५८ आइसोलेसन बेड तयारी अवस्थामा रहेका प्रदेश सरकारले जनाएको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १ सय २० आइसोलेसन बेड तयारी अवस्थामा छन् ।

प्रदेश अस्पतालमा ५०, दैलेखमा ३०, सल्यानमा २२, रुकुममा ५, डोल्पामा ८, हुम्लामा ३, जाजरकोटमा ६, मुगुमा ७ र कालीकोटमा ७ आइसोलेसन बेड तयारी अवस्थामा रहेका उनले बताए ।

प्रदेश सरकारले बिहीबार मन्त्रिपरिषद्को बैठकबाट कर्णालीका तीन अस्पतालमा आइसोलन बेड र अन्य आवश्यक सामग्री थप गर्नका लागि भन्दै साढे २ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक/एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बजेट छुट्याउने निर्णय गरेको थियो । उक्त बजेट आईतबारसम्म तीनवटै अस्पतालमा पठाइसक्ने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए । यो बजेटले अस्पतालमा आइसोलेसन बेड थप्ने र अन्य उपकरण खरिदलगायत काम गरिने उनको भनाइ छ । यो बजेटले आइसीयु, भेन्टिलेटर, मेडिकल किटस्लगायत खरिद गरिने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले ५० वेड आइसोलेसन तयारी अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार एक परियोजनाले ५० बेड सहयोग गर्ने भएको छ । उनका अनुसार अस्पतालले आवश्यक मेट्रस पनि मगाइसकेको छ । ‘प्रदेश अस्पतालले दिने बजेटले अरु बेड थप हुनेछन्,’ उनले भने,’ उनले भने, ‘हामीले अर्डर गरेको मेट्रस आएपछि पनि दुई सय बढीका लागि बेड तयार हुन्छन् ।’ प्रदेश सरकारले आइसोलेसन बेडसँगै जनशक्ति पनि थप गर्न पहल गर्नुपर्ने डा. खड्काले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले १ सय २० आइसोलेसन तयारी अवस्थामा रहेको भन्दै प्रदेश सरकारको बजेटले बेड थपेसँगै अन्य आवश्यक उपकरण खरिद गरिने बताए । उनका अनुसार प्रतिष्ठानमा जनशक्ति पर्याप्त मात्रामा छन् । प्रतिष्ठानमा कार्यरत ४५ जना चिकित्सक नै बिदा नलिई काममा खटिइरहेका उनले बताए । ‘डाक्टर कर्मचारी कसैलाई पनि छुट्टि नदिएर हामीले खटाईरहेका छौँ,’ उनले भने, ‘कोरोनाको संक्रमण कर्णालीमा पनि देखिएमा त्यसको सामना गर्नका लागि डाक्टरहरुको हौसला बढाउने काम पनि भइरहेको छ ।’

चौरजहारी सामुदायिक अस्पतालका अस्पताल प्रशासक डिलबहादुर गिरीले तत्काल ४ बेड मात्र आइसोलेसन तयारी अवस्थामा राख्ने गरी काम गरिरहेको बताए । ‘बेड त हामी बढाउन सकिहाल्छौँ,’ उनले भने, ‘तर आइसोलेसनमा संक्रमितलाई राख्नुपरेको खण्डमा त्यसका लागि जनशक्ति र उपकरण पनि चाहिन्छ, अहिले अस्पतालमा भएको जनशक्तिले मात्रै सकिँदैन ।’

उनले स्वास्थ्यकर्मीलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), मास्क र अन्य उपकरण पनि नभएको भन्दै यसतर्फ कर्णाली सरकार सचेत हुनुपर्ने बताए । प्रशासक गिरीले आफूहरु तयारीमा अवस्थामा बसेको उल्लेख गर्दै कम्तिमा पनि ४ सिफ्टमा काम गर्न पुग्ने गरी स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गर्नुपर्ने जनाए । साथै उनले कोरोनाको संक्रमण छ/छैन भनी नमुना संकलन गर्न पनि समस्या हुने बताए । ‘स्याम्पल जाँच गर्ने कर्णालीमै सुविधा छैन,’ उनले भने, ‘स्याम्पल लिएर तुरुन्तै काठमाडौं पठाउन पनि समस्या हुन्छ, यसतर्फ पनि कर्णाली पहिले नै सजग भई कर्णालीमै ल्याबको व्यवस्था गर्न सरकार लाग्नुपर्छ ।’

प्रकाशित : चैत्र १५, २०७६ १७:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×