१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्यूठानका स्थानीय तहले मजदुरी गर्नेलाई खाद्यान्‍न वितरण गर्ने

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठानका स्थानीय तहले लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न समस्या परे खाद्यान्न प्रदान गर्ने भएका छन् । 

नौबहिनी, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकाले खाद्यान्न राहत प्रदान गर्ने घोषणा गरेका छन् । लकडाउन अवधिमा काम गर्न नपाएर भौकै रहने अवस्था नहोस् भनेर राहत प्याकेज लैजाने योजना बनाएको नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले बताए । उनीहरुलाई वडा कार्यालय मार्फत घरघरमा खाद्यान्न पुर्‍याउने योजना बनाएको रिजालले जानकारी दिए ।


परिवारको सदस्य संख्याका आधारमा एक घरपरिवारलाई २५ किलोग्रामदेखि ५० किलोग्रामसम्म चामल,पाँच किलो दाल, एक एक पोका नुन,तेललागायत अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन थालिएको नौबहिनीका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । गाउँपालिकाका ८ वटै वडामा पहिलो चरणमको प्याकेज अन्तगत २ सय क्वीन्टल चामल र २० क्वीन्टल दाल नुन,तेल वितरण गर्ने योजना बनेको भण्डारीले बताए ।


माण्डबी गाउँपालिकाले दैनिक गुजारा चलाउन नस्क्ने परिवारलाई १५ दिनसम्म पुग्ने चामल, दाल नुन र तेल वितरण गर्ने निर्णय गरेको पालिकाले जनाएको छ । पालिकाले एक वडामा २५ परिवार रहेको अनुमान गरेर खाद्यान्न वितरण गर्न थालेको जनाएको छ ।


पालिकाले उद्योग वाणिज्य संघ माण्डवी बजार इलाका, योगी पम्पका प्रोपाइटर दामोदर योगीलगायतको सहगोगमा खाद्यान्न वितरण गर्न थालिएको पालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए ।


यस्तै प्यूठान नगरपालिकाले विपन्न दैनिक मजदुरी गरेर गुजारा गर्ने परिवारको लगत लिएर खाद्यान्न राहत दिने योजना बनाएको जनाएको छ । यसकालागि नगर भित्रका १० वटै वडा कार्यालयहरुलाई निर्देशन दिइसकिएको मेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।

प्रकाशित : चैत्र १५, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?