उच्च ज्वरोपछि आइसोलेसनमा, स्वाब परीक्षण गर्न छैन सामग्री

काशीराम डाँगी

(रोल्पा) — कोरोना भाइरस (कोभीड–१९) बाट संक्रमित भएको आशंकामा रोल्पामा एक जनालाई आइसोलेसनमा राखिएको छ । रोल्पा नगरपालिका–६ कोटगाउँका ५८ वर्षका गुमान विक राजधानी काठमाडौंको एक इँटाभट्टामा काम गर्थे । ज्वरो आएपछि रोल्पा फर्किएका उनलाई बिहीबारदेखि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख अनिल केसीले बिरामी भएर अस्पतालमा आएपछि थप उपचार गर्दै उनको स्वास्थ्य अवस्थाबारे अनुसन्धान गर्न अस्पतालमा राखिएको बताए । केही दिनअघि घर फर्किएका उनलाई उच्च ज्वरो आएपछि गाउँलेले अस्पताल ल्याएका थिए । उनलाई थप केही दिन राखेर उपचार गर्ने व्यवस्था मिलाइएको चिकित्सकले जनाएका छन् । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


गुमानका परिवारका अन्य सदस्यलाई घरमै क्वारेन्टाइनमा राखिएको रोल्पा–६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगरले बताए ।


जिल्ला अस्पतालमा चार वटा आइसोलेसन कक्ष तयार गरिएको छ । यसबाहेक विदेशबाट आएका माडी गाउँपालिकाका दुई जना यसअघि नै घरमै क्वारेन्टाइनमा बसेका छन् । त्रिवेणीमा पनि दुई जनालाई यसैगरी घरमै बसालिएको छ ।


कोरोना संक्रमणको सम्भावना भएका शंकास्पद बिरामीको स्वाब संकलन गर्न अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री नरहेको चिकित्सकहरुले गुनासो गरेका छन् । आइसोलेसनमा राखिएका गुमानको स्वाबसमेत लिइएको छैन । कोरोना भाइरसको नमूना परीक्षणका लागि स्वाब संकलन गर्न भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) आवश्यक पर्छ । भीटीएममा बिरामीको स्वाब संकलन गरेर परीक्षणको सुविधा भएका अस्पतालमा पठाउन सकेमा मात्रै कोरोना भए नभएको प्रमाणित गर्न सकिने अस्पतालका चिकित्सक डा. प्रकाशबहादुर बुढा बताउँछन् ।


स्थानीय घरमा नबस्दा समस्या

भारतलगायत विदेशबाट धेरै संख्यामा मानिसहरु फर्के पनि जिल्लामा उल्लेख्य संख्यामा क्वारेन्टाइन निर्माण गरिएको छैन । केही स्थानीय तहले क्वारेन्टाइन बनाउन पहल गरे पनि अधिकांंश स्थानमा यसबारे जानकारी नै नरहेको पाइएको छ । क्वारेन्टाइन नभएको तथा आगन्तुकलाई यसबारे जानकारी नगराइएकाले अधिकांश मानिसहरुले ‘लकडाउन’ को पालना समेत गरेका छैनन् ।


थबाङस्थित पूर्वशिक्षक गिरिश पुनले सरकारले लकडाउन गरे पनि सहरबाट गाउँ फर्केकाहरु समूह बनाएर घुमघाम गर्दै आएको बताए ।स्थानीय तहले यसबारे थप चेतना बढाउनुपर्ने उनले सुझाव दिए । थबाङमा गाउँपालिका र वीर बलभद्र माविको नयाँ भवनमा क्वारेन्टाइन तयार गरिएको छ ।


पर्याप्त जनेचतना अभावमा भारतबाट आएकालाई घरमा बसाल्न निकै प्रयास गर्नुपरेको पश्चिमी रोल्पास्थित गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीले दुखेसो पोखे । ‘निश्चित स्थानमा क्वारेन्टाइन बनाइएको छैन । हामीले घरमै बस्न सूचना गरेका छौं,’ अध्यक्ष खत्रीले भने ।


घरमै सुरक्षित तरिकाले बस्न नमान्नेहरुलाई प्रहरी र स्वास्थ्यकर्मीको टोलीले दबाब दिन बाध्य भएको उनको भनाइ छ । लकडाउन घोषणालगत्तै गंगादेवमा भारतबाट मात्रै तीन सयदेखि चार सय ५० जनासम्म घर फर्किएको उनको अनुमान छ ।


त्रिवेणी गाउँपालिकाका सात वडामा रहेका स्वास्थ्य चौकीको अगुवाइमा क्वारेन्टाइन निर्माण गरेको गाउँपालिंकाका अध्यक्ष शान्तकुमार वलीले बताए । वडामार्फत सबैलाई घरैमा क्वारेन्टाइनमा बस्न अनुरोध गरएिको उनले जानकारी दिए ।


जनचेतना जगाउन स्थानीय तहको क्रियाशीलता

विदेशबाट फर्किएकाहरुको सूची तयार पार्दै जिल्लाका रुन्टीगढी, सुनछहरी, सुनिलस्मृति, लुङ्ग्री गाउँपालिकाले उनीहरुलाई घरमै बस्न आग्रह गरेका छन् । रोल्पा नगरपालिकासहित माडी, थबाङ, परिवर्तन लगायतमा भने जनचेतना जगाउने कार्य न्यून मात्रै देखिएको छ ।


प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राज्यले सबै स्थानमा लकडाउन गरेकाले स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा जनचेतना जगाउँदै स्थानीयलाई संक्रमण हुनबाट जोगाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।


कोरोना संक्रमण बढ्न थालेपछि भारतलगायत विदेश पुगेका करिब १० हजार रोल्पाली घर फर्किएका छन् । उनीहरुमध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् ।


प्रकाशित : चैत्र १४, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?