टोल–टोलमा तगारो : क्‍वारेन्टाइनमा नबसी सोझै गाउँ छिर्नेलाई प्रवेश निषेध

प्रदेश ५ ब्युराे

(बुटवल) — भारतलगायत मुलुकबाट भित्रिएका मानिस क्‍वारेन्टाइनमा नबसेर सिधैं गाउँ छिर्न थालेपछि टोल–टोलमा तगारो लगाउन थालिएको छ । कतिपय ठाउँमा भर्खरै छिरेका मानिस पहिल्याउन अभियान थालिएको छ । 

टोल–टोलमा तगारो : क्‍वारेन्टाइनमा नबसी सोझै गाउँ छिर्नेलाई प्रवेश निषेध

बुटवलको देवीनगर प्रवेश गर्ने तीनकुनेको पुलमा डोजर राखेर आवागमन रोकिएको छ । देवीनगर, कालिकानगर, वाणिज्य क्याम्पसलगायत टोलमा बाँस तेस्र्याएर सीधै प्रवेश नगर्न अनुरोध गरिएको छ । ती टोलमा नयाँ व्यक्ति देखिए स्थानीयले प्रशासनलाई खबर गर्छन् । रुपन्देहीका अन्य क्षेत्रमा समेत स्थानीयले नयाँ व्यक्तिमाथि निगरानी गरिरहेका छन् ।


दाङको तुलसीपुर उपमहानगरपालिका ८, मालभुङस्थित एकता टोल विकास संस्थाले बाहिरबाट आएका मान्छेलाई टोल प्रवेशमा रोक लगाएको छ । लकडाउनमा पनि मानिसको आउजाउ नरोकिएपछि टोल विकास संस्थाले बिहीबार रोक लगाउने निर्णय गरेको हो । ‘सम्झाएर पठाउँछौं । दोस्रोपटक फेरि आए पाँच हजार रुपैयाँ जरिवाना तिराउँछौं,’ संस्थाका अध्यक्ष यमप्रसाद सुवेदीले भने, ‘गाउँमा बाहिरबाट आउने मानिसबाट कोभिड–१९ फैलने जोखिम उच्च भएकाले यस्तो निर्णय गरिएको हो ।’


लमही नगरपालिका–५ रमाइलो टोलका बासिन्दाले टोलमा प्रवेश रोक्न सडक अवरुद्ध गरेका छन् । विभिन्न गाउँमा सचेतना फैलाउने कार्यक्रम चलाइएका छन् । राजपुर गाउँपालिकाका किशोरीहरूले गाउँगाउँमा पुगेर साबुनपानीले हात धुने सन्देश दिइरहेका छन् ।


लकडाउनलाई गम्भीर रूपमा नलिइएपछि पश्चिम नवलपरासीका युवाले सडक बन्द गरेका छन् । ‘लकडाउनको पालना गरौं, आफू पनि बचौं र अरूलाई पनि बचाऔं’ लेखिएको ब्यानर टाँगेर सडक बन्द गरिएको हो । उनीहरूले पहिलो पटक आउनेलाई सम्झाएर पठाउने र त्यसपछि पनि अवज्ञा गरे जरिवाना तिराउने व्यवस्था गरेका छन् । ‘अपरिचितलाई गाउँ प्रवेशमा रोक लगाएका छौं,’ सरावल २ का सुशान्त घिमिरेले भने, ‘विदेशबाट आएकालाई क्‍वारेन्टाइनमा पठाउँछौं । जनचेतना फैलाइरहेका छौं ।’


पूर्वी नवलरासीको कावासोती ७, टरुवाका युवाले रूख ढालेर सडक बन्द गरेका छन् । लकडाउनको अवज्ञा गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । कावासोती ७, बन्देउरीका अशोक महतोले जभाभाबी गाडी चलाउने र बाहिरका मानिस भित्रिने क्रम नहटेपछि सडक बन्द गरिएको बताए ।

प्रकाशित : चैत्र १४, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?