१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोरोना संक्रमितलाई खुवाउन कोष

दुर्गालाल केसी

दाङ — बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा स्थापित कोरोना विशेष अस्पतालमा भर्ना हुने बिरामीलाई खाना खुवाउन कोष खडा गरिएको छ ।

कोरोना संक्रमितलाई खुवाउन कोष

स्थानीय तहहरुको बिहीबार बसेको समन्वयात्मक बैठकले कोष बनाउने निर्णय गरेको हो । कोषमा घोराही र तुलसीपुर उपमहानगरपालिकाले १/१ लाख तथा अन्य आठ पालिकाले ५०/५० हजार रुपयाँ सहयोग गर्ने भएका छन् । बैठकले स्थानीयस्तरमा कोरोना लक्षणका बिरामी भेटिए बेलझुण्डी अस्पताल पठाउने निर्णय गरेको छ ।


यसैगरी कोरोना विशेष अस्पताल सञ्चालनका लागि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा प्रदेश सांसद् अमरबहादुर डाँगी, डिल्लीबहादुर चौधरी, इन्द्रजीत थारु, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, नेकपा नेता जीवन गौतमका साथै जिल्लास्थित प्रमुख दलका प्रतिनिधि सदस्य छन् ।


बेलझुण्डीमा बुधबार एक सय शय्याको कोरोना अस्पताल स्थापना गरिएको छ । हाल ३० शय्या सञ्चालन भएको र अरु बिस्तारै स्वास्थ्यकर्मीको व्यवस्था गरेर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।


समितिको बिहीबार बसेको बैठकले सबै स्थानीय तहमा वडाध्यक्षको अध्यक्षतामा सर्वदलीय समिति गठन गर्ने निर्णय गरेको छ । वडाको सर्वदलीय समितिले लकडाउनको समयमा जीविका चलाउन कठिन भएका श्रमिकहरुको लागत लिएर जीविकोपार्जनका लागि पहलकदमी गर्ने निर्णय भएको छ ।


यसैगरी जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले हरेक पालिकाका जनप्रतिनिधि र राजनीतिक दल सम्मिलित संयन्त्र निर्माण गरी विदेशबाट आएकाहरुको अभिलेख राखी क्‍वारेन्टाइनमा बसे/नबसेको निश्चित गर्ने निर्णय गरेको छ । उनीहरुलाई कोरोना संक्रमणका लक्षण देखिए तत्काल तोकिएको अस्पतालमा पठाउन सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।


नेकपा जिल्ला सचिव तुलसीराम पुन मगर, कांग्रेस सभापति किर्तिबहादुर खड्का र राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य सहभागी बैठकले कोरोनाबारे गाउँगाउँमा जनचेतना अभिवृद्धि गर्ने, कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गर्ने तथा लकडाउन कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरेको छ ।


यसैगरी लमहीस्थित फ्लोरेन्स अस्पतालले कोरोनाबाट बच्न र बचाउन सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई अस्पतालमै खानबस्ने व्यवस्था गरी स्वास्थ्य सेवा दिन थालेको छ । स्वास्थ्य सेवामा निरन्तर खट्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको उच्च जोखिम भएको र घरमा जाँदा परिवार पनि जोखिममा पर्ने भएकाले अस्पतालमै बस्ने व्यवस्था मिलाएको अस्पतालका प्रबन्ध निर्देशक डा. पुष्प भुसालले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?